अरु दिन बुर्कुसी मारेर उफ्रिदै तल्लो र माथिल्लो कन्ला चहार्ने मुनीलाई निन्यौरो देखेर तिनको अन्टी पर्ने पाठी पठ्याङ्ग्रीले नजिकै गएर सोधी- "सेती, के सन्चो छैनौ र ? निराश देखिन्छ्यौ त!"
"हैन अन्टी, मलाई आमाको साह्रै याद आईरहेको छ।" आँसु झार्दै स्पष्ट पारी।
लामो समय कुर्दा पनि पाठो खोजेन भनेर घर मालिकले मुनीको आमालाई काटेर खान गाउँलेलाई दिएका थिए।
म्याँ... म्याँ... कराएर डोर्याउँदै आँगनमा निकाल्छन्। आमालाई नमार्न मुनीले खोरबाट बिलौना गर्छे। तर मान्छेले मुनीको मर्म र इशाराको भाषा बुझिदिए पो! आँखै अगाडि आमाको हत्या गरेको निरीह भएर हेर्न बाध्य हुन्छे।
"सेती, नरौ। हाम्रो जुनी नै यस्तै रहेछ। मान्छेहरूको खुशीमा हामी बली चढ्नु पर्ने। घाँस खाऊ। भोको बस्न हुन्न।" फकाउन थाली।
"भो म त खान्न अन्टी! म पनि ठुली भएँ भने मान्छेहरूले मलाई पनि मेरी आमालाई जस्तै काटेर खाने छन्। म त सानै बस्ने।"
"जिद्धि नगर न सेती, सबै मान्छेको मन एउटै हुँदैन। हामी पनि अर्को जुनी मान्छे भएर जन्मिन पाउँ। यो मान्छेहरू हाम्रो जुनी लिएर जन्मियोस्। त्यो बेला हामीले पालाको पैँचो फेरौंला।" मन बुझाई दिने हेतुले सम्झाउँछ।
मुनीले अनिच्छा राख्दै भनी- "भो अन्टी, मान्छेहरू जस्तो निर्दयी हुने जुनी लिन परेको छैन। मलाई त कुनै सजीवको जुनी नमिलोस्। बरु ढुङ्गा र माटो जस्तै भए ठीक छ।
- २०७८, पौष ६ गते