विश्व प्रकाश शर्मालाई महामन्त्रीको चार बर्षे कार्यकालको पुर्ण सफलताको लागि अमेरिकी नेपाली डायस्पोरा र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
तपाई मार्फत तपाईजस्तै अरु धेरै मानिसहरुले आशा र भरोषा गरेका धनराज गुरुंग, गगन थापा, बद्री पाण्डे अनि दिनेश कोईराला लगायतका उर्जाशिल युवा मित्रहरु सबैमा हाम्रो कर्फबाट हार्दिक शुभकामना छ।
नेपाली काँग्रेस दलभित्र रुपान्तरणको एजेण्डलाई बृहत् आकार दिई नयाँ रोडम्याप तयार गर्न र त्यसलाई कार्यान्वयनमा लैजान तपाई र तपाईको त्यो टिमले निरन्तर अध्ययन, अनुसन्धान गरी परिवर्तनका साझा एजेण्डालाई व्यवहारमा उतार्न घनिभुत संबाद र सहकार्य गर्न थाल्न सक्नु पर्दछ भन्ने हामीलाई लागेको छ।
विश्वप्रकाश दाई- तपाईले असोज ३ गते संबिधान दिवसको दिन पारेर बिर्तामोडको सभालाई सम्बोधन गर्दै राखेको पहिलो २४ बुँदे अवधारणा पत्रले नेपाली राजनीतिमा निक्कै तरंग उत्पन्न गरेको थियो। हिजो राजनीतिक परिवर्तन अब राजनीतिमा परिवर्तन नामक त्यस अवधारणा पत्रले दलहरु र देशको शासन प्रणालीमा आमुल रुपान्तरण ल्याउन सक्नेछ। अवधारणामा प्रस्तुत ‘वान टु थ्रि फोर’ को अवधारणालाई अब कार्यान्वयनमा लैजान त्यसलाई आफ्नै दलभित्र र अरु दलहरु समक्ष पनि बृहत् अनुमोदन गराउन जरुरी छ।
त्यसैगरी, गत मंसिर १ गते भरतपुर चितवनमा प्रस्तुत गरेको ४२ बुँदे दोस्रो अवधारणा पत्रमा पनि दलको लोकतान्त्रिकरणका सवालमा धेरै महत्वपुर्ण मुद्दाहरु छन् जस्ले दलमा आमुल रुपान्तरण ल्याउन सक्नेछ। ती सबै अवधारणागत रुपमा त सही छन् तर अब त्यसलाई बृहत् कार्य योजनामा बदल्नका लागि आबश्यक तयारी गर्न समय लाग्नेवाला छ। र, तपाई अनवरत रुपमा त्यसमा लागिरहनु पर्ने अवस्था छ। र, नेपाली डायस्पोराका हामी जस्ता मातृभुमीलाई माया गर्ने हजारौ भावनाका नेपालीहरुले तपाई मार्फत तपाईको टिमसंग सहकार्य गरी दल र देशको रुपान्तरणमा सहयोगी बन्न चाहान्छौं।
विश्वदाई तपाईलाई अब तुलनात्मक रुपमा सक्षम र ईमान्दार अनि व्यक्तिगत स्वार्थ र निजी आंकाक्षाहरु कम भएका योंग प्रोफेशनल्सहरुको जुझारु टिम चाहिन्छ। त्यस टिमसंग निरन्तर संबाद र सहकार्य गरेर तपाईका ती दुवै अबधारणा पत्र सहित बृहत् रुपमा दल र दल मार्फत देश रुपान्तरणको एउटा व्यबहारिक, खदिलो अनि तत्काल र दीर्घकालमा कार्यान्वयनमा लैजान सकिने कार्यक्रम सहितको दस्ताबेज बन्न जरुरी छ। र त्यो काँग्रेशको नीति अधिबेशन अगाडी नै तयार भई चाँडै पुस्तकको आकारमा आउन सकोस् र नीति तथा वैचारिक बहसको अधिबेशनभन्दा अगाडी बेलैमा त्यसलाई राम्रोसंग पढ्न, बुझ्न र महसुस गर्न पाउने अवस्था होस् भन्ने कामना गर्दछौं।
नीति अधिवेशनमा भाग लिन आएका हरेक प्रतिनिधीहरुका हातमा त्यो दस्ताबेज पहिल्यै पढ्न सकिने गरी पुग्न पर्दछ। र, मात्रै सही अर्थमा त्यसमाथी व्यापक बहस र छलफल हुन सक्नेछ। र त्यसैको पृष्ठभुमीमा रहेर बिस्तारै तपाईकै नेतृत्वमा सिंगो राष्ट्रकै लागि एउटा साझा दस्ताबेज निर्माण गरी नेशन बिल्डिंग प्रोसेसमा सहयोगी हुन सक्नु परेको छ।
गुटै गुट र गुट भित्र पनि स्वार्थको टकरावले उत्पन्न भएका उपगुट र माफिया र भ्रष्टहरुको नेक्शसमा रहेर राजनीतिज्ञहरुलाई बिटुल्याउने स्वार्थी तत्व र प्रबृतीले जिर्ण बनिसकेको अवस्थामा छ आजको नेपालको मुलधारको राजनीति। यो परिस्थितीलाई चिर्न एक्लो प्रयासले सम्भव छैन। त्यसैले अब तपाईको एउटा चुस्त दुरुस्त भर्चुअल टिम र सेक्रेटेरियट तुरुन्तै फक्शनल हुन जरुरी छ।
दल लथालिंगे पाराले चलिरहेको अवस्थामा विश्वप्रकाश, गगन र धनराजको बिजयले नयाँ आशाको किरण पलाएको छ। तपाईहरुको सहकार्यले अब दलमा व्याप्त बेथितीजन्य परिस्थितीलाई चिरेर दललाई पारदर्शी ढंगबाट बिधीपुर्वक संचालन गर्ने र संगसंगै देशमा पनि बिधीको शासन स्थापना गर्ने गराउने एउटा नयाँ सन्देश प्रबाह गर्न सक्नु पर्दछ।
तपाई व्यक्तिगत रुपमा अब कुनै पनि गुट उपगुटप्रति बढी लोयल हुन जरुरी छैन। महाधिवेशनका क्रममा घटेका विविध परिघटनापछी विश्व प्रकाश भनेको गुट उपगुटको मान्छे नभएर सिंग्गो काँग्रेसको मान्छे हो भन्ने तथ्य मत परिणामले घाम झै छर्लंग बनाई सकेको छ। तपाईका समकालिन सबै मित्रहरु आफ्ना लागि भोट माग्न व्यस्त रहँदै गर्दा तपाईलाई महाधिवेशनको कार्यक्रम र व्यबवस्थापनको चटारो थियो। तपाईले बिभागिय प्रमुख र प्रवक्ता हुँदै निर्वाह गरेको महत्वपुर्ण कार्यसम्पादनले बास्तवमा सही मुल्यांकन पाएको अवस्था हो यो मत परिणाम।
तपाई बास्तवमा निक्कै जटिल परिस्थितीबाट गुज्रदैगर्दा पनि कत्ति पनि विचलित नभई अनवरत आम प्रतिनिधीहरुसंग निरन्तर सहकार्य गरेर लागिरहनु भएकैले गर्दा चट्टान चिरेर उम्रिएको पिपलको बृक्ष साबित हुन पुग्नु भएको छ।
यो पंग्तीकारले २०४६ सालदेखी तपाईलाई अत्यन्तै नजिकबाट नियालिरहेको छ। तपाईको जिवनको शालिनता, बिनयभाव, सरलता र जिवन र जगत् लाई हेर्ने, बुझ्ने र बिष्लेषण गर्ने पृथक शैली समकालिन नेपाली राजनीतिक युवाहरुका बीचमा एउटा अलग्गै र पृथक पहिचान सहितको छ भन्ने कुरा बोल्न र लेख्न मलाई कुनै द्वुविद्धा छैन।
अब त्यसरी चट्टान चिरेर उम्रिएको पिपललाई हुर्काउन निस्ठामा विस्वास गर्ने आम मानिसहरुले स्वार्थ रहित भएर उनलाई साथ दिन जरुरी छ। उनमा हालसम्म कायम रहेको निस्ठा, ईमान र जुझारुपनालाई अझै अगाडी बढ्न बढाउन हामी जस्ता संसारभर रहेका अनि मातृभुमीलाई अगाध माया गर्नेहरुले निरन्तर घचघच्याई रहन सक्नु पर्दछ |
हामी सबैले उनलाई ‘राम्रो काम’ मा निरन्तर साथ र हौसला दिनु पर्दछ भने उनका कमी कमजोरीलाई पनि निरन्तर आलोचनात्मक टिका-टिप्पणी र सुझावहरु दिने गर्नु पर्दछ।
उनी निस्वार्थ राष्ट्र निर्माण अभियानमा अनवरत लागिरहन सक्ने एक आशा लाग्दा र उदियमान नेता हुन्। उनको अभियानमा साथ दिनु भनेको राष्ट्र निर्माण अभियानमा योगदान पुर्याउनु सरह हो।
त्यस्तै उनको ईमान, निस्ठा र लगनशिलतालाई साथ दिनु भनेको ईमान र पसिनाको तेलमा बलिरहेको आशाको दियोलाई निभ्न नदिनु हो। लाखौंलाख युवाहरुको भरोषालाई जिवन्त राख्नु हो। साथै दल र देशमा उनको सार्थक हस्तक्षेप मार्फत अपेक्षित परिणाम आउन सक्ने सम्भावनालाई निरन्तर साथ दिनु हो।
अन्त्यमा,
विश्वप्रकाशसंग उनका नजिकका शुभचिन्तकहरुको मात्रै हैन, आम नेपालीहरुको एउटा ठुलो तप्काको आशा छ कि उनी अहिलेकै विश्व प्रकाश जस्तै ईमान, निस्ठामा सधैभरी अविचलित रहुन्।
अनि शुसाशन, न्याय र बिकासको अभिलाषामा बाँचेका आम साधारण नेपालीहरुले पनि उनीसंग निरन्तर संबाद र सहकार्य गर्न सक्ने संयन्त्र र च्यानल निर्माण गर्न सकुन् जहाँ उनको कृयाकलापको स्वस्थ्य आलोचना गर्न पाईयोस् र उनले त्यो प्रत्यक्ष सुनुन र आफुलाई निरन्तर सुधार गर्दै लगुन्।
तस्बिरहरु:
दोस्रो: लेखक
तेस्रो: कान्तिपुरबाट साभार