हिजोसम्म हर दिन हर समय
पाइला पाइलामा घृणा र अपमान भोगेर
आफ्नै आफ्नै भनिनेहरू
र आफनै प्रतिनिधि भनिनेबाट समेत
हर क्षण, हर समय ढाँटिएर,ठगिएर,हेपिएर
भोकै नाङ्गै सडक-सडकमा, घर-घरमा घुमेर
काम खोजेर, पसिना पोखेर पनि
परिवार पाल्न र आफू पालिन नसक्दा
आफैलाई साह्रै विवश र निरुपाय ठानेर
आत्महत्यासमेत गर्न तम्सिने मान्छे !
आज ज्ञान विज्ञानसित साइनो गाँसेर
घृणा-अपमान, लुटाइ-ठगाइलाई जितेर
आफ्नो शक्तिमा विश्वस्त र दृढ भएर
मर्नैपर्छ भने पनि स्वाभिमानी बनेर
परे लड्न र अघि बढ्न तम्सिइरहेछ
त्यसैले त आज मान्छे
विवश र निर्धो भएर मर्दैन
डोरी खोजेर पाशो लाएर मर्दैन
नरपशुहरूका गोली खाएर मर्दैन
नदी तलाउहरूमा डुबेर मर्दैन
भीर-पाखाबाट हाम्फालेर मर्दैन
बरु ऊ,
सबैतिरका घृणा र अपमानको
अन्याय र अत्याचारको विरोध गर्दै
सशक्त भएर सडक तताउँछ
विरोधका ज्वाला दन्काउँछ
अथवा
गान्धी, लिङ्कन बनेर
भीमसेन,बहादुर शाह बनेर
देश र जनतामा समर्पित भएर
समाजकालागि केही न केही गर्छ
भएन भने
धर्मभक्त, गङ्गालाल भएर
शुक्रराज दशरथचन्द भएर
झुन्डिएर, छाती थापेर, गोली खाएर मर्छ
र सबैको आदरणीय शहीद बन्छ
हिजोको जस्तै दीन-हीन भएर बस्दैन
निरुत्साहित भएर आत्महत्या गरेर मर्दैन ।