१. कुतूहल
- तिमी कति सुशील, कति भद्र !
- तिमी कति शालीन, सुकुमारी छ्यौ !
- तिमी साँच्चिकै मृग - नयनी हौ !
- तिमी सुकोमल गुलाफ जस्ती !
- आहा तिम्रो जवानी ! रोमहर्षक छ ।
- कस्तो मिलेको शरीर ! तिम्रो छातीको आकर्षणले त कायलै पार्छ ।
यस्तै यस्तै के के हो भनेर मलाई भित्रभित्रै
काउकुती लगाउँछन् ।
अनि बैँस मात्तिएर पात्तिन्छ, सम्हाल्नै सक्दिनँ
म के गरूँ !
***
२. चेतना
- कसैले मृगको जस्तो आँखा भने ।
- कसैले कोमल कमल र कसैले गुलाफ जस्तो रूप भने ।
- कसैलाई मेरो कम्मर र नितम्बले लोभ्यायो ।
- कोही मेरो छातीमा आकर्षित भए ।
*
हो ! म बैँसालु युवती हुँ । तर मसँग शरीर मात्र होइन
मन पनि छ । कस्ले छाम्यो ?
शरीर र मनको चाहना बेग्लाबेग्लै होला । कस्ले बुझ्यो ?
**
अब म गुलाफ भएर काँडाले चिथोरिदिन्छु ।
अब म कमल भएर तलाउमा डुबाइदिन्छु ।
अब म मृगको आँखाले तानेर सिंहको मुखमा पु-याइदिन्छु ।
अनि चेत्लान् ।
***
- चाबेल, काठमाडौं ।