दुई चार दिन भएको थियो । मैले मेरो आमाले खाना खाएको देखेकै थिइन । आमाले मेरो अनुहारमा राम्रोसँग हेर्नु भएको पनि थिएन । मलाई भने खाना खुवाउन जोड दिइरहनु भएको थियो । जुन दिनदेखि आमाले खाएको मैले देखेको थिइनँ त्यही दिनदेखि हरेक दिन मलाई मन पर्ने मिठो मिठो खाना आमाले बनाउँदै खाना दिनु भएको थियो । मैले अहिलेसम्म आफूले खाएको थाल उठाउने पनि थिइन । म अलि लाडे स्वभावको थिएँ । मलाई पहिले पहिले उहाँले सधै भन्नुहुन्थ्यो ," बाबु आफूले खाएको थाल सके माझ्नुपर्छ नसके जुठेल्नोसम्म त पुर्याउनु पर्छ नि ।"
तर केही दिनदेखि भने खाना खाएर थाल टेबलमै छोडेर उठ्दा आमाले भक्कानो छोडेर रोएको मैले पटक-पटक देखेको थिएँ ।
सानीआमासँग भन्दै हुनुहुन्थ्यो , " अहिलेसम्म आफूले खाएको थाल पनि नउठाउने छोराले अरुको मुलुकमा गएर कति दु:ख पाउने होला ? खाना पनि यसले अझसम्म पकाएको छैन । सबैलाई भन्दा रोजेर यसैलाई चाहिन्छ ।" आमाले रुँदै काँपेको स्वरमा भन्दै हुनुहुन्थ्यो ।
मैले मनमनै सोचेँ, हाम्री आमाले किन होला बेकार चिन्ता लिने । सबै सुखी छन् । प्रशस्त पैसा कमाएका छन् । नेपाल आउँदा बान्की नै फेरिएर आउँछन् । मन फुकाएर खर्च गर्छन् । विदेशबाट आउँदा त मेरो पनि रवाफ फेरिन्छ ।
मैले सपनामा घ्यूको लड्डु मनमनै खाइसकेको थिएँ । म ढुक्क थिएँ । म हँसिलो थिएँ ।
आफन्त सबै मलिन थिए । आमाको अनुहारको कद सबै उडेको थियो । मेरो अनुहारमा उहाँले अनुहार जुधाउनु भएको थिएन । म भने फुरुङ्ग नै थिएँ ।
भर्खरै १२ पास गरेको ममा एक किसिमको उन्माद थियो । कसैले भनेको पनि सुन्दैन थिएँ । कसैलाई त्यति चासो दिँदैनथेॅ । मलाई मेरो वर्तमान मात्र रमाइलो थियो । न त भूत स्मरण न त भविष्यको चिन्ता ।
एअरपोर्टबाट आमाको आँसुको आहाल हेर्दै म ठूलो जिम्मेवारी बोकेेर बिदा भएँ ।
आज ठ्याक्कै, बाह्र वर्ष भएछ ।
गएको दुई वर्ष नपुग्दै पुन : मेरो कालो वर्तमान सुरु भयो । जुन दिन उनीसँग कामकै सिलसिलामा भेट भयो । म भन्दा उनी धेरै छिटो छिटो नजिक हुन खोज्दै थिइन् । केही समय त हामीले ज्यादैॅ नजिकबाट एक आपसमा आफूलाई प्रस्तुत गराउन सकेका थिएनौॅ । म सोझो थिएँ । भर्खरै गाउँबाट गएको । कसैलाई देखे डर लाग्थ्यो ।
केही समयपछि हामी अझ नजिक नजिक हुदैँ गयौँ ।
म दिनको एक पटक नेपाल फोन गरेर गहभरी मनका बह थुपारेर बसेकी आमालाई हँसाउँथे। राती एक बजे मेरो समय मिल्छ अनि आमालाई पनि नेपालमा समय मिल्छ, मलाई थाहा थियो । दिनभरिका सबै कुरा हामी खोल्थ्यौॅ ।
सँगैसँगै काम गर्ने हुँदा कहिलेकाहीँ उनी र म मात्र हुन्थ्यौं । मलाई त्यति राम्रो काममा हातको सफाइ थिएन । उनले केही सहयोग गर्थिन् । समय बित्दै जाँदा उनी र म धेरै नै नजिक हुँदै गयौॅ । म पनि राम्रो नै साथी पाएँछु भनेर खुसी थिएँ ।
एक पटक उनी र म मात्र झण्डै दुई हप्ता काममा भयौं । साहुले मभन्दा उनी सिनियर भएको हुँदा सबै जिम्मेवारी उनलाई नै दिएको थियो ।
मलाई काम गर्न त्यति आएको थिएन । उनले सबै सिकाइन म । एक दिन उनी काम गर्ने क्रममै बाथरुममा लडिन् उनको खुट्टाको घुँडाभन्दा केही माथि चोट लागेको रैछ । केही रगत पनि लागेको रैछ । मेरो झोलामा सधै एक जोडी कपडा भेरहन्थे । उनलाई त्यो झिकेर लगाउन अनुरोध गरेँ । उनले स्वीकार गरिन् । हात पनि सुनिएछ उनको हातले सकिनन् । मैले लगाइदिने अनुमति मागेँ । कताकता मलाई डर लागेको पनि थियो । म बुझ्ने भएदेखि दिदीबहिनीहरूको शरीरमा छोएको थिइन् । कता कता मलाई के भयो थाहा छैन । मैले खलखल पसिना काढेँछु । मेरो अनुहार रातोपिरो देखिएछ । हात काटिरहेका थिए । कपडा छोएको पनि थिइन् । उनले मलाई सोधिन । के भयो ? तिमी किन कामेको हँ ? उनको कपडा खोल्न मैले सुरु गरेँ । उनले एक्कासी मलाई अँङ्गालो हालिन् । मेरो छातीमा उनको छाती टाँसियो । मैले केही होस् पाउन सकिन । म लगभग होस हराएको जस्तै भएँ । उनीहरूको संस्कारमा त्यो कुनै ठूलो कुरा रैनछ तर हामीलाई त्यस्तो नपच्ने थियो । मलाई लाग्यो आज म सकिएँ । उनको हात मेरो नितम्बमा थियो । उनको दुवै वक्षस्थलको आकारले मेरो छातिमा छुँदा क्षणिक म यो संसारमा नै नभएको महसुस गरेँ । मेरो नशानशामा आक्रमण गरिसकेको थियो ।
त्यो दिनदेखि मलाई हरेक चाडपर्व मनाउन उनी सधै बोलाउन थालिन् ।
सुरु सुरुमा त मलाई कस्तो कस्तो भयो तर बिस्तारै मलाई उनका घरपरिवारलाई पनि मेरै घरका जस्तै जस्तै लाग्न थाल्यो । हामी यति नजिक भयौ कि कुनै पनि कुरा हामीमा बाँकी रहेनन् ।
केही समयपछि हामीलाई यो बेलामा एकाकारको खाँचो हुन्छ भनेर भुलबस परिणाम स्वरूप भएको गल्तीका कारण परिस्थितिले एक हुन बाध्य बनायो । मैले मेरो घरपरिवारलाई पनि दबाएर राखेँ । थाहै दिइन । लुकाउन अनेक बहाना रचेँ ।
हामी सगैँ बसेको केही समयपछि उनको स्वभावमा पूर्ण रुपमा परिवर्तन आउन थाल्यो । मैले सोचेको भन्दा फरक हुँदै गइन् । मेरी आमालाई फोन गर्न पनि अनुमति लिएर गर्नुपर्ने भयो । उनी निन्द्रामा पनि मैले लुकेर फोन गरेको थाहा पाउँथिन् । हप्काई खानुपर्छ भनेर म फोन समातेर प्रोफाइल पिक्चरमा आमाको अनुहार हेरेर चित्त बुझाउन थाले । त्यही समय पारेर आमाको म्यासेन्जरमा फोन कल आउँदा रातभर निन्द्रा नै नपर्ने गरी धेरै गाली खाएँ । आमालाई भने , " आमा काम बढी छ । मलाई अहिले रातीको पनि काम छ । कामको बेलामा फोन उठाउँदा अहिलेको साहु कराउँछ ।" आमाले हुन्छ बाबु ।" गहभरी आँसु झार्दै भन्नुभयो । आमाले मलाई कुनै दिन पनि गाली गरेेको र तँ भनेर बोलाएको पनि सुनेकै थिइन ।
केही समयपछि हाम्रो मायाको निसानी छोरा जन्मिन्छ । अब नेपालमा आमाले मलाई गरेको स्तनपान सेवनबाहेक मैले नै सबै जिम्मेवारी लिनु पर्यो । छोरालाई भन्दा सास्ती मलाई उनलाई स्याहार गर्दा हुन्थ्यो । जति नै राम्रोसँग गर्दा पनि कुनै दिन जस मिलेन । उनलाई मैले जति नै मेहनत गरेेर पकाएको खाना पनि मीठो हुँदैनथ्यो । उनीसँग नजिक जाँदा सुरुमै के हुने हो गल्ती र हप्काई खानुपर्छ आज भनेर नजिकजाँदा नै मेरो शरीर फुलिएर वजन बढीसकेको हुन्थ्यो ।
मेरा इष्टमित्र सबैसँग सम्बन्ध हराइ सकेको थियो । मलाई घरपरिवारलाई स्मरण गर्ने समय पनि अभाव हुँदै गयो । दुई तीन महिनामा लुकेर आमालाई फोन गर्दा पनि कल रेकर्ड डिलिट गर्नुपर्ने थियो मलाई ।
स्थाई वासिन्दा उनी, म त उनको आश्रयमा बसेको सबै अधिकार उनमा सीमित थिए । मेरो काम, छोरालाई रेखदेखदेखि उनका लत्ताकपडा पटाउनेदेखि आइरन सारा मैले नै गर्नु पर्थ्यौ । खाना त मैले उनले पकाएको खाएको छाक औंलामा गनेर भन्न सक्थे होला । मलाई क्षण-क्षणमा आमाले सानीमासँँग भनेको कुराको झल्को आउन थाल्यो । मलाई विस्तारै पिञ्जडाको सुगा जस्तै महसुस हुँदै थियो । म दलदलमा फसिसकेको थिएँ ।
उनको आनीबानीमा थप परिवर्तन आउन थालेको धेरै नै भैसकेको थियो । उनले मलाई एउटै बेडमा रुचाउन पनि छाडिसकेकी थिइन ।
हुँदाहुँदा बेलुका आउँदा सधै नसामा आउन थालिन् । मैले केही सवाल राख्दा मलाई सीधै डिभोर्स चाहियो भन्न थालेको पनि धेरै समय भैसकेको थियो । म निरिह भएर बस्न विवश थिएँ ।
आज त उनी होसमै थिइनन् । अर्कै स्थानीय युवकले सँगै लिएर आएको थियो । उसको आज जन्मदिन रे बाहिर होटलमा मनाएर आएका रे । आज उनी भन्दै थिइन् । डार्लिंग आज तिम्रो जन्मदिन । कहाँ जाने ? मेरै बेडमा सुत्ने । मलाई स्मरण भयो म विदेश आउनुभन्दा एक महिना पहिले मेरो आमाले मेरो जन्मदिनको दिन मन्दिरमा लगेर कान चिरूवा जोगीलाई दान दिदैँ आशीर्वाद थापीदिनु भएको थियो । घरमा आएर मलाई टीका लगाएर आशीर्वाद दिदैं , " मेरो छोरालाई काँडाले पनि नघोचोस् । देवता सबै दाहिने होऊन् ।" आमाले नेपालमै मनाइदिएपछि मेरो जन्मदिन मैले मनाउने अवसर प्राप्त भएन ।
बेहोसमै उनले त्यो युवकलाई आफ्नो बेडरुममै सुत्न आग्रह गरिन् र आफू सर्वाङ्ग हुन थालिन् । युवक पनि नशामा नै थियो । उसले पनि मेरो पर्वाह नै गरेन । म आफैं बाहिरिन बाध्य भएँ । त्यसपछि म त्यो बेडरुमभित्र पसिन ।
उनले चाहेको डिभोर्स मैले दिनै परेन । मेरो बेडरुम नै छोडिदिए ।
अब त छोरा पनि आठ वर्ष पुग्न आँटेको थियो । आफ्नो ख्याल राख्ने भैसकेको थियो । मसँग उसको भविष्य छैन भन्ने मैले राम्ररी बुझेको थिएँ । त्यसैले छोराप्रतिको स्नेहलाई पनि मैले तिलाञ्जली दिँदै हिडेँ । म रित्तो हिडेँ ।
आज सडकमा मेरो वर्तमान छ । तर म खुसी छु ।
नौंं वर्ष पहिले आमाको र मेरो फोन गर्ने समय मिल्ने स्मरण भयो । फोन गर्न थालेँ, छाती फुलाएर । म सडकमा थिएँ । मैले आफूलाई पिञ्जडाबाट छुटेको सुगा ठानेको थिएँ । सडक मेरो वर्तमान साथी थियो । लगत्तै मेरो वर्तमान बिसाउने ठाउँबाट आमालाई फोन गरेँ । आमाले भन्नुभयो, " छोरा यो रातिमा कहाँ छौ । यतिधेरै वर्षपछि बल्ल साहुले तिमीलाई रातिमा फोन गर्न कसरी छुटकारा दियो छोरा ? होइन आमा , " म सडकबाट हो , खुल्ला आकाशमा छु । अहिले सडकमा छु । केही दिनमा म मेरो घरमा आउँछु है, आमा ! आमा रुदैं थिइन् म दिनहुँ फोन गर्छु आमा । नरुनु है, अब म दिनहुँ फोन गर्छु है ल । " अहिले फोन राखेँ है आमा । आँखाभरि आँसु अनि मनभरि पीडा बोकेर आमाको फोन काटेँ । म मेरो अतीतलाई स्मरण गर्दै दुःखी हुँदैँ सुखी वर्तमान ल्याउने परिकल्पना तयार गर्दैछु ।
गैडाकोट - २, नवलपुर ।