बाह्र जना नेपाली महिला साहित्यकारको कृति ‘छोरीले जन्माएका आमाहरु’ सार्बजनिक भएको छ ।
"यस पुस्तक नेपालबाहिर बसोबास गरिरहेका बाह्रजना छोरीले लेखेका हुन् । उनीहरुले आमाका जीवनकथा समेटिएको छ ।" पुस्तककी लेखिका समेत रहेकी कल्पना तामाङ भनिन ।
यो पुस्तक आमाहरूको यस्तो जीवनी हो, जसमा आमाहरुले भोगेका विभिन्न पक्षबारे चर्चा गरिएको छ । समग्रमा त्यो बेलामा आमाहरुले देखेको, भोगेको, बाँचेको समाजको कथा छ । बाह्र जना आमाहरुको जीवनकथा पुस्तकमा समेटिएपनि यो पुस्तकले अहिले र पहिलेको समयलाई, महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको छ ।

यो पुस्तक विद्रोही एंव एकल आमाहरुको कथा भएको लेखक तथा अभियन्ता सन्तोष परियार बताउँछन् । उनले भने, ‘अब आमालाई सहनशीलतासँग मात्र सतही व्याख्या गर्नु उचित हुँदैन । आमा विद्रोही चेतका पनि हुन्छन् ।’
त्यस्तै, यो पुस्तक छोरीले जन्माएको आमाको बारेमा लेखिएको भावनात्मक संवेदन मात्र होइन नारीवादको सत्यतालाई उजागार गरेको सञ्चारकर्मी तथा वक्ता आरती चटौतले बताइन् ।
यस पुस्तकमा कमला न्यौपाने, कल्पना तामाङ, उमा शर्मा, मिरा बस्नेत, मन्जु थापा, कविता घिमिरे, तनुजा पोखरेल अधिकारी, जानु ओझा, ईन्द्र गुरौ, सन्जिता बराइली, निर्मल राइ र मोनिका आचार्यको संयुक्त लेखन रहेको छ भने यसलाई अक्षर क्रियसन्सले बजारमा ल्याएको हो ।
