Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जय श्री स्वस्थानी माता (कविता) - कोमल भट्ट

जय श्री स्वस्थानी माता (कविता) - कोमल भट्ट

नेप्लिज डायस्पोरा

७, फाल्गुण २०७८
images
जय श्री स्वस्थानी माता (कविता)  - कोमल भट्ट


(छन्द : शार्दूलविक्रीडित)
स्वस्थानी जननी सदा सहृदयी सिङ्गो सहारा तिमी
दैलो दौलतकी दयालु दरिली किल्ला किनारा तिमी ।
भन्ने रोज कुमारले प्रिय कथा सुन्ने अगस्त्यै मुनि
तिम्रो नाम प्रसिद्ध लोकभरिमा छर्छ्यौ सफा रोशनी ।।~१

पूजा पावन शुक्ल पक्ष शुभमा प्रारम्भ भो पौषमा
श्रद्धा भक्ति र भावका सहितले सम्पन्न भो माघमा ।
देऊ आसिक सिद्धिले सुमनले सौभाग्यशाली हुने
बाधा विध्न तथा विपत्ति सकिँदै उत्थानमा लम्किने ।। ~२

काला कल्मष सोचले भुवनमा बेहाल भो बेसरी
पारे ध्वस्त विकारले विरतिले सानन्द सारा हरी ।
पाऊँ बुद्धि विवेक सर्वगुणका सङ्ला सदाचारका
चोखा भाव प्रवाहका सुपथका सम्पूर्ण सत्कारका ।। ~३

चर्केको छ चरक्क चित्त अहिले देखी दशा देशको
आशा लाग्छ बडो विकास गतिलो साफल्य संकेतको ।
हे देवी ! सुखदायिनी भगवती पीडा पुकारा सुनी
दाता दिव्य दयानिधे गर छिटै उत्कर्षको थालनी ।।~४

आऊ कल्कल सिन्धु भै दिनदिनै पीयूष बर्साउँदै
नेपाली जनका व्यथा विचलता सम्पूर्ण सिद्ध्याउँदै ।
तिम्रो स्नेह सुदृष्टिले मुलुक यो चम्किन्छ संसारमा
चम्किन्छौँ खुसहालले सबजना सौगन्धका साथमा ।। ~५


- चन्द्रागिरी-१३,काठमाण्डौँ
हाल : न्युयोर्क, अमेरिका ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - ०७:२१:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend