Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

परदेशी नेपाली इन्जिनियरहरुको सपना र संघर्षको कथा हो “ऑंगन छोडेपछि” -कृष्ण कुशुम

परदेशी नेपाली इन्जिनियरहरुको सपना र संघर्षको कथा हो “ऑंगन छोडेपछि” -कृष्ण कुशुम

नेप्लिज डायस्पोरा

१७, पौष २०७८
images
परदेशी नेपाली इन्जिनियरहरुको सपना र संघर्षको कथा हो “ऑंगन छोडेपछि” -कृष्ण कुशुम


नेपालमा बिभिन्न पेशामा संलग्न नेपाली विदेशशिने क्रममा इन्जीनियरिंग पढेका धेरै नेपाली संसारभर फैलिएका छन्। उनीहरु अवसर र आवश्यकताले जताततै छरिए पनि साहित्यको फाँटमा भने एकत्रित छन्। कृष्ण कुशुम र केशवराज ज्ञवालीको संयुक्त सम्पादनमा विजय राज भटराई, कुशुम ज्ञवाली र सतिश त्रिपाठी सम्पादन सदस्य रहेको समुहले आँगन छोडेपछि' संस्मरण संग्रह सार्बजनिक गरेको छ। भर्खर विमोचन गरिएको र अहिले चर्चाको केन्द्रमा रहेको निवन्ध संग्रहको बारेमा सम्पादक तथा साहित्यकार कृष्ण कुशुमसंग नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ :

 

तपाई र केशवराज जीको सम्पादनमा ‘आँगन छोडेपछि’ प्रकाशित भएको छ । यसको बारेमा भनिदिनुस न!

मूलत: इन्जीनियरिंग बिषय अध्ययन गरि विविध कारणले परदेशमा बसोबास गर्ने आप्रवासी नेपाली इन्जिनियर लेखकहरुको सपना र संघर्षको कथा हो “ऑंगन छोडेपछि” । यसमा नेपालमा यौटा करिअर बनिसकेर वा बन्ने क्रमको मान्छेले त्यी कुरा चटक्कै छोडेर आउंदा नयॉं परिवेशमा आफूलाई कसरी अगाडी बढायो भन्ने कुरा नै मुख्य रुपमा समेटिएको छ ।

लेखकहरु ईन्जिनियरहरु मात्र छान्नुको कारण के हो ?

हामी इन्जिनियरिंग पढ्ने बेलादेखि नै साहित्यिक गतिविधिमा क्रियाशील थियौं - इन्जिनियरिंग साहित्यिक समाज (इन्सास) मार्फत । २०५८/५९ तिर पुल्चोक इन्जीनियरिंग क्याम्पसमा अध्ययनरत केहि साहित्यप्रेमी साथीहरुलाई साथ लिएर विजयराज भट्टराईको अध्यक्षतामा स्थापित संस्था हो इन्सास ।


त्यहि समयदेखि जोडिएका इन्जीनियरिंग स्रष्टाहरुको सहकार्यमा पुस्तक प्रकाशन/ स्रष्टा सम्मान लगाएतका कामहरु गरिआएका थियौं । २०६३ मा प्रकाशित दशजना इन्जिनियर कविहरुको संयुक्त कविता संग्रह ‘अञ्जुलिमा अभियन्ता’ र २०७३ मा प्रकाशित संयुक्त गजलसंग्रह ‘अञ्जुलिमा अभियन्ता-२’ त्यसकै नतिजा हो । यहि शिलशिलाको निरन्तरतामा केहि नयॉं काम गरौं भन्ने विजयराज भट्टराईको प्रस्ताव थियो । त्यहि प्रस्तावलाई मनन गर्दै केहि पुराना साथीहरु सहित अरु इन्जिनियर स्रष्टाहरुलाई समेटेका हौं । एक शब्दमा भन्ने हो भने लेखनको विषय वा किताबको बारे सोच्नु अघि नै इन्जिनियर लेखकहरुको संयुक्त काम केहि होस् भनेर योजना बनाएकोले नै इन्जिनियरहरु छानिएको हो ।

यसभित्र केश स्टडिजमा आधारित संस्मरणहरु समावेश छन भनिएको छ । त्यो भनेको के हो ? किन कसरी यो आईडियो आयो ?

केस स्टडिजमा आधारित भनिएको हैन । यो पुस्तक चॉंहि हामी अहिले कहॉं के गर्दैछौं भन्दा पनि मूलत: विदेश आउनुको सन्दर्भ, तात्कालिक मनोदशा, मानसिक र पेशागत अन्तर्द्वन्द्व साथै विदेश आईसकेपछिको शुरुआती अनुभवहरुको संकलन हो । यहि कुरामा एकरुपता आओस् भनेर हामीले रचना माग्नुपुर्व लेखमा छुटाउनै नहुने पॉंच/छवटा बुंदाहरु तयार गरेर त्यसैको पेरिफेरिमा रहेर ३५०० शब्दमा नबढाइ मागेका थियौं । सायद बुझाइमा फरक पर्यो कि ?


यो पुस्तक कस्ले पढ्ने ? किन पढ्ने ?

यो किताब पढ्नै पर्ने कारणहरु १-२-३ गरेर भन्न त सकिन्न । इन्जिनियरहरु विभिन्न भैतिक संरचना र अन्य विकासका अग्रपङ्तिमा उभिएर काम गर्छन् । संसारका सबैभन्दा विकसित भनिने समाजमा नेपाली समाजले तयार गरेका इन्जिनियरहरुको भोगाइ, अनुभव र अनुभूतिको चित्र कोर्ने प्रयास हो यो पुस्तक । विदेशिएका नेपाली इन्जिनियरहरुले विविध परिचय धारण गरेका छन् । इन्जिनियर अभियन्ता/ इन्जिनियर व्यापारी/ इन्जिनियर शिक्षक आदि । यस पुस्तकमा तिनै इन्जिनियरहरुका अनुभूतिका आयामहरु पढ्न सकिन्छ ।

यो पुस्तक नपढ्नेले के कुरा छुटाउंछ?

खासमा भन्नै हो भने सबैको आ-आफ्नै कथा व्यथा हुन्छन् । चाहे इन्जिनियर होस् वा अरु गैर इन्जिनियर । मुख्यतः यो किताब प्रकाशनको उदेश्य देशभित्र रहनेहरुसंग परदेशिएका इन्जिनियरहरु लेखकहरुले आफ्नो जीवनयात्राको अनुभव बॉंड्नु हो । आदरणीय पाठकहरुले यसलाई त्यसैगरि स्वीकारिदिनु होला भन्ने आशा छ ।

प्रकाशन प्रारम्भको बेलामा र प्रकाशित भईसक्दासम्ममा तपाईहरुले भोगेका भन्नलायक दुईटा अनुभव सेयर गर्नुस न !

प्रकाशन प्रारम्भको बेलाको कुरा गर्दा - पुस्तकको अवधारणा बताउंदै रचना माग्दा सबै लेखकहरुले देखाउनु भएको उत्साह र हाम्रो प्रस्ताव प्रतिको विश्वास सम्झंदा खुसी लाग्छ । प्रकाशनपछि चॉंहि जब यसको कभर फोटो र विमोचनको खबर सेयर भयो त्यसपछि साहित्यिक सर्कल र इन्जीनियरिंग सर्कल दुबैतिरबाट किताबको खोजी जसरी भैराखेको छ त्यसले धेरै नै खुसी मिलेको छ साथै पाठकिय प्रतिकृया कस्तो आउला भनेर डर पनि उत्तिकै बढाएको छ ।

योजना गरेको तर राख्न नपाएको, नसकेको लेखक को हो ?

प्रवासमा बसेर लेखिरहेका २६ इन्जिनियर लेखकसंग रचना मागिएकोमा १९ वटा रचना आएको थियो । २ वटा हामीले मागेको ढांचामा नपरेकोले अन्तिममा १७ रचना संकलन गरिएको हो ।

योजनामा नभएको तर अचानक जोडिएको लेखक को हो ?

मैले माथी नै भनिहालें हामीले शुरुमा १७ जनाको मात्र योजना गरेका थिएनौं । यस भित्रका १७ जना सहित अरु थप ९ जनागरि २६ जनासंग रचनाको लागि आग्रह गरेका थियौं । त्यसैले कोहि पनि योजनामा नभएर अचानक जोडिनु भएको हुनुहुन्न । सबै योजना गरेमध्येबाट नै हुनुहुन्छ ।

images
प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - ०२:१५:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend