होबार्ट। अष्ट्रेलियाको तास्मानिया स्थित होबार्टमा आज नेपाली रक संगीत गुन्जिने भएको छ। नेपालको प्रसिद्ध रक व्याण्ड रविन एण्ड रेभ्यूलुसनको प्रस्तुतिले होबार्टमा सांगीतिक धमाका हुनेभएको हो।
रविन एण्ड रेभ्यूलुसन व्याण्डको अहिले अष्ट्रेलिया टूर चलिरहेको छ। गत जुन ४ तारिखबाट अष्ट्रेलियाको टूरमा रहेको व्याण्डले यसअघि 'डार्विन, मेलबर्न, क्यानबेरा र सिड्नीमा 'रक एण्ड रोल नाइट'कन्सर्ट गरिसकेका छन् । उक्त सांगीतिक टुर आयोजना गरिरहेको यात्री ईभेन्टसले होबार्टमा पनि कन्सर्टको आयोजना गरेको हो।
तास्मानियाको कन्सर्टलाई आरजीआईटी अष्ट्रेलिया र ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गरेका छन् । ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजका डाइरेक्टर अरुण चित्रकारले कन्सर्टको व्यवस्थापन गर्नुभएको छ। कन्सर्टको बारेमा जानकारी गराउंदै उहाँले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको व्याण्ड र नेपालको रक विधामा अग्रपंक्तिमा आउने नाम रविन तामाङ्गलाई यसरी होबार्टमा स्वागत गर्न पाउँदा गर्व लागेको बताउनुभयो। उहाँले नेपाली सांगीतिक क्षेत्र, समुदाय र नेपाली विद्यार्थीहरुका निम्ति सहयोग पुग्ने यस्ता कार्यक्रममा आफू सधै अग्रसर रहने समेत बताउनुभयो।
कन्सर्टमा स्थानिय व्याण्ड अर्थले संगीत दिनेछ। कन्सर्टमा १८ वर्षभन्दा माथि उमेरका व्यक्तिले मात्र प्रवेश पाउनेछन्।