सपनाको दोस्रो सिरानीमा टाउको बिसाएर अलौकिक संसारमा विचरण गर्न थालियो । योजनाको सानोतिनो खेस्रा मआफैले कागजमा कोर्न थालेँ । आधुनिक कृषि औजार कारखाना खोल्न न्युनतम चाहिने सामानहरूको लिष्ट तैयार हुज थाल्यो । सामान्य खाका कोर्न एस.एल.सी.को परिक्षा पछि परिक्षाफल प्रकाशित नहुँदासम्मको छोटो समय क्लासमेट उत्तम सिल्पकारको दाजुको चिप्लेढुंगास्थित ग्रील उद्योगमा काम गरेको कारणले पनि केही सहयोग पुग्यो ।
बाउबाजेको पालादेखिको जिविकोपार्जनको मेसो आरने पेसा भएता पनि स्कुल पढ्ने मौका जुरेकाले मैले सो पेसा अंगाल्नु परेन । हँ, स्कुल बिदा हुँदा, कहिलेकाँही कामको चाप हुँदाभने बाले एकाबिहानै उठाएर साथमा लैजान्थे र खलाँती चलाउन लगाउथेँ । यो खलाँती चलाउने कामलाई खलाँती धुने भनिन्छ । सामान्यतया खलाँती बाख्राको छालाबाट बनेको हुन्छ । पाडापाडीको आकार ठूलो हुने भएकाले त्यसकार्यको लागि उपयुक्त हुँदैन ।
प्रायः जसो गाउँघरमा बाख्राबाख्री काटेर खाँदा छाला पनि खाने चलन हुन्छ । तर, जब बुढो बाख्री मर्ने वा मारिने गर्दछ, त्यसको छाला काढेर खलाँती बनाउने चलन हुन्थ्यो त्यो समय । आजकाल त आरन हराए र छालालाई हप्ता दिनसम्म माडेर खलाँती बनाउने चलन पनि हरायो । आजकाल जताततै हाते पंखाको नै प्रयोग गरिन्छ ।
नागा च्यादरको माखेसाङ्लोबाट उम्किएपछि बाको आरनको आधुनिकीकरणको सौर्यसपनामा म अहोरात्री खटिन थालेँ । बास्तवमा यो सौर्यसपनाको घनचक्कर “मर्ता क्या नहि करता” भन्ने हिन्दी मुहवारा जस्तै थियो । नोकरी गरौं, के नोकरी गरौं ? कुनै अनुभव छैन । कुनै इलम हातमा नभएको नाथेलाई कसले के नोकरी दिने ? श्रीमती पनि साथमा भएकाले होटेलमा गएर भाँडा माझ्न भएन ।
गुवाहाटी सिलाङ राजमार्गको बिस्तारको काम चलिरहेको थियो, त्यहिँ गएर ठेकेदारलाई काम देउ भन्न पनि भएन । किनकि मैले गर्न सक्ने भनेको गैती कोदालो समाउने मात्र हो । त्यो काम गर्न विगतको थोत्रो सानले दिएन । यसहिसाबले मेरो पक्षमा सम्पूर्ण विकल्पहरु बन्द थिए । किनकि विकल्पको निकासलाई चाहिने मुल तत्व धन रहेछ जो हामीसँग फुटीकौडी थिएन ।
सिलाङ नेपालीहरूको दोस्रो घरभन्दा पनि हुन्छ । हाम्रा थुप्रै आफन्तहरू सिलाङ्, त्योभन्दा माथि जोवाई, लाट्रुमबाई आदि ठाउँहरूमा सरकारी तथा खेतिपाती आदि काम गरेर बस्ने गर्दथे । जोवाईमा मेरा कान्छा बुढाबाका जेठा छोरा हामी नजन्मदैबाट मेघालय सरकारबाट सञ्चालित सरकारी कुखुरा फार्ममा चौकिदारी गरेर बस्थे । उनकी जेठी छोरी सुनकली दिदी हाम्रै दमालकी हुन् ।
जेठाबाआमा सिलाङ जाँदा उनलाई लगेर गएका थिएनन् । जेठा छोरा जसलाई हामीले गानेदाइ भनेर बोलाउथ्यौँ, उनीभने नेपाल सिलाङ गरिरहन्थे । अलि उमेर पुगेपछि कान्छाबाले स्कुल पढाउने नाममा भाडगाउँ घरमै बसाले । तर स्कुल पढ्ने मेसो भने मिलाइ दिएनन् । कलिलै उमेरमा उपल्लो तम्घासमा बज्यानाका सुनारकि छोरीसँग लगनथाँठो भने कसिदिए । म मिसनको छात्रवृत्ति पाएर पोखरा गएपछि भने दाइले भाउजुलाई एक्लै छोडेर जोवाई बाबुआमासँग बस्न गएछन् । धेरै वर्षको पर्खाइ भयो भाउजुको । तर दाइको कुनै अत्तोपत्तो नभएकाले भाउजुले अर्कै बाटो समाएको कुरो मैले लामोसमय पछि मात्र चाल पाएँ ।
सिलाङमा अरु पनि हाम्रा आफन्तहरू थिए । तिनैमध्ये एक बुढाघर माइला बुढाबाकी छोरीकि छोरी पनि सिलाङमा बस्ने गर्दथिइन । चलनचल्तीको नाममा उनलाई पिउली भनिन्थ्यो । प्रदेशमा टाढैको पो किन नहोस्, साइनो जुरेपछि यति नजिकको नाता बन्न जान्छ कि, भान हुन्छ एकै पेटका सन्तानहरू हौ । भुपुकि छोरी दिदी, फुपु दिदीको ज्वाई, प्रदेशमा पुस्ताको नाताको हिसाब गणना हुँदैन । यस्ता नाताहरू एकाघरका जस्तै दिलेरी बन्न जाने गर्दछन् ।
भिनाजुको मेघालय सेक्रेटरीयट भवनमा चौकिदारीको नोकरी थियो । उहाँले क्वाटर पनि पाउनु भएको रहेछ । सिलाङको जाडो बाह्रैमास खपिनसक्नु हुन्छ । त्यसमा पनि पुषमाघको महिनामा त बिना मकल बस्नै सकिदैन । एसीको चलन आइनसकेको हुनाले जताततै कोइलाको चुलो बाल्ने चलन थियो ।
छोटो परिवार थियो दिदी भिनाजुको । बेकामी भएर नङ्पो सिलाङ गर्दा तील कार्की, कुन्दन भट्टराई दाइहरूलाई मात्र कत्ति दुःख दिनु, कहिलेकाँही हामी बुढाबुढी नै दिदीभिनाजु खोज्दै सेक्रेटरी भवन पुग्थ्यौं र दुईचार दिन मफतमा मासुभात हसुथ्र्यौ ।
भिनाजुको खोजखबर पनि मैले बा मार्फत नै गरेको थिएँ । “हाम्रा नाताका मान्छे छन् सिलाङाँ, जाँदा पसेस् ठूला” बाले अर्ति दिँदै ठेगाना बताएका थिए । सिलाङका साथीहरू मार्फत उहाँहरूको खोजी गरेर साँच्चै एकरात बासबस्न पुगियो दिदीभिनाजुको सरकारी क्वाटर, मेघालय सेक्रेटरिएट भवनमा । एक रात के भन्नु त्यो एकरात मार्फत उहाँहरूलाई निकै धेरै रात सताउन सम्म सताइयो ।
मेरो हालत, बेरोजगारीको अवस्था, साथमा श्रीमतीको सिंगो जिम्मेदारीप्रति उदेक मात्र होइन, दया पनि जाग्दो हो भिनाजुको मनमा मनमा, एक दिन सुझाव दिँदै भन्नुभयो— साला, मेरो ठुल्ठुला साहेबसँग चिनापर्चि छ । उनीहरूले मैले भनेको मान्छन् । तिमी पढालेखा पनि रैचौ । मेघालय पुलिसमा भर्ति हुन मन छ भने भन । यसरी बुहारीलाई साथमा बोकेर कतिदिन भौतारिएर हिड्छौ ? साँच्चै सो समयमा सिलाङमा भनसुनको आधारमै सरकारी नोकरी पाउन सकिन्थ्यो ।
भिनाजुको मप्रतिको दयाभाव बहुतै जयाज थियो । नागा च्यादरको घरेलु उद्योगको महासपनाको दुखान्त कथालाई बढाइचढाइ सुनाइसकेको थिएँ मैले । “आ ! साला त्यस्तो काममा पनि हात हाल्ने हो त ? त्यो त मनिपुर(मणिपुर), नागाल्याण्डबाट भारीका भारी आउँछ । सिलाङबजारमा बिक्री हुनेभनेको याँ बुनेको कहाँ हो र ? सप्पै उतैटा आएको हो । सिलाङका खसियाले त यस्तो दुखिया काम गर्दैनन् । पानतामुल बिक्री गरेरै राम्रो कमाइ गर्ने मान्छेले काँ तान बुनेर बस्छन् ? तिमीजस्तो मान्छे पनि यस्तो नचाहिने भाउँतोमा लाग्ने हो त ? लोग्नेस्वास्नी भएर हिँडेका छौ । हेर्दा लइनछोकराजस्ता छौ । तानमा नागा च्यादर बुनेर कहिल्यै मेसो मिलाउन सक्ने थेनौ । ठिकै गरेछौ, त्यो काम नगर्ने विचार गरेर । अब खुरक्क मेघालय पुलिसमा भर्ति हौ । मैले साहेबहरूलाई भनिदिन्छु । फरक पर्दैन ।
सपनाको दोस्रो सिरानीको शिखरबिन्दु कृषि औजार कारखानाको सर्वेक्षणको खास समयमा आएको भिनाजुको यो अर्को रामबाण थियो । एक मनले भन्थ्यो, भिनाजुले भनेको कुरो ठिकै हो । यो बाणले सिकार ठहरै हुन्छ । नागा च्यादर, नागाल्याण्ड नै फर्कियो । कृषि औजार फर्केर कहाँ जाला ? त्यसको अन्दाज थिएन मलाई । कति पैसा चाहिने हो ? कारखाना खोल्ने जग्गाको मेसो कहाँ जुर्ला ? तर पनि मनमा उद्योग गर्ने अठोटले अंकुरण गरिसकेकोले भिनाजुलाई जवाफ दिएँ— पुलिसमा भर्ति हुने तपाईंको सल्लाह निकै राम्रो सल्लाह हो भिनाजु । सिपाहीमा भर्ना भएपनि हल्दार जमदार भइएला । पिनसिन पनि पाक्ला, तर भर्ना भएपछि त यतैको होइन्छ भिनाजु । बिसौ वर्ष पछि बल्ल नेपाल फर्किने कुरो हुन्च ।
“बेलाबेलामा छुट्टी त पाइहालिन्छ नि साला । सरकारी नोकरी भनेको सरकारी नै हो । पछि पिनसिन हुन्छ । बुढेसकालाँ बसेर खान पाइन्च ।” भिनाजुको कुरो सोह्रै आना सहि थियो । तर, मैले पार्टीलाई दिएको समयसीमा त जम्मा २ वर्षको थियो । दुई वर्षमध्ये एक वर्ष त उडन्ते सपनाको खेतीपाती मै गुजारी सकेको थिएँ । भिनाजुलाई यी सब कुरो बताएर, सुनाएर कुनै मतलव थिएन । किनकि पार्टी, क्रान्ति, सत्ताजस्ता उडनतस्तरी कुराहरू उहाँको समझदेखि परका कुराहरू थिए ।
तर पनि भिनाजुलाई केही न केही कुरा भनेर भर्तिको कुरोलाई विश्राम दिनु थियो र भने— म भर्ति हुन्न भिनाजु । मेरा हातका औला कमजोर छन् । कुनैपनि सामान बेसरी अठ्याएर समाउन सक्दिन । बरु ससानो आफ्नै पेसो गरेभने बढ्दै जाला । लेवर काम गरेँ भने नाइके, पेटी ठेकेदार हुँदै ठेकेदार बनुला । कारखानामा लेवर काम गरेँ भने काम सिकुला र आफै उद्यमी बनुला । “सालाको जो इच्छा” । भिनाजुको आतमा चोट पुग्यो सायद, मतिर हेर्दै नहेरी जवाफ दिनुभयो —पर्देशाँ आका छौ, जे गर्छौ कमाइको बाटो गर साला, अरु के भनम् मैले, तिमी आफै जान्ने छौ ।
यो आफै जान्ने छौ भन्ने भिनाजुको अभिव्यक्ति बास्तबमा महाब्यंग्य थियो । मआफै जान्नेसुन्ने, विवेकी भइदिएको भएत, वामदेव गौतमको उडन्ते क्रान्तिको सपनामा फस्ने थिइन । खुरुखुरु पढ्ने थिएँ र नेपाल मै कतै सरकारी जागिर पड्काइ सकेको हुने थिएँ ।
यी सपनाका तन्तुहरूले आकाशको निकै माथिसम्म उचाइ मार्न थाले । नागा च्यादरे उद्यमशिलताले सिलटिमुर खाएपछि बनेको कृषि औजार कारखानाको अर्को महान उडान भिनाजुको मेघालय प्रहरीमा भर्ना हुने र कालात्नरमा पेन्सन पकाउने सुन्दर सल्लाहले पनि रोकिएन ।
त्यो कारखानाको डिपिआर निर्माणमा म यसरी लागेँ, मानौ म हवाइजहाज निर्माणको विशाल कारखाना खोल्न गइरहेको छु ।
भाद्र १०, २०७९ बुटवल ।