Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सोमशर्माको सपना -दीपक विश्वकर्मा

सोमशर्माको सपना -दीपक विश्वकर्मा

नेप्लिज डायस्पोरा

१८, भाद्र २०७९
images
सोमशर्माको सपना -दीपक विश्वकर्मा

पाहुना लागेर कति दिन छाकटार्न सकिन्छ ? पार्टीसँगको आवद्धताको नातालाई भजाएर कति दिनसम्म साथीहरूलाई सताउन सकिन्छ ? मेरो पार्टी जीवनको इतिश्री भएको पनि लगभग वर्षदिन कटिसकेको थियो । पार्टीप्रतिको लगानी, त्याग भन्नेकुरो कास्की जिल्ला कमिटीलाई थाहा हुने कुरो भयो, भारतीय सुदूरपूर्वको मेघालय प्रदेशमा रातदिन खटिएर पार्टी निर्माणमा जुटेका कमरेडहरूलाई मेरो उपस्थितिको के अर्थ ? प्रवासी नेपालीहरूको सम्मेलनको समाप्ति र मेरो नागा च्यादरको महाउद्यमी बन्ने सपनाको विश्रान्ति पछि मैले पुनः केही गर्नुपर्ने थियो र त्यहि गर्नुपर्ने मेसोप्रतिको मेरो अभियान थियो आधुनिक कृषि औजार उद्योग ।


यद्यपि फलामे औजार निर्माणको आधुनिक प्रविधिसँग म त्यति जानकार थिइन । सेन्टप परिक्षापछि एस.एल.सी.को परिक्षा दिन स्कूलबाट विदा भएर दीपस्थिति काजी थकालीको घरमा डेरा लिएर बस्दाताका तत्कालीन नेकपा(माले)सँग मेरो भेट जुरेको थियो । त्यही दौरान कोर्स बुकको साथमा पढेको आमा उपन्यासले समाज परिवर्तप्रतिको मेरो धारणमा आमूल परिवर्तन ल्यायो । पावेलको उत्कण्ठ त्याग, मूलपात्र आमाको लगावले म यति आल्हादित हुनपुगेँकि स्वयम् आफूलाई पावेलमा रूपान्तरण गर्न तम्सिएँ । परिक्षाको समाप्ति पछि पनि मिसनले हरमहिना पाँच सय रूपैयाँ खर्चवापत दिने गर्दथ्यो ।

यसरी मफतमा प्राप्त भएको पैसा खाएरमात्र बस्नु हुन्न । आफैले पनि उत्पादनमा भाग लिनु पर्दछ भन्ने मलाई पार्टीमा समावेश गर्ने कमरेडहरूको महान भाउँतोमा लागेर एउटै क्लास तथा होस्टेलमा लगभग डेड वर्षसँगै बसेका साथी उत्तम सिल्पकारको दाजुको ग्रील उद्योगमा केही महिना काम गरेँ । भाउजुले जहिल्यै बिहानको खानामा रातीको बासी भात मिसाएर दिने कारणले सो उद्योमा लामो समय काम गर्न मन लागेर ।

सो बेला आजकालको जस्तो फ्रीजको फेसन कहाँ थियो र ? खानलाई त मलाई मिसनले दिएको पैसाले नै जतिपनि पुग्थ्यो । मत आफ्नै मेहनतमा उभिएर पक्का कम्युनिस्ट बन्ने ध्याउन्नमा थिएँ । त्यो उद्योगमा छोटो समय काम गरेँ । त्यही छोटो समयको कामगराइले ममा प्रविधिप्रतिको जानकारी विशाल हुनपुग्यो । यसैपनि सानै उमेरबाट बाले आरनमा काम गरेको देख्नुका साथै आफै पनि लाइमेलो गरेको कारणले फलामको काममा म त्यति अनजान थिइन । ड्रिल मेसिन, ग्रेन्डर मेसिन, वेल्डिङ र वेल्डिङ मेसिनबारे थपजानकारी साथीको दाइको चिप्लेढुङ्गे सोही ग्रील उद्योगले दियो मलाई ।

लामो समयको प्राक्टिसबाट कतिपय कुराहरू रगतको नाताजस्तो बन्दा रहेछन् । आधुनिक विज्ञानको भाषामा भन्ने हो भने पुख्यौली सीप जीनप्रवाहकोरूपमा स्थान्तरण हुँदो रहेछ, आउँदो पुस्ताको रगतमा । जीन हस्तान्तरणजस्तै हुँदो रहेछ, सीपको हस्तान्तरण पनि ।


हो, यहि एस.एल.सी.पछिको छोटो समयको फलामे कामको अनुभवले मलाई नङ्पोमा बाको आरनलाई आधुनिक कृषि औजार उद्योगको रूपमा विकास गर्ने हौसला प्रदान गरेको थियो । उद्योगको डिपिआर तैयार गर्दा मैले लगभग ५ वर्ष पहिले मित्र उत्तम शिल्पकारको दाजुको ग्रील उद्योगमा काम गर्दाको संझनाबिर्सना औजारहरूलाई दिमागमा राखेर खाका कोरेको थिएँ ।

प्रिय मित्र उत्तम तिमी कहाँ छौ ? थाहा छैन, मौका मिले भेटमा यो आलेखलाई तिमीलाई पढेर अवश्य सुनाउने छु ।

एकथान वेल्डिङ मेसिन, एकथान टेबल ग्रेन्डर मेसिन(सो बेला हाते ग्रेन्डर आइसकेको थिएन), एकथान ड्रिल मेसिन र सानाठूला घन, रेती, हावा दिने विद्युतबाट चलाउन मिल्ने पंखा, केही थान सनासा आदि औजारको सूचि समेटियो, मेरो डिपिआर भित्र ।


नीतिशास्त्रमा उल्लेखित सोमशर्माको कथाभन्दा पनि विशाल थियो मेरो धनदौलत आर्जन गर्ने सपना । यो सपनालाई महा जोडेर अतिरंजीत पनि गर्न सकिन्छ । सोमशर्मासँग त कम्तीमा सातु थियो एक हाँडी । मसँग त सातु के कुरो गर्नु, एकफाँक सातु बनाउने जौंको दानासम्म थिएन । बाको बिहानै देखिको आरनमा घन ठोकाइ, त्यसबाट आर्जन हुने सयपचास रूपैयाँ, त्यहि सयपचास आर्जनबाट जोहो हुने हामी ३ जनाको पाको गास, बालाई हरेक बेलुकी नभइनहुने पिरोपानीको नियमितता, कसरी संभव होला त दशौ हजार पूँजीको यो कृषि औजार उद्योग ? कहाँबाट जुट्ला त्यत्रौ लगानीको पुँजी ?

मेरा सम्पर्कका साथीहरू सबै जोगीजस्ता थिए, फुक्काफाम ।

सिलाङका साथीहरू सबैजसो सरकारी नोकरीदार त थिए, तर मसँग पैसाको सापटी चलाउन सकिने मित्रताको हैसियतमा थिएनन् । दाजु बाबुराम खनाल गुवाहाटी बस्नुहुन्थ्यो । उहाँको पनि सरकारी नै नोकरी थियो । उहाँसँग मैले मेरो योजना सुनाएर पैसा माग्ने हैसियत बनाएको थिइन ।

सो समय भनेकोे एकाध हजारमा बुटवलमा घडेरी खरिद गर्न सकिने समय थियो, बिना मेसोको मेरो लहडको उद्योग खोल्न उहाँहरूले पैसा लगानी गर्ने कुरो पनि भएन । दाजु रणबहादुर क्षेत्री र मोति पाण्डेले जनतन परिवार पाल्नुभएको थियो, उहाँहरूसँग त्यत्रो रकम माग्ने कुरो पनि भएन । के गर्ने त अब ? यी सबै उलझन, समस्या, उहापोहबीच दाजु रणबहादुर क्षेत्रीसँग सल्लाह लिँदा भन्नुभयो—मसँग त्यत्रो रकम हुने कुरै भएन कमरेड ।

हाम्रा सम्पर्कका सबै साथीहरू सानोतिनो नोकरी गरेर दिन काटिरहनु भएको छ । बरू तपाईं स्टेट बैंकमा गएर मेनेजरसँग सल्लाह गर्नुस् । सुनिन्छ घरेलु उद्योग स्थापना गर्न मेघालय गोभर्मेण्टले लगानी गरिरहेको छ । यहाँको बैंकको मेनेजर एंलो इण्डियन हुन् । सुनिन्छ उनी बहुतै दिलदार छन् । नेपालीहरूलाई निकै सहयोग गर्छन भन्ने पनि सुनिन्छ । तपाईं त्यहिँ जानुस् । बरू म साथमा गएर चिनाइदिउँला ।


कृषि औजार उद्योगको प्रारम्भिक रूपरेखा तैयार भयो । चाहिने सामानको लिष्ट पनि तैयार भयो । यसभन्दा अघि मैले हाइड्रोलिक घनको कुरो गरेको थिएँ । हाइड्रोलिक घन भनेको के हो भन्ने बारेमा लामो ब्याख्या गर्ने पर्दन । अहिले नेपाली कृषि औजार कारखानाहरूमा त्यो प्रविधि भित्रिएता पनि मेघालय राज्यमा अंग्रेजहरूको पालामै भित्रिएको थियो । एकपटक उद्योगको डिपिआर तैयार गर्ने दौरनमा औजारहरूको लागत मूल्य खोजी गर्दै सिलाङको बडाबजार पुगेँ म ।

यसै बीच कसैले सुनाएको थियो मलाई जोवाईभन्दा केहि पर खसियाहरूको आधुनिक आरन छ । जहाँ थोकको हिसाबले कृषि औजारहरू उत्पादन हुन्छन् । सिलाङ पुगेपछि जोवाई गएर फर्किन के भो र ? एक पन्थ दुई काज, त्यहाँ पुगेपछि कान्छा बुढाबातर्फका जेठाबा सित पनि भेट हुने, खसियाहरूबाट सञ्चालित आधुनिक आरनलाई पनि देख्न सकिने । बडाबजारको काम सकिओरी एक्कासी हानिएँ म जोवाई तिर ।


जोवाई पुगेँ म यस्तै दुईढाई बजे तिर । जोवाई बजारमा उत्रिएपछि जेठाबाको सोधखोज गरेँ । उनको ठेगाना बाले नै कुनै बसाइमा सिलाङमा रहेबसेका आफन्त दाजुभाइहरूको बारेमा कुरो गर्दा बताएका थिए । बाले बताएको ठेगाना पच्छाउँदै मैले स्थानीय खसियाहरूसँग सोधखोज गरेँ । उनीहरूले जेठाबालाई नचिनेता पनि सरकारी कुखुरा फार्म कहाँ छ भन्ने कुरो बताइदिए । त्यति जानकारी नै काफी थियो मलाई । उनीहरूले बताइदिएको स्थानतिर उकालो लागेँ म ।


जेठा बाको देहवसान भइसकेको थियो सायद । जेठी आमासँग मेरो भेट भएजस्तो लाग्छ, यद्यपि त्यस कुरालाई यकिनका साथ भन्न सक्दिन । निकै पुरानो कुरो भएकाले सबै कुराहरू संझनामा नरहँदारहेछन् । जे होस् आम प्रवासी नेपालीहरूको रहनसहन, लवाइखवाइ, चालचलन जो प्रचलनमा रहने गर्दछ, त्यो प्रचलनलाई उनीहरूको बसोबासको ढाचा, घरको बनावटले छर्लङ्ग्याउँथ्यो । भाइहरूलाई भेँटे । गानेदाइ होम गार्डमा भर्ना भएको कुरो थाहा लाग्यो । सुनकली दिदी पनि नेपालबाट सिलाङमै आएर दोस्रो घरजम गरेकी रहिछन् । सामान्य भलाकुसारी पछि उनीहरूलाई म यहाँसम्म आउनु परेको कारण बताएँ । उनीहरूलाई आधुनिक आरन कहाँ छ, भन्ने सामान्य जानकारी रहेछ । त्यहि सामान्य जानकारी मलाई महाजानकारीको रुपमा परिणत भयो । म उनीहरूसँग विदावारी भएर आधुनिक आरनको खोजीमा बस चढेर सिलाङअगरतला रोडमा चल्ने बस समाएर उकालो लागेँ ।


छोटो समयको बसयात्रा पछि आधुनिक आरन भएको ठाउँ आइपुग्यो । मेघालयमा प्रायः ठाउँको नाम उमबाट शुरू हुन्छ । उमसिङ, उमलिङ यस्तैयस्तै । मैले आसाम प्रवासको दौरानमा अनमोल एघार वर्ष विताएको ठाउँको नाम पनि उमबाटै शुरू भएकोछ । सायद सो ठाउँको नामको पछाडि पनि खासी भाषाको प्रभाव होला ।

आधुनिक आरन भएको ठाउँको नाम पनि उमबाट नै शुरू भएजस्तो लाग्छ । भान हुन्छ समयको बहावले मेरो स्मरणशक्तिलाई पनि बगाएर महासागर मै पु¥याइसक्यो । कालान्तरमा म संस्मरण लेख्ने हैसियत कायम गरूला भन्ने सोँच त्यो बेला पलाएको भए, सो बेलाका हरेक घटनावलीहरूलाई उतार्दो हुँ । र आज सानदार बृतान्त पेस गर्न सक्दोहुँ ।


सिलाङ, सिलाङबाट उकालो लागेपछि जोवाई, जोवाईमा रहेका मेरा कान्छाबुढाबातर्फका जेठाबाको परिवारसँगको भेट, त्यहाँबाट पनि अगाडि लागेर उमबाट शुरूहुने ठाउँमा रहेको आधुनिक आरनको खोजी । त्यो आरनमा काम गर्ने खासियाहरूको जाँगर, आधुनिक फलाम तताउने भट्टी र हाइड्रोकि ह्यामर दखेर तिनछक्क पर्दै म राती अबेर नङ्पो फर्किएँ । त्यो बेला रातको दश बजेको आसपासको समय भएको थियो सायद ।


अनिताजी पर्खेर बस्नुभएको थियो । बा दिनभरको घनठोकाइबाट लखतरान परेर मस्त निद्रामा थिए । उनलाई उठाएर म आएको जानकारी दिन उचित लागेन । खाना खाइओरी हामी पनि केहिबेर सोमशर्मे सपनाको खेतीपातीतिर लाग्यौं ।


२०७९ भाद्र १६
बुटवल ।

images
प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - ०८:१७:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend