शनिबारको दिन थियो । प्रतिमा दश वर्षीय छोरो प्रतीकलाई लिई बालउद्यानमा पुगिन् । एक छेउमा चिप्लेटी खेलिरहेका बच्चाहरूसँग प्रतीकलाई छाडी उनी फलैँचामा बसिन् ।
एकैछिनमा तिखो आवाज आयो, “छि ! यो त डराउँदो रहेछ । तँ उता जा ।” प्रतीक दुःखी हुँदै आमाको छेउमा गयो । प्रतिमाले सान्त्वना दिंदै उसलाई पिङ खेल्न पठाइन् ।
तुरुन्तै चर्को आवाज आयो, “ हा ! हा ! ! यसलाई त पिङमा बस्न पनि आउँदो रै’नछ ।” ऊ फेरि मलिन अनुहार लिई आमाको छेउमा गयो ।
अर्काेतिर बच्चाहरू लुकामारी खेलिरहेका थिए । प्रतिमाले त्यहीँ लिएर गई उसलाई पनि खेलाउन आग्रह गरिन् । खेल्न थालेका मात्र थिए, आवाज आयो, “ यत्रो ठुलो भएर पनि लुकाछिपी खेल्न आउँदो रै’नछ । भो यसलाई त नखेलाउने ।”
प्रतीक फेरि आँसु पुछ्दै फर्कियो । क्याबिनमा बच्चाहरू नाचगान गरिरहेका थिए । प्रतिमाले उसलाई त्यता लैजान खोजिन् । तर ऊ मानेन । ऊ डाँको छोडेर रुन थाल्यो ।
ऊ रोएको सुनेर अघिदेखिका सबै क्रियाकलाप हेरिरहेका एक जना भलाद्मीले आश्चर्य मान्दै प्रतिमालाई साेधे , “बैनी यति ठूलो भएर पनि यो बच्चालाई किन केही खेल्न नआएको ? अनि ऊ किन रोएको ?”
गहभरिकाे आँसु आफूभित्रै लुकाउँदै प्रतिमाले भनिन्, “किनकी यसले यस्ता खेलहरू देख्न समेत पाएको थिएन । मेरो अपराध देखेर सजायँ दिने याे देशकाे कानुनले यसकाे बाल अधिकार देख्न सकेन । एउटा निर्दाेष बच्चालाई न्याय दिन सकेन । मेराे कुकर्मको फल यसले पनि भोग्नुप¥यो । जन्मेदेखि हिजोसम्म यसकोे जीवन एउटा अँध्यारो कोठाको जेलभित्र बितेको हाे ।”
- इलाम नगरपालकिा - ७