Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सपनाको विश्रान्ति -दीपक विश्वकर्मा

सपनाको विश्रान्ति -दीपक विश्वकर्मा

नेप्लिज डायस्पोरा

२८, श्रावण २०७९
images
सपनाको विश्रान्ति -दीपक विश्वकर्मा


सपनाको बिउ छर्न निकै सजिलो छ । तर त्यसको, गोडमेल र मलजलको चाँजोपाँवो निकै मुुस्किल काम हो । पढाइ छोडेर कास्की जिल्लामा तत्कालीन मालेको कार्यकर्ता भैटोपलेको बेला घरबाट मेरो नाममा पुगेको सानो चिठ्ठीले मर्माहत भएर प्रदेश लागेको थिएँ म । सोँचेजस्तो, मनले आँटेजस्तो कहाँ हुँदोरहेछ र ? सपनालाई थाती राखेर आरनमा बाले तताएको फलाममा घन बजार्नु, दैन्दिन्य प्रयोजनको लागि जंगल छिचोलेर सुकेका बाँसका दाउराको जोहो गर्नु, साथीहरुसँग भेटघाट गर्ने नाममा सिलाङ्ग तिर बरालिनुजस्ता बेतुकका काम गरेर समय बिताइरहेको थिएँ मैले ।


क.वामदेवलाई दिएको दुई वर्षको समयसिमाले नेटो काटिरहेको थियो । यसै दौरानमा अखिल भारतीय प्रवासी नेपाली संघको पूर्वोत्तर क्षेत्रीय सम्मेलन सिलाङ्गमा हुने भयो । साथीहरुले मलाई अखिल नेपाल किसान संघको तर्फबाट प्रतिनिधित्वको प्रस्ताव गर्नु भयो । सो समयमा क. सि.पी. मैनाली, उहाँकी जीवनसंगिनी सिता के.सी. भारत प्रवासको काममा खटिनुभएको थियो । सम्मेलनको सबै चाँजोपाजो सिपीले नै मिलाइरहनु भएको थियो । प्रीय दाजुहरु दिवंगत कुन्दन भट्टराई, तील कार्की र दाजुहरु बाबु।ाम खनाल, रामप्रसाद खनाल, इश्वरी खनाल, लक्ष्मण रायमाझीजस्ता जुझारु कार्यकर्ताहरु रातदिन नभनी खटिइरहनुभएको थियो । बाको आरनको बित्यासलाग्दो घनठोकाइबाट भागेर मपनि रणबहादुर दाइको पछि लागेर सिलाङ्ग पुग्थे यदाकदा । सम्मेलनभर हामी दुबै जोइपोइहरु दाजु तीलकार्कीको घरमा बस्यौं । यो मोरो जातको फण्डाले त्यहाँपनि सताउने गथ्र्यो कहिलेकाहीँ । तील कार्की, बहिनी विष्णु कार्की, भाउजु दुर्गा र कान्छा दाजुभाउजु प्रगतिशील सोँचका भएपनि बाआमाको उमेर पाको भइसकेको थियो । आइपर्दा, साइत जुर्दा हामी जोइपोइपनि थापा क्षेत्री बनिदिन्थ्यौं र ढुक्कको स्वास फेथ्र्यो ।


सम्मेलन सकियो । म अखिल नेपाल किसान संघको तर्फबाट प्रतिनिधिको हैसियतले मञ्चमा आमन्त्रित भएँ । मन्तब्यको नाममा जेनतेन दुइचार शब्दको खेतीपाती गरेँ । लागेको मेसो सकिएपछि हलजोरु पनि बेकामका हुन्छन् । म फेरि बेकामी भए । एकाध महिनाको रमाइलो रमझम पछि नङ्पोको उही टुकुने दाइको जग्गामा बनेको बाको आरनमा उही पुरानो दिनचर्याले पुनर्जन्म लियो ।
यसरी हुन्न अब । दिनभरमा बाले जनतन अर्जापेका, एकाधथान नयाँ दाउ, बन्चरोको कमाइले नेपाल फर्किनु त जहाँसुकै जाओस्, तीनजनाको परिवारले हातमुख जोर्न पनि सकिन्न भन्ने दिब्यज्ञान ममा कतैबाट पलायो । दिब्यज्ञानको अंकुरणको साथसाथै म उद्योगी बन्ने सपना देख्न थालेँ । मनमनै उद्योगको खाका तैयार गरेँ— नागा च्यादरको उत्पादन गरेर बिक्री गर्ने । शुरुवात आफैले गर्ने । बिस्तारै चल्न थालेपछि तान पनि बढाउँदै लैजाने र उद्योगको रुप दिने ।
सिलाङ्ग गुवाहाटी राजमार्ग बहुतै चल्तीको मार्ग थियो र आज पनि छ । दैनिक हजारौ गाडी आइजाइ गरेको देखिन्थ्यो । राज्य परिवहन निगमका यात्रुबाहक बसहरु त्यस ठाउँमा नास्तापानी र पुनर्ताजगीको लागि रोकिन्थे । निकै चल्तीको होटेल थियो— रेखा होटेल । त्यसको आसपासमा असंख्य घुम्ती दोकानहरु हुन्थे । सायद आज पनि होलान् । ती घुम्ती दोकानहरुमा अन्य मालसामानको साथमा नागा च्यादर पनि बिक्रको लागि राखिएको ुहन्थ्यो । यात्रीहरु पुर्वोत्तर राज्यको नासो वा चिनोकोरुपमा खरिद गर्थे र गुवाहाटी हुँदै गन्तब्यसम्म पु¥याउँथे । त्यो ब्यवसाय मलाई बहुत गज्जब र खुब चल्लाजस्तो लाग्यो ।


यो गज्जब लाग्नुको खास कारण पनि थियो । मसँग बिहे हुनुभन्दा पहिले अनिताजीले तानसेनमा महर्जन कम्पनीले सन्चालन गरेको पाल्पाली ढाका उद्योगमा काम गर्नुहून्थ्यो । उहाँले काम दाम राम्रै भएको कुरो सुनाउनुहुन्थ्यो । म आफैपनि बिना इलमको भएको हुनाले लोग्ने स्वास्नी मिलेर कपडा बुनियोभने त छिट्टै उभो लागिएला । देश फर्किन सकिएला, गहन चिन्तनका साथ सिलाङ्गको बडाबजार पुगेर तानका सर्जाम, उनीका विभिन्न रंगका धागो किनेर ल्याएँ र तान बुन्न थालियो ।


टुकुने दाइको घरको अगाडि बाटोको साइडमा बाको आरन र घरको पछाडि आगनमा हामी जोइपोइको तान उद्योगको खेलो शुरु भयो । तान बुन्नुभन्दा पहिले फर्मा तैयार गर्नुपर्ने रहेछ । तान पाल्पाली ढाकाको बुनाइगर्दा जस्तो काठको ठुलै फर्मा नचाँहिदो रहेछ नागा च्यादर बुन्न । भुइँमा किल्ला गाडेर धागोलाई तानकोरुप दिएपछि फर्मामा फिट गर्नुपर्ने रहेछ । त्यो काम टुकुनेदाइकी जहान खसिनी भाउजुबाट सिकियो । टुकुने भाउजुलाई केटामान्छे देख्नै नहुने । उनको नजिकपर्दापनि डराउनु पर्ने अवस्था हुन्थ्यो । समाइहाल्न खोन्जे । महिलाहरु पनि यति आसक्त हुँदारहेछन् भन्ने दिब्यज्ञान मैले खसिनी भाउजुबाट प्राप्त गरेको हुँ । तर मर्ता क्या नहि कर्ता भनेजस्तै तानबुन्ने काम उनैबाट सिकियो । अनिताजीलाई केही न केही जानकारी थियो पहिलेदेखि नै । प्राविधिक काममा म पहिलेदेखि नै चतुर थिएँ । केही दिनको प्राक्टिसबाट तान लगाउन म आफै पारंगत भएँ ।


तर यो सपनाको खेति लामो चलेन । एकाध च्यादर बुनियो । रंग मिलाउने ढंग नपुग्नाले बेढंगको देखियो । केही थान झोला बुनियो । त्यसले पनि ब्यवसायिकरुप धारण गर्न सकेन । पचास किलोमिटर टाढाको बडाबजार पुगेर धागो खरिद गरेर ल्याउनु, आउँदाजाँदाको बस भाडा, नास्ता पानीको हिसाब गर्दा ब्यवसाय ओरालो लागेको भान हुनथाल्यो । त्यसै बीच एउटा दुःखद् घटना घट्न पुग्यो । जसले गर्दा मेरा तानका सबै सामानहरु पोको पारिएर कोठाको भित्तामा खडा हुन पुगे ।


एकाध नागा च्यादर र केही थान ऊनीझोला बुनेपश्चात् अव केही गर्न सकिन्छ भन्ने मनमा आशाको बीउ पलाउन थाल्यो । मनको छटपटी, उद्बेग र संबेगले मन्थर हुने छाँट लिइरहेको थियो । बिहानै उठेर बाले खलाती नारेर आरनको टुँडोमा आगो सल्काउनु, अनिताजीले नास्तापानी र भातभान्साको जोरजाम गर्नु, म टुकुनेदाइको घरको आगनमा बसेर तानको सुरसार गर्नुजस्ता दिनचर्या हुनथाले । तानमा के हुल्छ भने एउटा बुनाइ बुनिसकेपछि अर्को बस्तुको बुनाइ गर्न तानको काम फेरि दोहोराउनु पर्ने रहेछ । किल्ला गाढने, गाडिएका ती किल्लाहरुमा फेरो मारेर धागो बेर्ने र तैयार भइसकेपछि भुइँमा सुताएर हतासोले बुन्न थाल्ने । चालिस वर्ष पहिलेको कपडा उद्योगी बन्ने सपनाको खेतीको बेलाको कुरो हो । समयको लामो बहावमा कतिपय सामानको नाम बिर्सिसकियो । धागो बेरेर वारपार गराउने काम बहुत मज्जा लाग्दो हुन्थ्यो । किनकि त्यसैबाट कपडा वा च्यादरको रुपमा निखार आउँथ्यो ।


बिद्रुप सपनाहरु विस्तारै विस्तारै हराउँदैथिए । स्कुलको होनहार विद्यार्थी, कविता लेखेर नेपाल तृतीय भएको सान, पार्टीको होलटाइमर कार्यकर्ताको बिल्ला, बा—आमा, आइआफन्त, टोलछिमेकको आशाको केन्द्रबिन्दु म केवराको फुलजस्तै ओइलाउँदै र समुन्द्रको पानीजस्तै सेलाउँदै गइरहेको थिए, जसरी कि साउन भदौको उर्लदोँ भेलमा फसेको हात्ती बिस्तारै बिस्तारै महासागरको यात्रा तय गरिहेको हुन्छ ।


नागा च्यादर बुनेर मनग्ये धन कमाएर, कमाएको रकम कम्मरमा बाँधेर नेपाल फर्किर सानदार घरजम गर्ने बिद्रुप सपनाको खेतीको पनि दुखद् अवसान हुन पुग्यो । भयो के भने, एकाध नागा च्यादर बुनेपनि आफुलाई धन्य संझँदै अर्को च्यादरको तान बनाउने बेलामा मेरो सपनाको खेतीमा बडेमानको पहिरो गयो । भयो के भने तान्न बुन्नको लागि आठदशबटा किल्ला भुइँमा गाड्नुपर्ने हुन्छ । काठमा चार फुटिया किला बनाएर राखिएको थियो । किल्लाहरुलाई भुँइमा गाड्न अर्को एकजनाको सहयोग चाहिन्छ । एउटाले समाउने र अर्कोले धनले ठोक्ने । समय यस्तै बिहानको नौ बजेको आसपासको थियो । दुबैजना भिडेका थियौ तानको गाडगुडमा । मैले घन समाएको थिए । अनिताजीले काठको किलो समाउनु भएको थियो । गाड्ने ठाउँको पोजिसन लिइसकेपनि किलोको टाउकोमा मैले घन बजारेँ । तर भएछ केभने मैले समाएको घन फलाम पिट्ने घन थियो लगभग पाँच किलोको । किलोको टाउकोमा घन पुग्ने बेलामा निशाना चुकेछ र घन किलोको टाउकोभन्दा अगाडि पुगेछ ।


किलो माथि मेरो चोरऔलो, चोरऔलो माथि घनको बिँड । बस जो हुनु थियो त्यहि भयो । बिड र किलोको पिसाइमा परेर औँलो चटनी हुन पुग्यो ।


दाजु रणबहादुर क्षेत्रीले तुरुन्तै सरकारी दवाखानामा लैजानु भयो । औलाको सरसफाइ भयो । नङ निकालेर फालियो । धन्न औला काट्नु परेन । औलो बच्यो, तर मेरो सपनाको खेतीको भने सधैका लागि इतिश्री भयो ।


२०७९ साउन २७
बुटवल ।

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - १८:५९:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend