छुट्टीको दिन थियो । बिहानैदेखि टोल बजारको माहौल होलीले तातिएको थियो । विभिन्न रंगले पोतिएका मानिसहरू मात्र देखिन्थे । 'होली है–होली है र जोगिरा सरर....' को ध्वनिले वातावरण गुञ्जायमान थियो ।
झ्याली पिट्दै डम्फु र मादल बजाउँदै परम्परागत रूपमा जोगिरा गाउने होलियाहरूको समूह गाउँका प्रतिष्ठित व्यक्तिहरूका घरमा गीत गाउँदै अबीर लगाइरहेका थिए । उनीहरूलाई खानपान र केही पैसाको व्यवस्था पनि हुन्थ्यो ।
बालबालिकाहरू आपसमा पिचकारीले रंग छ्यापिरहेका थिए । किशोरीहरू बेलुनमा रंग भरेर साथीहरूलाई गोला हानिरहेका थिए ।
सडकमा हिंडने अपरिचित मानिसहरूलाई देखेपछि भने सबै गोलो भएर खनिन्थे । महिलाहरूको छुट्टै र वृद्धहरूको छुट्टै समूह थियो ।
बिन्दी मोची बजारबाट समान किनेर फर्किरहेका थिए । उनको अनुहारमा रंगको नामोनिशान थिएन । उनीसँग होली खेल्ने साथीहरू थिएनन् । उनका मिल्ने साथीहरू गाउँभन्दा बाहिर मजदुरी गर्थे । गाउँभरि उमंग भए पनि उनलाई होली खल्लो थियो ।
विगतमा साथीहरूसँग खेलेको होलीको रमाइलो सम्झिदै बिन्दी सबैको आँखा छलेर चुपचाप निस्किए । बिन्दीले थाहा नपाउने गरी पछाडिबाट पुगेका गजानन्द बाबुले उनको अनुहारमा रंग दलि दिए ।
“मालिक हजुरले मलाई..!” बिन्दीले झुकेर खुट्टा छुन खोजे ।
गजानन्दले अँगालो मार्दै भने–“हो म हुँ, भगवानको दृष्टिमा हामी सबै बराबर हौ । होली समानताको पर्व हो । मान्छेमा भिन्नता देखिने भनेको लुगाफाटाले हो । अनुहारले र सिँगारपटारले हो । यो होलीमा रङ लगाइदिएपछि त्यो सबै विभेद सकियो । हामी एकैनासका भयौ ।”
बिन्दीको आँखाबाट तपतप आँसु झर्न थाल्यो । उनले पनि मालिकको हातमा रहेको थालीबाट रंग निकाले र दलि दिए ।
बिन्दीले पहिलो पटक रंगको मात्र नभई प्रेम र सद्भावको होली खेले ।
- राजविराज, सप्तरी ।