एनआरएनए अमेरिकाको अब आफ्नै घर हुने भएको छ । भर्जिनियाको फेयरफ्याक्स काउण्टिमा एउटा कन्डोमनियमको खरीद प्रक्रिया अगाडी बढेको एनआरएनए अमेरिकाका पदाधिकारीले नेप्लिज डायस्पोरालाई जानकारी गराएका छन ।
"हामी कार्यसमितीका पदाधिकारीहरुले भर्जिनियाका सम्भावित घरहरु हेरेर एउटालाई रोजेका छौं र आईतबार राती बसेको आकष्मिक भर्चुअल बैठकले उक्त भवन किन्ने निर्णय समेत गर्यौं ।" एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदीले जानकारी दिनुभयो ।
तीन वटा विशाल कोठा र झण्डै ६० जना अट्ने हल वे भएको यस घरलाई २ लाख ८८ हजार मूल्य छ ।
खरीद गर्न लागिएको भवन हेर्न अध्यक्ष सुवेदी सहित बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, उपाध्यक्ष डिलु पराजुली र भर्जिनिया च्याप्टरका अध्यक्ष सुबोध रेग्मी लगायतका पदाधिकारीहरु हुनुहुन्थ्यो ।
भर्जिनियामा सक्रिय रियल्टर राम मिश्रले देखाएका विभिन्न व्यवसायिक प्रयोजनका घरहरु मध्ये एउटा घर एनआरएनए अमेरिकाको लागि सबै पक्षले उपयुक्त लागेर खरीद प्रक्रिया अगाडी बढाएको अध्यक्ष सुवेदीले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताउनु भयो ।
सोही बैठकले बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थलाई भवन खरीदका लागि आवश्यक रकम जुटाउने जिम्मा दिएको छ । बैठकले अर्थ संकलन समितिको संयोजक पन्थलाई बनाएको छ ।
"हामी उत्साहि छौं । म त तीन दिनदेखि यहि बिषयमा काम गरिरहेको छु ।" बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थले बताउनु भयो ।
भवन एक महिना मै खरीद गरिसक्ने योजना सहित काम द्रुतस्तरमा गरिने उपाध्यक्ष डिलु पराजुलीले जानकारी दिनुभयो ।
"यो एउटा अवसर हो । यसमा सबै पदाधिकारीहरु उत्साहका साथ लाग्नुभएको छ।" सचिव अनुप खनालले बताउनु भयो ।