हिँडेको हिँडेकै ! याे कस्तो ठाउँ हो ? कहिल्यै अगाडि नहिँडेको तर घरिघरि चाहिँ हिडेकै जस्तो लाग्ने ।
नुहाउन भनेर लुगा खोल्दै थिएँ । नुहाउनै छोडेर हिँड्न पो थालेछु । एक्लै थिएँ, पछि दुई जना अनि फेरि निकै जना । हिँडेको हिँडेकै कहिले टाकुरामा कहिले भर्खर बन्दै गरेको कच्ची बाटो, गुरुरु कुदे जस्तो हिँडिरहेका । खोच जस्तो दाेहाेरी पसलहरू, बाटाे त हरायाे । बाटाे खाेज्दै घरभित्र छिरेकाे, घरहरूकै भित्रभित्रै ढुङ्गा छापेकाे गाेरेटाे । हिँडदै छु तर सँगसँगै हिँडिरहेकाे काेही छैन । कता हराए ! एक्लै हिँड्दा हिँड्दा लामाे पक्की पुलमा पुग्छु । पारीपट्टी... अहा ! कस्ताे रमणीय स्थान, हरिया फाँटहरू रङ्गीचङ्गी फुलहरू झुलिरहेका, पुतलीहरू उडिरहेका, खाल-खालका चराहरू पनि उस्तै आकर्षक ,रूखहरू ...पाकेका स्याउ, सुन्तला लगायत थुप्रै फलहरूले हाँगा नुहेका । भुँइबाटै टिप्न सकिने । मनमाेहक सुन्दर शान्त वातावरण , वारीबाट देख्ता नै लाेभ लाग्दाे ।
!
त्यतै जान्छु । कहिले त्याे सुन्दर ठाउँ पुगेर फल खाँदै विश्राम गर्नु । हतारिएर हिँडिरहेकाे म, पुग्न लागेकाे बेला पुल त भत्केकाे ! पारी पुग्न करिब बाह्र पन्ध्र फिट दुई वटा खिया लागेकाे रड डण्डी मात्र छ ।
त्यहाँ पुगिसकेकाे एक्लाे म अब फर्किन सक्दिनँ । रड डण्डीमै हातले झुन्डिएर पारी पुग्ने भनेर झुन्डिदै हात सार्छु । तल हेरेकाे अनन्त गहिराे कालाे खाल्डाे । खसियाे भने काम तमाम ! एक दुई गर्दै दश पटकसम्म त हात डण्डीमा सार्छु, बीचमा पुगेकाे छु । पाँच हात जति सर्न सके पारी पुग्न सक्थे तर पाखुरा गलेर खत्त्रक्क , जिउ थाम्नै गाह्राे.. न वारि न पारी...कति बेलासम्म झुन्डिरहन सक्छु ?
झल्यास्स ब्युझेँछु ।आज पनि ब्युझेँ । बेलुकि सुत्दा नै भाेलि बिहान ब्युझन्छु ब्युझिदिनँ सधैं शंका लाग्छ । त्याे मैले देखेकाे सपनामा पारी पुगेकाे वा खाल्डाेमा झरेकाे भए म सपना देख्दादेख्दै आफैले पनि थाहै नपाई खुसुक्कै गइसकेकाे हुन्थे हाेला !
बुढेसकाल, राेगी शरीर ! साँच्चै भन्नू पर्दा बलिरहेकाे जिन्दगी कति बेला निभ्छ भन्नै नसकिने भएकैले जहिलेसम्म बाँचिन्छ-- त्याे नै जीवन रहेछ । बाँचुन्जेलकाे जीवन !
- धरान
२०७८ फागुन ८
🌹🌹