खै के बानी पर्योपर्यो फुर्सद मिल्यो कि गफगाफ गर्छु मैले । मेरो नीजि जीवनका कुरा भएभने मनमुटुका साथीसंग मात्रै गर्छु नत्र, भेटहुने सबैसंग समसामयिक विषयमा कुराकानी गर्छु । यस्तै आज दिउसो केहि मित्रहरुसंग कुरा भए । नेपालमा भएगरेका घटनाक्रमसंग जोडेर चारपाँच जना मित्रहरुसंग जोडिन पुगें । कसैले कुन पार्टी कसैले कुन पार्टी ठिक र बेठिक छलफल भयो । नेताका कुरा भए । अदालतका कुरा पनि भए । वडातह देखि केन्द्रसम्मका भ्रष्टाचारका कुरा भए । विदेशमा बसेर पनि नेपालमै रहेसरह यावत कुरा भए ।
छलफलका क्रममा मैले बर्तमानका कुरागर्दा विगतको इतिहासलाई राम्रोसंग केलाउन सबैलाई आग्रह गर्थें । मैले यस्सो बोल्यो कि मै माथी खनिन्थे । म चुपचाप सुन्थें । छलफलका क्रममा राजाको पनि कुरा आयो । सुन्दै गएँ । कसैले राजाले झ्याप पारे हुन्थ्यो भन्थे । कसैले सेनाले लिनुपर्छ भन्थे । यसो भन्नेहरु सबै त्यहि राजालाई सत्तोसराप गर्नेहरुनै थिए । मैले भन्थें - किन चाहियो राजा ? राजाले गर्दा देश विकास भएन भनेर हटाएको होईन र ? अहिले किन चाहियो ? मेरा प्रश्नले मैलाई कस्तो खालको मान्छे हो यो भन्थे । मलाई बल्ल मजा आयो । अब देश लथालिङ्ग भताभुङ्ग पारेपछिको यो वेथितिमा राजा किन आउने ? राजाले त भनिसकेका छन् - "राजनैतिक दलले मलाई राजा बनाएका पनि होईनन् न त नेपाली जनताले नै हटाएका हुन् " आउँदैनन् राजा भन्दै म घर फर्कें । घर फर्कंदा रातको दश बजि सकेको थियो । बुढीको कचकच हुने नै भयो । नबोली-नबोली खाना खाएर झ्याप्प सुतें । निदाएँ ।
--------------------------------------------
ओहो ! म त भव्य राजमहलमा पो छु । आउनेहरुले सम्मान आदर गरेकाछन् । म मुसुमुसु मुस्कुराई रहेको छु । मेरो साथमा भएको जर्मन सेफर्ड लुटुपुटु गरिरहेको छ । कहिलेकाहिं 'नेपाली सेफर्ड'हरु जर्मन सेफर्ड जस्तै मसंग लटपटिन आउँछन् । यसै समयमा कोही आए । म राज भएको राजमहलको भव्यहलमा प्रवेशद्वार बाटै त्रसितमुद्रामा अर्धचन्द्राकार बन्दै म संग बोल्न थाले । भने ...
- सरकार दर्शन गरें ।
- (मैले टाउको हल्लाएँ) ..... ... !
- सरकार मौसुफ हजुर लागिबक्सनु पर्यो । हामी मौसुफ हजुरका लागि ज्यानदिन तयार छौं । परिआएको खण्डमा आत्मदाह पनि गर्न सक्छौं । सरकार ...!
- (फेरी टाउको हल्लाएँ) ए ! ल ठिक छ ।
- ठिक छ मात्र हुकुम भएर भएन सरकार ! हुकुम हुन पर्यो । देश खतरामा पर्यो । जनताले दु:ख पाए, सरकार !
- (हाँसो उठ्यो, मुसक्क मुस्काएँ) बोलेकै त छु । अस्ति दशैंमा बोलेको कुराले मैलाई लखेट्ने भन्छन् । म के गरुँ ? अब फेरी म के बोलुँ ?
- होईन-होईन । रिसानी माफ पाऊँ सरकार । त्यसो होईन सरकार । तिनलाई अब हामी जनता मिलेर लखेट्ने हो ! मौसुफ सरकार सकृय हुनुपर्यो । यि नेतालाई हामीले लखेट्छौं, सरकार !
- (फेरी लामो हाँसो छुट्यो) नाप्यौ ? मेरो अगाडी यौटाकुरा गर्छौ उता गएर उतै ठिक्क हुन्छौ । पद पाए उता पद नपाए यता । तिमिहरुनै बेईमान छौ । भो, आँफै गर राम्रो गर । मलाई नउकास, जाऊ ! मलाई यसै आनन्द छ ।
- सरकार ! यसो भनेर कहाँ हुन्छ । देश डुब्नै लाग्यो । जताततै वेथिति भयो । नेतानेता लडेका छन । आफ्नो, आफ्ना र परिवारको मात्रै स्वार्थमा लागेका छन् । यि नेताले राज्यको ढुकुटी कुम्ल्याउनुसम्म कुम्ल्याए । सोझा जनतालाई आपसमा भिडाउन थाले । जात र कुजात भन्दै समाज भाँडिएको छ । सामाजिक सद्भाव कतै छैन । यस्तो नजर हुँदाहुँदै कसरी सहिबक्सन्छ सरकार ?
- (फेरी लामो हाँसो छुट्यो) तिमिले भनेको कुरा मैले पहिल्यै देखेर भनेको भन्यै छु । संविधानले सबै निर्दिष्ट गरेकै छ । तिम्रा नेताहरुलाई भनेर गरे भै'गो नि ! संविधानमा मैले भन्ने बाहेक गर्ने ठाउँ कतै छ र ? कति जिद्धि गर्छौ ? भो भो जाऊ उतै भन ।
- होईन सरकार ! हामी राजावादी । हामी राष्ट्रवादी । हजुरको पछिपछि लागेकै छौं । हजुर जतापुगे पनि हामी साथैमा हुन्छौं । हजुरको जयजयकार गर्छौं । लागेका छौं । राजा आऊ देश बचाऊ भनेकै छौं । ...
- (जति यिनका कुरा सुन्यो उति हाँसो उठ्छ मलाई) अप्ठ्यारो पर्दा दुलो पस्यौ । अहिले राजावादी हुँ भनेर हुन्छ ? जाऊ । म राजावादीको मात्र राजा होईन बुझिराख । हुँ भने नेपाल र नेपालीको राजा हुँ । होईन भने म कुनै पनि वादीको राजा होईन । मलाई देश र जनताको चिन्ता छ । कसैले सिकाउन पर्दैन । जाऊ,तिम्रो कुरा सुनेर पुग्यो मलाई ।...
- (एउटाले घुँडाटेक्दै बोल्न थाल्यो) सरकार ! रिसानी माफपाऊँ सरकार ! यसरि भएन,जाग्नु पर्यो उठ्नु पर्यो ।...
- (सुनेर रिस उठ्यो,तर देखाउन भएन) ल ल बुझें । म त जागेकै छु,उठेकै छु । बरु तिमिहरुनै बिहान चाँडै उठ । जाग । मलाई नसिकाऊ । समय आएपछि सबै ठिक हुन्छ । 'प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक हुन सक्दैन' त भनेकै छु । यहाँभन्दा के भन्ने,के जाग्ने,के उठ्ने ? समय आएपछि सब ठिक हुन्छ । ल जाऊ । आँफै उठ आँफै जाग । बाहिर अरुपनि मलाई भेट्न आएकाछन् । पालो देऊ !
- (यि गए अर्का आए) सरकार दर्शन !
- (टाउको हल्लेकै छ मेरो) के भो ? किन आ'को ? क्वाप्प खान गएको होईन ? दिएनन् खान ?...
- (जुम्ला हात मिच्दै ङिच्च बोल्यो) हामी भ्रममा रहेछौं । बुझेनौं सरकार ! अब बुझ्यौं । धर्म र राजाको विषयमा जनमत संग्रह गरेर राजसंस्था ल्याउन पर्यो भनेर लागेको कुरा जाहेर गर्न आएको सरकार !
- (रिसले जंगीए म) त्यहि असक्षम शेरेको कुरा लिएर आईस् ? राजा पनि चुनाव बाट हुन्छ ? तैट् फटाहा । जा ! तँ यहाँबाट गैहाल ! यौटाले यस्तै फटाहा कुरा गरेर । जनतालाई ठगेर 'उप' खाएर थन्कियो । जा ! यस्ताकुरा म संग नगर जा !
--------------------------------------------
मलाई ऐंठन परेछ । जुरुक्क उठें । रातको दुई बजेको रहेछ । दिउसो एकटुक्रा बादल थिएन । यतिखेर मध्येरातमा मेघगर्जनका ठुलठुला आवाज सुन्छु । ए बुढी उठ् भन्दै उठाएँ । ग्लोबल वार्मिङको प्रभावले होला बाहिर भीषण बर्षा भैरहेको थियो । बुढी उठिन् । मैले देखेको सपना सुनाएँ ।
- हेरत, कस्तो सपना देखें मैले
- के देख्नु भयो ?
- म त राजा भएको रे !
- यस्तो भत्के-बिग्रेको बेलामा पनि राजा हुने रे ! यो राम्रो होईन ।
- राजा हुने कुरापनि नराम्रो हुन्छ ?
- सपना उल्टो लाग्छ । सपनामा राजा भए जोगी भईन्छ । जोगी भए राजा भैईन्छ । यस्तो पनि राम्रो सपना हुन्छ ? भो बुढा फेरी सुत्नुस् । बरु जोगी भएको सपना देख्नुस् राजा भईन्छ ।
(बाहिर डरलाग्दो ढंगले मेघ गर्जिरहेको थियो । झ्यालका छिद्रहरुबाट शीरशीर बतास आईरहेको थियो । बुढीले एकलौटी बनाएको ब्लाङ्केट तान्दै जोगी बन्ने सपना देख्ने लालसामा फेरी निदाएँ ।)
बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका।