श्रद्देय प्रदीप गिरी धुवाँ बनेर वायुमण्डलमा विलीन हुंदै ब्रह्मण्डसॅंग एकाकार हुनुभएको दृश्यको एकैसाथ साक्षी बने लाखौं मर्माहत मनहरू । ७५ वर्षअघि सिरहाको बस्तीपुरमा जन्मनुएका गान्धीवादी नेता अब हामीबीच रहनुभएन । जीवनलाई आफ्नै शर्तमा बाँच्न रुचाउने एक आदर्शवादी चिन्तक एवं समाजवादी विचारकको अभाव नेपाली समाजमा सदैव खट्किरहने छ । हठात निभेको त्यो दीपको न्यानो प्रकाशको सम्झना युगयुगसम्म भइरहने छ ।
प्रदीप गिरी स्वयं भन्नुहुन्थ्यो- मृत्यु जीवनको पूर्णता हो । जन्मप्रदत्त मृत्युको शास्वत सत्यसॅंग साक्षात्कार गर्दैगर्दा एउटा प्रश्न उब्जन्छ- कसैको मृत्यु यति गह्रुंगो किन बनिदिन्छ कहिलेकाहीं ? अन्तरात्माको आवाज सुनेर जीवन जिउने र कयौंका लागि जीवनकै लक्ष्य बन्ने गरेको उच्च ओहोदाको पद-प्रतिष्ठालाई भन्दा आफ्नै मनमौजी जीवनशैली र वैयक्तिक स्वतन्त्रतालाई सर्वोपरि मान्ने एक सन्तको जीवनगाथा पछिसम्म किम्बदन्ती झैं अमर रहिरहने छ ।
कम्युनिस्टहरूलाई मार्क्सवाद र साम्यवाद पढाउने गुरु उहाँ आफू नेपाली कांग्रेसमा टिकिरहनुको मुख्य कारण नेपाली कांग्रेसले उहाँलाई निर्वाध रूपमा अराजक हुने छुट दिनु हो भन्ने गर्नुहुन्थ्यो । राज्यको सवालमा नागरिक स्वतन्त्रता र पार्टीको सवालमा आन्तरिक लोकतन्त्रलाई राज्य र पार्टीको स्वस्थ विकासको लागि अनिवार्य शर्त मान्नुहुने उहाँलाई पार्टी अनुशासनले कहिल्यै बाँध्न सकेन। उहाँ दुई पटकसम्म संविधान सभा सदस्य बन्नुभयो तर संविधानले विभिन्न समुदायहरूको सरोकारलाई संवोधन गर्न नसकेको भन्दै आफ्नै पार्टीका सभापतिले प्रधानमन्त्रीको रूपमा नेतृत्व गरेर ल्याएको संविधानमा हस्ताक्षर गर्न मान्नुभएन ।
धाराप्रवाह बोल्न सक्ने प्रखर वक्ता उहाँ संसदको रोस्टममा उभिएर बोल्दै गर्दा उहाँ कुन पार्टीको भनेर छुट्याउन सकिंदैन्थ्यो । उहाँ सधैं निर्भिकता र निडरताका साथ, वस्तुनिष्ठ एवं कर्तव्यनिष्ठ भएर बोल्नुहुन्थ्यो । दर्शनशास्त्रका धुरन्धर विद्वान एवं व्याख्याता उहाँ आफ्नो गहिरो चिन्तनबाट निःसृत वक्तृत्वको जादुले टुना लगाउनुहुन्थ्यो । आजीवन एक मर्यादापूर्ण जीवन बाँचेर अन्ततः प्राणघातक क्यान्सरसॅंग जुध्दाजुध्दै सुदूर अज्ञाततर्फको यात्रा तय गरेका ती सपुतको सम्झनाले मन द्रवित हुन्छ, छाती गर्वले फुल्छ ।
उहाँले महिला, अर्थशास्त्र, मार्क्सवाद र दर्शन संबन्धी एक दर्जनभन्दा बढी पुस्तकहरू लेख्नुभएको छ । वीपीको सान्निध्यमा जीवनको लामो समय व्यतीत गर्नुभएका प्रदीप गिरीले कहिल्यै पनि व्यक्तिगत लाभहानीलाई प्राथमिकतामा राखेर सोच्नुभएन, व्यवहार गर्नुभएन। सादा र सरल जीवनशैलीका लागि ख्यातिप्राप्त उहाँले आत्मकथा लेखेर राख्नुभएको कुरा उहाँको देहावसान पछि नरहरि आचार्यले खोल्नुभएको छ । आशा गरौं त्यो अमृतको रसास्वादन हामी छिट्टै गर्न पाउने छौं ।
हृदयभरिको श्रद्धासुमन त्यो महान आत्मालाई । शोकसंतप्त सबैप्रति हार्दिक समवेदना ।
जय नेपाल !
(लेखक नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सभापति हुनुहुन्छ ।)