Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

‘बिसंगत बस्ती’ मुक्तक संग्रह जीवन भोगाईका विविध अनुभूतिहरू हुन -डा. ऋषि बस्ताकोटी

‘बिसंगत बस्ती’ मुक्तक संग्रह जीवन भोगाईका विविध अनुभूतिहरू हुन -डा. ऋषि बस्ताकोटी

नेप्लिज डायस्पोरा

७, भाद्र २०७९
images
‘बिसंगत बस्ती’ मुक्तक संग्रह जीवन भोगाईका  विविध अनुभूतिहरू हुन -डा. ऋषि बस्ताकोटी

आर.बी. फ्लेम नामले पनि साहित्यिक दुनियांमा चर्चित साहित्यकार डाक्टर ऋषि बस्ताकोटीले केही समय अगाडी 'विसंगत बस्ती' नामक मुक्तक संग्रह बजारमा सार्बजनिक गर्नुभएको छ । पुस्तकको राम्रो चर्चा भएको छ । नेपाली मुक्तकको फांटमा चोटिला र अर्थपूर्ण मुक्तकहरु लेख्न जान्ने मुक्तककारका रुपमा बस्ताकोटी परिचित हुनुहुन्छ । अमेरिकामा आफ्नै पेशागत काममा रमाईरहनुभएका बस्ताकोटीसंग नयां प्रकाशित मुक्तक संग्रहसंगै विविध बिषयमा नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईले गर्नुभएको कुराकानी प्रस्तुत छ :

हालै सार्बजनिक भएको तपाईको मुक्तक संग्रह विसंगत बस्ती बारेमाथोरै बताईदिनुस न?

-२०५४ सालमा ज्वालाका रापहरू नामको गजल संग्रह प्रकाशनपछि धेरै बर्षको अन्तरालमा मेरो दोस्रो साहित्यिक कृतिको रुपमा  "विसंगतबस्ती" मुक्तक संग्रह आएको छ। जीवन भोगाइको क्रममा विविध अनुभूतिहरू संगालियो। व्यक्तिगत, पेशागत र सामाजिक जीवनमा  कति सोचेका कुरा भए, कति नसोचेका कुरा भए । संगति, विसंगति बीच जे जे भए तिनले केही न केही दिएर गए, केही न केही सिकाएर गए। तिनै अनुभूतिका अक्षरहरू कतिपय सन्धर्भमा मुक्तकका रुपमा अभिव्यक्त भए।

खास गरी सत्तरीको दशकको शुरुदेखि समसामयिक विषयमा मुक्तक लेखी"बेलाको बोली" नाम दिएर अनलाइन पत्रिकाहरूमा प्रकाशित गर्दै आएँ।यी मुक्तकहरूमा मैले समय लेख्ने प्रयास गरेको छु । आफ्नो दृष्टिकोणमा लागेको सत्य लेख्ने कोशिस गरेको छ।  यो क्रममा बेलाको बोलीका थुप्रै पाठक बन्नुभयो।  शुभेच्छुक पाठकहरुले यी छरिएका मुक्तकहरूलाई संग्रहको रुपमा पढ्ने इच्छा प्रकट गर्नुभयो।  पाठककै चाहना अनुसार यस कालखण्डमा विविध विषयमा विविध प्रसंगमा लेखिएका मुक्तक मध्यबाट  छानिएका  मुक्तकहरू "विसंगत बस्ती बनेर आएका छन्।  

यसमा कति मुक्तक समेटिएका छन?

-संग्रहभित्र विविध स्वादका १२५ मुक्तक छन्।  यसका अतिरिक्त पुस्तकमा समकालीन नेपाली मुक्तकका दुइ शिर्ष व्यक्तित्व वरिष्ठ साहित्यकार सरुभक्त र विवश पोखरेलका भूमिका पनि रहेका छन्।  यी दुई भूमिकाले नेपाली मुक्तकबारे समग्र बुझाइ बिकास गर्न र मेरो मुक्तककारिता बारे जान्न मदत गर्छन।

पुस्तकका मुक्तकहरु बस्तीभन्दा विसंगत छन वा वस्तिका विसंगतीहरु मुक्तकमा समेटिएका छन?

- मेरो विचारमा एक जना लेखकको लागि म किन लेख्छु, कसकालागि लेख्छु भन्ने प्रधान प्रश्न हो।  साहित्यकार पनि समाजकै उत्पादन र समाजकै एक अंग भएकोले उसको लेखनीमा आफु बाँचेको समाज रपरिवेश आउँछ नै। एक सचेत लेखकको हिसावले मलाइ सत्ता र शक्तिको गुणगानभन्दा पनि विकृति विसंगतिविरुद्ध व्यंग्य लेख्नुमा आनन्द मिल्छ। प्रकृति होस् या मानव जाति, निमुखाको आवाज आफ्नो लेखनी मार्फत मुखरित गर्नु आफ्नो दायित्व हो झैं लाग्छ।  हामी बाँचेको वर्तमानमा थुप्रै विसंगतिहरू छन्, थुप्रै असन्तुष्टिहरू छन्। यद्यपि जीवन र भविष्यप्रति आशावादी हुने ठाउँ पनि प्रशस्त छन।  हामीले भोगेका/ देखेका यिनै विषयमाथि आफुलाई लागेको सत्य साहित्यिक र विम्बात्मक तरिकाले 'विसंगत बस्ती' भित्र लेखेको छु।

यो पुस्तक किनेर पढ्नै पर्ने कारण के हो?

- 'विसंगत बस्ती' विज्ञान या दर्शनको पुस्तक जस्तो विशुद्ध ज्ञानकालागि पढ्नुपर्ने पुस्तक होइन।  यो कतिपय आख्यानका पुस्तक जस्तो मनोरंजनका लागि पढ्ने पुस्तक पनि होइन। यद्यपि अहिलेको व्यस्त र छोटो समयमा एकै बसाइमा पढिसकिने, चार हरफ पढेपछि दिमागमा केही न केही तरंग उत्पादन गर्ने, कतै चसक्क लाग्ने, कतै भाबुक बनाउने, विषय  र बिम्बका हिसाबले विविधताले युक्त मुक्तकहरू यस संग्रहमा समेटिएका छन्। यसैले यो पुस्तक पढ्दा पाठकलाइ सन्तुष्टि नै मिल्ला भन्ने मेरो अनुमान छ । पुस्तक बजारमा आएपछि छोटो समयमा प्राप्त प्रतिक्रियाहरू र पत्रपत्रिकामा छापिएका समिक्षा पनि यसैका सूचक हुन् भन्ने मलाई लागेको छ।

-लेखकका रुपमा यो कृति  बजारमा जादै गर्दा के कुरामा सन्तुष्ट हुनुहुन्छ?

-पेशाले वातावरणकर्मी भए पनि साहित्य मेरो बाल्यकाल देखिकैरुचिको विषय हो। समय मिल्दा साहित्यका विविध विधामा लेख्दै, फुटकररचनाहरु प्रकाशित गर्दै, साहित्यिक बहसहरूमा सहभागी हुँदै आइरहेको छु। यद्यपि आफ्ना रचनाहरू पुस्तकाकार प्रकाशित हुनुको आनन्द भिन्दै हुनेरहेछ। यसबाट सन्तुष्टि र पहिचान दुवै मिल्ने रहेछ। २०५४ सालमा ज्वालाका रापहरूले मलाइ गजलकारको चिनारी दिलायो। २०७१ सालमा स्पर्श एल्बमले गीतकारको पहिचान स्थापित गरायो। र अहिले   विसंगत बस्तीले मुक्तककार परिचय अगाडि ल्यायो। छरिएका रचनाहरूबाट भन्दा पुस्तकबाट कृतिकारको समग्र मुल्यांकन हुने रहेछ।  यो पुस्तक प्रकाशनपछि मेरा पनि आफ्नै खालका पाठकहरु हुनुहुँदो रहेछ भन्ने महशुस भएको । पुस्तकमाथि समिक्षाहरू लेखिएका छन्। छलफलहरू भैरहेका छन्। सामाजिक संजाल र व्यक्तिगत संचारका माध्यमबाट प्रकिक्रियाहरु प्राप्त भैरहेका छन्। पुस्तक कसरी प्राप्त गर्ने, कहाँबाट पाइन्छ भनेर सोध्नेहरू पनि थुप्रै हुनुहुन्छ। यी सबै कुराले म उत्साही छु।

यो पुस्तक पढिसकेपछि पाठकले के पाउछ?

- विसंगत बस्तीभित्र विविध स्वादका, विविध शिल्पमा खिपिएका बिषयको विविधताले  भरिएका १२५ मुक्तक छन्।  यस पुस्तकमा पाठकले आफ्नो रुची अनुसार केही न केही भेट्टाउनुहुनेछ भन्ने मेरो विश्वास छ।

प्रवासका पाठकहरुले यो पुस्तक कसरी प्राप्त गर्ने ?

-यो पुस्तक बी एन पुस्तक संसार, काठमान्डूले प्रकाशन गरेको हो। काठमान्डू र नेपालका प्रमुख शहरका पुस्तक पसलहरूमा पुस्तक उपलव्ध भएको कुरा प्रकाशक मार्फत् मैले जानकारी पाएको छु। प्रवासमा रहनुभएका इच्छुक पाठकहरूले चाहिं  इमेल या फेसबुक मार्फत मलाइ सम्पर्क गर्नुभयो भने म उपलव्ध गराउन प्रयास गर्नेछु।

तपाईका पाठकले पुस्तकका बारेमा सोधपुछ गर्ने वा प्रतिक्रिया दिने उपयुक्त माध्यम के हो?

-पाठकहरुको आलोचनात्मक प्रतिक्रिया मेरो लागि उर्जा हुन्।  पुस्तक पढेपछि आफ्नो धारणा साहित्यिक पत्रिका या अनलाइन पत्रिकामा प्रकाशित गरेर, सामाजिक संजालमा बाँढेर या मलाइ सिधै सम्पर्क गरेर दिन सक्नुहुन्छ। पाठकहरूका प्रश्न, प्रतिक्रिया या सुझाब जे छन्, तिनका लागि म प्रतिक्षारत हुनेछु। मेरो ईमेल [email protected] हो ।

 

  

 

images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - ०९:३६:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend