दर्पण तिमिल्सिना
ओस्लो,नर्वे
प्रवासी नेपाली मन्च (ओएनएफ), नर्वेले आयोजना गरेको तेस्रो T-10 रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । ओस्लोको क्रीन्सो खेल मैदानमा भएको फाइनल खेलमा जनसम्पर्क समिति (जेएसएस) नर्वेलाई ३५ रनले हराउदै आयोजक ओएनएफ़ नर्वेले उपाधि उचालेको हो । निर्धारित १० ओभरको फाइनल गेममा ओएनएफले दिएको ८९ रनको लक्ष्य पछ्याउने क्रममा जेएसएस नर्वेले सबै विकेट गुमाउदै ५४ रनमा समेटिन पुगेको थियो। बिजयी टिमले रनिङ कप, मेडल सहित नगद ८००० क्रोनर ( नेपाली करिब रु १ लाख) हात पारेको छ । त्यसैगरी उप बिजेता जनसम्पर्क समिति नर्वेलाई ४००० क्रोनर सहित मेडल र प्रमाणपत्र ले पुरस्कृत गरिएको छ ।

गत शनिवार र आइतबार गरि २ दिन चलेको खेलमा एनआरएनए नर्वेका अध्यक्ष जीवन बिक्रम शाहीले प्रतियोगी टिमका क्याप्टेनलाई बल र ब्याट प्रदान गरि खेलको औपचारिक उद्घाटन गर्नु भएको थियो । खेलमा नर्वेमा क्रियाशिल विभिन्न नेपाली संघसंस्थाका ८ समुहहरु एनआरएनए नर्वे, ओएनएफ नर्वे, जेएसएस नर्वे, नेस्को नर्वे, रागोस नर्वे, योङ्ग ड्याट् क्लब, नेपोस नर्वे र नेप्सा नर्वेले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा ब्याटिंग र बलिङ्ग तर्फ उत्कृष्ट प्रदर्शन गरेका ओएनएफका मिलन मल्ल ´म्यान अफ द सेरिज´ हुनु भएको थियो । त्यसै गरि बेस्ट बलर संदेश श्रेष्ठ, बेस्ट ब्याट्समेन राजु धिताल र फेयर प्ले अवार्डबाट योङ्ग ड्याड्स क्लबलाई पुरस्कृत गरिएको थियो।
त्यसैगरी महिलाहरुको लागी घैटो फुटाउने कार्यक्रम खेलाइएको थियो । घैटो फुटाउने कार्यक्रममा सबैभन्दा कम समयमा फुटाउन सफल खेलाडी देसना भुषाल बिजेता तथा शान्ति बजगाई उप बिजेता हुनुभएको थियो। बिजेता तथा उपबिजेतालाई मेडल सहित आकर्षक पुरस्कारले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बालबालिकाको लागी तातो आलु खेल समेत खेलाइएको थियो । दर्जनौ बालबालिकाहरुको सहभागिता रहेको उक्त खेलमा सात्भिक बजगाई र प्रन्जल कोइराला बिजेता भएका थिए।
पुरस्कार बितरण कार्यक्रम ओएनएफका अध्यक्ष मनोज अधिकारीको सभापतित्व तथा नेकपा एमालेका केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य बलराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा एमाले नेता बद्री प्रसाद लम्साल, गैर आवासीय संघ नर्वेका उपाध्यक्ष राजन अधिकारी, एनआरएनए युरोप युवा संयोजक किरण गुरुङ्ग, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष प्रेम परियार, हेल्पिङ्ग ह्याण्ड्स फर नेपाल नर्वेका अध्यक्ष बिनोद बस्याल, प्रबासी मन्च युरोप कमिटिका सचिबालय सदस्य विश्वास बजगाई, सदस्यहरु प्रेमलाल नेपाली तथा युवराज भण्डारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बिजयी खेलाडी र टिमलाई पुरस्कार,मेडल तथा नगद वितरण गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि बलराम अधिकारीले नेपालमा छँदा बिभिन्न गाउ जिल्ला भनेर छुट्टिएको भएपनि यहाँ नेपाली भन्ने भावनाले एकता भएको देख्दा आफुलाई अत्यन्तै खुसी लागेको बताउनुभएको थियो।
समापन कार्यक्रमको संचालन ओएनएफका कोषाध्यक्ष बिनोद सापकोटाले गर्नुभएको थियो भने ओएनएफ समर स्पोर्ट्स २०२२ को संयोजन संस्थाका सचिब प्रकाश पौडेलले गर्नुभएको थियो । नेपाली खानाको समेत ब्यबस्था गरिएको उक्त कार्यक्रममा करिब ३०० बढी नेपालीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

