स्थानीय चुनावमा दुई भाइ छोराहरूले छुट्टाछुट्टै पार्टीबाट उमेदवारी लिएपछि उमाकान्तलाई हुनसम्मको चोट पर्यो । कान्छो छोरासँग बसेका उनलाई जेठो छोराकहाँ जान निषेध गरियो । जेठो छोराका खलक कान्छो छोराकहाँ फर्किएर आएनन् । बूढा बरण्डामा बसेर चहलपहल हेर्थे । कहिले घरदैलोमा जानको लागि जेठो छोराको डफ्फा आउँथ्यो, कहिले कान्छो छोराको ।
यस्तैमा चुनाव पनि सकियो । मतगणनाको परिणामसँगै कान्छो छोरो भारी मतले विजयी भयो । घर , समाज र चोकमा भव्यताको साथ विजय जुलुस निस्कियो ।
" ए बा जाने होइन विजय जुलुसमा ? भएभरको पैसा खर्च गरेर आफ्नो कण्ठसिरीलाई जिताइहाल्नुभयो । कान्छो छोराले जित्दा त भुइँमा खुट्टा छैन होला नि अब त ?" धेरै दिनदेखि अत्तोपत्तो नभएको जेठो छोराले फोनमा कटाक्ष गर्दै बोल्यो ।
" बिहानबिहानै फोन गरेर किन मेरो मन दुखाउँछस् बाबु ? आखिर जुन हाँगो काटिए नि बूढो रुख त बुच्चो देखिहाल्छ नि । पितृत्वलाई नि जित हारको तराजुमा जोख्न मिल्छ र ?"
बूढानीलकण्ठ, काठमाडौँ ।