मैले ह्विस्की पिउँदै छु भन्ने लाग्थ्यो
ह्विस्कीले पो मलाई पिउँदै रहेछ
म उज्जल भविष्यको कल्पनामा डुब्दै थिएँ
उ भने मेरो विगत खोतल्दै थियो
मैले बिर्सिन खोजेकोलाई सम्झाई दिन्छ
सम्झिन खोजेकोलाई बिर्साई दिन्छ
म माया गर्नेलाई सम्झिन खोज्छु
उ मलाई धोका दिनेहारूको याद दिलाउँछ
म भविष्यको कल्पनामा रमाउंन खोज्छु
ऊ मलाई विगतका गल्तिहरूको यादसँगै रुवाउँन खोज्छ
म कमाउने योजनामा बनाउँन खोज्छु
ऊ गुमाएको धनको हिसाव गर्छ
म भविश्य तिर लम्किन खोज्छु
उ मलाई विगत माथि घोप्टो पारी न्याकी रहन्छ ।
म आफ्नो तागतमा गर्व गर्थेँ
पटियाला प्याकहरूले मेरो सेखी झारिदिए
प्रखर बोल्ने जिब्रो लर्बरियो
भलाद्मी हातहरू उत्ताउला बने
ठमठमाउँदा गोडा लर्बरिए
अन्तत पछारि छाड्यो
बडेमानको यो ज्यानलाई ।
सबै कुरा शिथिल बने
चल्दै छ त यो प्वारप्वारे मुख
अनि एक बिसौलीको मस्तिष्क
अर्धचेत अवस्थामा ।
पैसा तिरेर ह्विस्की किन्ने म
बोतलको बिर्को खोली ग्लासमा खन्याउँने म
प्याकमा आइस घोल्दै
मुख बिगारी बिगारी घुट्की लगाउँने म
पेटमा पुगेको केही बेरमै
म माथि राज गर्ने ऊ ?
धोकेबाज निस्क्यो साला ह्विस्की ।
अमेरिका ।