Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

लघुकथा : प्रेसर - नारायण तिवारी

लघुकथा : प्रेसर - नारायण तिवारी

नेप्लिज डायस्पोरा

१५, श्रावण २०७९
images
लघुकथा : प्रेसर - नारायण तिवारी

 

साझा बसमा चढेको छु । अगाडि देखिरहेको छु–जाम छ । सिटमा छु बसेको । भुसुक्कै निदाउँछु । लामो जामले पनि होला आएकी निद्रादेवी ।

अचानक आँखा खुल्दा लाग्छ कौशलटार जहाँ मेरो डेरा छ, कटिसक्यो कि जस्तो ! बसेको ठाउँबाट तर्सिँदै, हतारिँदै उठ्छु र, एक झट्कामा पुग्छु उत्रिने अगाडि राखिएको ढोकामा । जहाँ, पैसा उठाउन तम्तयार बसेका छन् कन्डक्टर ।

उनलाई सोध्छु, “ कौशलटार आइसक्यो भाइ ?”

उनी मलाई अचम्मसित नियाल्छन् र बोल्छन्, “ कटिसक्यो ! कहाँ उत्रिनु पर्ने होला ? ”

उनी उमेरको लिहाज गर्छन् र फेरि भन्छन्, “ हजुर, अब त अलिकति हिंड्नु पर्यो । कौशलटार छुट्यो ।”

म सोच्दछु, पछि छुट्यो कि ? र, बोल्छु, “ गट्ठाघर आएको हो ? ”

उनी बोल्छन्, “ होइन, जडिबुटी कट्यो । भन्नुस् न हजुर कहाँ उत्रिने ? ”

म चकमन्न हुन्छु । घुम्छु, आफ्नै दिमागसितै । गम खान्छु– के भो मलाई ?

फेरि, जवाफ खोज्छु, “ होइन, यो गाडी कहाँ गइरहेको छ ? ”

कन्डक्टर फेरि बोल्छन्, “ कलङ्की हो हजुर ! हजुर कहाँ जाने ?”

उनी मेरो उमेरको लिहाजले ‘हजुर’ भन्दैछन् । म भ्रमित झैँ “ एकछिन् ” भन्छु र फर्किन्छु आफ्नो सिटमा बस्न । तर, त्यहाँ अर्को कोही बसिसकेको छ । म घुमिइरहन्छु, उभिइरहन्छु । मलाई कोही सिट छोड्दैनन् ।

बल्ल अलिक नियन्त्रित हुन्छु–चेत फिरेजस्तो । भ्रमबाट छ्याङ्ग भएजस्तो । म कौशलटार आफू बसेको डेरातर्फ होइन, बानेश्वरतर्फ जाँदैरहेछु । एक झमटको निंद्राले सब गोलमाल ! लागेछ– साझा बसमा म जाँदै, बानेश्वरतिरबाट कौशलटार डेरा !

बानेश्वर पुगेपछि उत्रिन्छु र कन्डक्टर भाइलाई भन्छु, “अघि म अलमलिएँ भाइ ! म उत्रिने ठाउँ यो हो ।”

उनी सुस्तरी, विनम्र भएर, स्नेही बनेर म उत्रिँदै गर्दा सोध्छन्, “ हजुरलाई प्रेसर छ ?”

म जवाफमा बोल्छु, “ हो, प्रेसर छ !”

उनी फेरि स्नेही बोल्छन्, “ राम्ररी, बिस्तारै जानुहोला !”

म टाउको हल्लाउँछु र, सोच्दछु, ‘हो, मलाई प्रेसर त छ । तर, ब्लडप्रेसर होइन, घरव्यवहारको प्रेसर....!’

- बिराटनगर, हाल : ललितपुर ।

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - ०७:५८:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend