मुक्तक - १
उसको दिलमा बसेर मैले कोसिस गरेँ पग्लिन
न त सक्छु कठोर बन्न न त सक्छु फेरि बिर्सिन
उपहार स्वरूप फूल दिएँ पत्थरले हान्यौ मलाई
घायल मुटु ताजै छ मेरो अझैं निको हुन सकिन !
मुक्तक - २
निमोठिएका मुनाहरूले निकास पाउन सकेन
देशका कुनै अङ्गले पनि विकास पाउन सकेन
परिश्रम गरे अनुसारको फल पाइन्छ भन्ने सुन्थे
जिन्दगीले यात्रामा अझैं अवकाश पाउन सकेन !
मुक्तक - ३
वैमनस्यताको आगो रिसले बाल्न सकिनँ
ईर्ष्या र डाह कहिल्यै मनभित्र पाल्न सकिनँ
फूल सम्झी मुटुभित्र बास दिएकी हुँ शत्रुलाई
घोँचे पनि सहेकै छु काँडा सम्झी फाल्न सकिनँ !
मुक्तक - ४
जोस जाँगरले परिश्रमको फल फलाउने हो
बाचुँञ्जेल यो भौतिक शरिरलाई चलाउने हो
खुट्टा तान्नेले तान्दै गरून् केही फिक्कर छैन
खुशी हुँदै तिनैका मनलाई एक एक जलाउने हो !
मुक्तक - ५
झुटको जमातभित्र यहाँ इमान कत्ति टिकेनन्
पिठो सजिलै बिक्छ बरू बहुमुल्य वस्तु बिकेनन्
बच्चा तन्नेरी वृद्धाहरू विदेशी फेसनमा रमाउँदा
नयाँ भावी पुस्ताले हाम्रा भाषा संस्कृति सिकेनन् !
- शुचिता काफ्ले
सुकेधारा, काठमाण्डौ ।