गएको मंसीर महिनादेखि नेपाली राजनीतिक समाजमा एउटा शब्द घनिभूत भएर गुञ्जिन थाल्यो । पुर्वका लिम्बुका छोरा राजेन्द्र लिङदेनले त्यो शब्दलाई उचित ठाउँमा उचित तरिकाले राखेपछि क्षणभरमै त्यो शब्द देशव्यापी बन्यो । भित्रभित्र सबैले बोलिरहने तर कसैले पनि बाहिर प्रकटगर्न नसक्ने त्यो शब्द थियो 'चोर !' यो चोर भन्ने शब्द नेताहरुको विशेषण बनेर सबैको मुखमा बस्यो । जो-जो चोर थिए,तिनले तत्काल आँफु चोर नभएको भन्दै सफाई दिनखोज्दा त्यहिं उपस्थितजनले 'तैं होस् चोर !' भन्ने आशयमा लिङदेनको अभिव्यक्तिलाईनै समर्थन गर्दै होमाहो मिलाए । यो चोरको परिभाषा भन्दा अझ 'डरलाग्दो चोरको' खुलासा भएपछि राजनैतिक दलका नेताहरुको पछिलाग्ने अन्धभक्तहरु झस्के । साथसाथै जस्तोसुकै गलत काम गरेपनि ठिक हो हजुर भन्ने सोझासिधा जनतालाई पनि एकप्रकारको चेतना जबर्जस्ति उठ्यो । लिङदेनको त्यो अभिव्यक्तिले विद्रोहको लागि मलजल गर्यो । नवचेतनाको संचार गर्यो । त्यसकारण दलका उम्मेदवार विरुद्ध बोल्न र लड्नसक्ने हिम्मत यहि मंसीरबाट बढेर आयो ।
अहिल स्थानीय निर्वाचनसंगै नवोदित दुई पात्रले फेरी अर्को तहल्का मच्चाए । माथीको पृष्ठभुमीमा आजीत नेपाली समाजमा नयाँ चेतनाको संचार भरियो । काठमाण्डौका बालेन शाह र धरानका हर्क सम्पाङ राईको चुनवी विजय त्यसैको द्योतक हो भन्दा फरक पर्दैन । राजधानी त संधै चेतनशील नागरिक बस्ने ठाउँ हो त्यहाँ जस्तो र जतिबेला पनि यौटा लहर (ह्वीम )आउँछ भन्ने आम विश्वास रहेको थियो । तर पुर्वको लाहुरेको शहर अझ भनौ नेपालको मिनी हङकङको नामले चिनिने धरान शहरमा कामाण्डौको जस्तो उन्मुक्त चेतना छैन भन्ने नै थियो । तर यसपाली काठमाण्डौलाई माथ गर्दै एउटा समान्य नपत्याउँदो युवालाई आफ्नो प्रिय नेताको रुपमा छाने । धरान र धराने जनताको हरेक समस्यामा हातेमालो गर्दै बर्षौं देखि संघर्ष गरेका राईका छोराले अर्को अनौठो चेतना नेपाली जनतामा दिन दुगुणा रात चौगुणाको तरिकाले फैलाए ।
जसरि राप्रपाका कपटी र छद्मभेषी नेतृत्वलाई पछारेर राजेन्द्र लिङदेन सर्वाधिक चर्चामा आए अहिले उसैगरि राजधानीका बालेन शाहभन्दा चर्कोरुपमा धरानका हर्क साम्पाङ राई उदाए । आफ्नो भन्दा अरुको भलोमा रमाउने साम्पाङले एक्लै समाजको हितका लागि लडे । उनको शुरवाती थालनीलाई लिएर अनेक धज्जी उडाउनेहरु आज जनताको साथ पाएर उपमहानगर प्रमुखमा विजयी हुँदा पुरैदेश विदेश उनकै विगतका भिडियो फुटेजहरु फर्काई-फर्काई हेर्न थालेका छन । उनका विगतका संघर्षका कथा हेर्दै उनको निम्छरो एक्लो संघर्षमा सगरमाथा भन्दा अग्लो हिम्मत देखेर दुनियाँ दङ्ग परेको छ ।
जनताको चेतना र हिम्मत जाग्यो भने हरेक नगर र शहरमा हर्क साम्पाङ जस्ता लुकेर बसेका थुप्रै नेपाली ली क्वान युहरुलाई जन्माउन सक्छन भन्ने अतुलनीय उदाहरण हर्क सम्पाङ बनेका छन । नेपाली समाजमा नवचेतनाको तुफान ल्याएका छन् ।
धरानको जस्तै समस्या देशैभरि छ । तर देशैभरि हर्क साम्पाङ भेटिंदैनन् । हुन खोज्छन तर लोभलालचमा फसेर पानीको फोका झै हराउँछन । खोलानाला उकेरेर खाएको खायैछन प्रहरी प्रशासनसंग मिलिमतो गरेर सकेका छन । कोही बोल्न सक्दैनन् ।
साम्पाङले नदीनाला दोहनगर्ने संग एक्लै लडेर रगतपिच्छे बन्दै उल्टै झुट्ठा मुद्दामा फंसाईएका भिडियो क्लिप यतिखेर सामाजिक सञ्जालभरि छाएका छन् । खानेपानी आयोजनाहरुमा यस्तै ब्रह्मलुट छ । डोजरले बाटो खोस्रँदा धराहरु रुवाबासी गर्छन । यता रुवाबासी उत्तापट्टी भट्टीमा ठेकेदार डाइबर र वडाध्यक्ष नाचगान गर्छन् । धारामा पानी आएपनि खानेपानी त के आसन धुनपनि नहुने पानी आउँछ । खानेपानीका हाकिमहरु बर्षातमा यस्तै त हुन्छ भन्दै उपभोक्तालाई थर्काउँछन् ।
जताततैको यस्तो बेथिति र बेहाल अवस्थामा हर्क साम्पाङ जस्तो स्वच्छ र नि:स्वार्थी भावनाका अभियन्ता बनेर कोही बाहिर आउनै सक्दैनन् । केहिगरि प्रकट भएभने दलकै झोलेहरु तम्सन्छन । आपसि मिलिमतोमा 'म पिटे जस्तो गर्छु,तँ रोए जस्तो गर् !' भन्दै बेलुका दोहोरीमा जम्छन । कमसेकम धरानको चुनावी परिणामले उदाएको हर्क साम्पाङ अबका दिनमा अन्यत्र पनि देखापरे भने नेपाल आमा कति खुशि हुँदिहुन !
अझ अचम्म त साम्पाङको विजय पछिको शैलीले अन्यठाउँका मेयर उपमेयरलाई लाजमर्नु बनाईदिएका छन् । आफ्नो नगरभरि आफ्नै थोत्रो मोटर साईकलमा सवार हुने करोडौंका गाडी नचढ्ने भनेर पत्रकारसंग प्रतिबद्धता जनाईसकेका छन् । विजयमाला पहिरिंदा लगाएको रातो अबीर पनि नपखाली सिधै खानेपानीको मुहानमा कामदारसंग आँफै पाईप उचाल्न पुगेका छन । अन्यत्रका जनप्रतिनिधिलाई धन्यवाद दिने बहानामा वडावडामा पुगेर खादामाला र अबीरले पुरिनै ठिक्क छ । तर धरानका एकजना नि:स्वार्थी सेवाभावको राईको छोराले अरुलाई पनि मैले पो यस्तो उत्ताउलो काम किन गर्नु ? भन्ने नैतिक पाठ उनैले पढाईरहेका छन ।
महात्मा गान्धीले एक समान्य गरीब भारतीयको पहिरनमा जिन्दगि फाले । एउटा धोती लौरो र चश्मा महात्मा गान्धीको एउटा सग्लो रुप थियो र अमरत्व पनि यसैमा छ । महात्मा गान्धीले विश्व साम्राज्यको नायक बेलायतलाई त्यहि सामान्य पहिरनको व्यक्तित्व लिएर भारतबाट भगाएरै छाडे । गरिबी अशिक्षा अज्ञानताको अन्धकारमय भारतबाट आजको शक्तिशाली भारत बन्नुमा उनकै देन हो । उनलाई त्यसैले भारतीयहरुले 'बापु' को नाम पुकार्दै पूजा गर्छन् ।
त्यस्तै आफ्नो सामान्य खेलो गर्ने टेम्पोमा एकदुईजना साथमा लिएर नाङ्गो सडकमा एक्लै जनताका दु:खका आवाज बोल्दै हिंड्ने धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ राईले देशका नेताहरुमा बढ्दै गरेको बढप्पन भगाउन अर्को चेतना पढाउँदै छन ।
सादा जीवन र उच्च विचारमा राष्ट्र र जनताको सेवामा लाग्दा न सानो भईन्छ न ठुलो हुनबाट रोकिन्छ भन्ने उदाहरणीय हर्क साम्पाङ बनेका छन । साम्पाङको सामान्य व्यक्तित्वबाट देशैभरिका स्थानीय समस्यासंग जुद्धै अन्याय र अत्याचार भगाउन र नवचेतना फैलाउन सबैलाई अनुकरणीय बनोस् ।
अन्तमा,पुर्वका दुई व्यक्तित्व लिङदेन र साम्पाङले उठाएका आवाज र सुकर्मले संपुर्ण नेपाली समाजलाई निर्भयतापुर्वक अन्याय अत्याचार भ्रष्टाचार माफियातन्त्र र तस्करको जालो तोड्नकालागि नवपुनर्जागरण ल्याउने अपेक्षागर्दै संपुर्ण नेपाली समाजमा जकडिएको दलीय दासतालाई उखेल्न सर्वोत्तम प्रेरणा मिलेको हो । नत्र अझै कतिबर्ष लाग्थ्यो होला ।
स्थानीय चुनावको निकट विगतमा नै आम मतदातालाई दलका विरुद्ध अथवा परम्परागत चेतनाबाट माथी उठन लिङदेनकै आवाजले साथ दिएको र धरानमा साम्पाङको दशक लामो एकलव्य आन्दोलनले भरपुर मद्दत गर्यो र धराने जनता स्वतन्त्र उमेदवारको समर्थनमा खनिए । चुनावपछिको समिक्षा गर्दा भन्न सकिन्छ खासमा यहि र यिनै आवाजले देशमा ठुलो चेतना जगायो ।
अबका दिनमा लिङदेनको आवाज र साम्पाङको जादुयी चमत्कार देशैभर फैलियोस् भन्ने सबै नेपालीले कामना गर्नु पर्दछ । बस्,सबैको जय होस !