पुराना नेता र पार्टीका व्यवहारबाट आजित भएकाे ऊ यसपटकको स्थानीय निर्वाचनमा भने खुलेरै स्वतन्त्र युवा उम्मेदवारकाे पक्षमा लागेको थियोे । जुन कुरा ठूलै पार्टीका वडाध्यक्षका उम्मेदवार उस्काे छिमेकीलाई पटक्कै चित्त बुझेकाे थिएन ।
यसअघि आफ्नो पक्षमा मत माग्दै हिंड्ने उस्लाई स्वतन्त्रकाे पक्षमा नलाग्न छिमेकीले लाेभ-लालच र घुमाउरो किसिमले धम्की पनि नदिएको हैन, तर ऊ आफ्नो अडानमा अडिग रह्यो । फलतः स्वतन्त्र उम्मेदवार अत्यधिक मतले वडाध्यक्ष पदमा विजयी भयाे । छिमेकीले हारे पनि बाँकी चार सदस्यमा भने उस्कै प्यानलका पार्टी उम्मेदवारहरूले जित हासिल गरे ।
समय बित्दै गयाे । तर वर्ष दिन पनि नबित्दै वडाध्यक्षले राजिनामा गरेकाे खबर फैलियो । त्यसै साँझ छिमेकीले उसलाई सुनायाे - " तपाईंले स्वतन्त्रलाई जिताएर के-के न पुरुषार्थ गरें भन्नुहुन्थ्यो नि ! खै त त्यसले केही लछार्न सकेन । वडामा हाम्रो बहुमत भएकाेले हामीले वडाध्यक्षलाई हरेक कुरामा असहयोग गरेर आखिर राजिनामा दिन बाध्य पार्याैं । यसपाली मलाई नजिताएर तपाइहरूले ठूलाे गल्ती गर्नुभयो ।"
त्याे सुनेर उस्ले हात जाेडेर छिमेकीलाई भन्याे- " हाे हजुर, हामीले एक जना स्वतन्त्रलाई जिताएर ठूलै गल्ती गरेछाैं ।बल्ल थाहा भयाे, एउटाले जितेर केही हुने रहेनछ । आइन्दा यस्ताे गल्ती पक्कै दाेहाेर्याउने छैनौं । अबको निर्वाचनमा वडाध्यक्ष मात्रै हैन पुरै टिम स्वतन्त्र उम्मेदवार जिताएर हामी यस गल्तीको प्रायश्चित गर्ने नै छाैं ।"
- उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा-७