रामचन्द्रले छोरालाई कति भने – “बाबु यो पितृप्रसाद हो, बेच्ने कुरा नगर, सरापै लाग्छ । हजुरबाले कति दुःख गरेर छोरानातिको लागि जोड्देको जग्गा हो, नाथे यति बेचेर शहराँ के नै काम टर्छ र, कहिलेकाहीँ आउँदै रेखदेख गर्दै गरौँला, कमाउन नसके यसो बालीविरुवा लाएर छोड्दिउँला बरू ।”
लाख कोसिस गरे बेच्न नदिन, जति सम्झाउँदा पनि उनको केही लागेन ।
अनपढको बुद्धि हुँदैन, मान्छे काँबाट काँ पुगिसके, गाउँमा कुवाको भ्यागुतो बनेर बसेकाेछ न केहीको सुविधा छ ?” जङ्गिन थाल्यो प्रबिण ।
“ए त्यसो नभन न, सधैँ यस्तै नरहला नि त ।
जग्गा कौडीको भाउमा बेचेर शहरतिर छोरासँग डोरिन बाध्य भए रामचन्द्र ।
जग्गा बेचेको लगभग दुई वर्षपछि नै, गाउँमा आयुर्वेद कलेज र ठूलो आयुर्वेद हस्पिटल खोल्न सरकारी योजनामा पर्यो । सरकारी टोली गाउँ पुगेर सर्वे गर्यो । फराकिलो टाहारबारीमा चैँ कलेज र हस्पिटल बनाउनको लागि, भिरालो र ओसिलो बाँकी जग्गामा औषधीजन्य बोटविरुवा लाउन रामचन्द्रले बेचेको जग्गालाई उपयुक्त ठहर्याइयो ।
योजना पास भएर काम पनि शुरू भएछ ।
केही दिनदेखि खट्पटाइरहेको प्रवीण तीन दिनसम्म घर नआएको थाहा पाएर रामचन्द्रले बुहारीलाई सोधे, “हन परबिन काँ गो दुलही, दुई तीन दिन भो देख्दिन नि ?”
“ए, बुबा, हजुरलाई था छैन र ? उहाँ त गाउँ जानुभा'छ त !”
“गाउँ ! हन किन गको रछ त त्यो छोडेको नाथे गाउँ ?
बुहारीले सिधै कुरा भन्दिइन्- “बुबा हामीले बेचेको जग्गामा त कलेज खुल्ने भो रे नि, त्यहाँ अलिकति किन्नुपर्छ पछि त्यो मालामाल हुन्छ भन्दै यहीँका अरू दुई तीन जना साथीहरूले भनेकोले जानुभा'छ ।” आज काम सकेर भाेली आउने रे ।"
“ए...... अनि किनो त ?”
“काँ बुवा, कति महँङ्गो भो रे ! हामीले पहिले बेचेको असी रोपनी जग्गा हैन त बुबा ?”
“हो नि त अनि ?”
“त्यो बेचेर आएको जम्मै पैसाले पनि पाँच आनाको घडेरी टुक्रो नआएर अलिकति थप्नु परो अरे, त्यही पनि हामीले बेचेको भन्दा एक किलोमिटर पर ।”
- बेलबारी, मोरङ ।