कालान्तरमा यावत कुराहरु मिस हुँदै जानेछन् भन्ने कुराको भेउ आममानिसलाई सायद हुँदो हो त भोगाईका तमाम कुराहरुलाई अभिलेखीकरण गरेर राख्दो हो । स्वयम् आफुलाई मिस गर्नुभन्दा पहिले मान्छेले के के कुरा मिस गर्छ ? सबैकुरा मिस गर्छ । आमाको काख छोडेर पहिलो पटक निदाएको कोक्रो मिस गर्छ । कोक्रोमा निदाउनुभन्दा पहिले निद्रादेवीको आमन्त्रणस्वरुप आमाले गुनगुनाउने लोरी मिस गर्छ । चम्चा अथवा औलाको टुप्पोमा भात वा लिटोको गास सजाएर भुलभुलाउँदै खुवाउने“को खाइ को खाइ” लावन्यमय ममता मिस गर्छ ।

समय हो, कहाँ स्थिर हुन्छ र ? समय भन्नु नै मान्छेको उमेर हो । उमेर नदी जस्तै प्रवाहवान हुन्छ र हमेशा समुन्द्रमापनको कसमसमा लागिरहेको हुन्छ । यही कसमसको रफ्तारमा मानिसले सबैकुरा मिस गर्दछ । आफु जन्मेको मझेरी, आफु खाइखेलेको आगन, आफु बुर्कुसी मारेको बाटो दोबाटो, आफु ओहोरदोहोर गरेको पानीपदेरो, आफुले चरन गराएका डिङ्गाबाच्छा, सकिनसकी टुप्पोमा पुगेको खल्टुको रुख, घरको नजिकै बारीको डिलमा लहरै मौसमअनुसार पाकिरहने किम्बु, नास्पाती, मियाल, चुत्रो र काफलको अजंगको बोट ।
कम्बख्त उमेर यति निर्मोही किन हुँदो हो ? यस विषयमा चर्चा गर्नु विज्ञान विरोधी होइन्छ । उमेरको रफ्तार त जैविकीय सत्यता हो । जन्मिनु, उमेर बढ्दै जानु, जवान हुनु, बिहेवारी हुनु वा नहुनु, सन्तान हुनु वा नहुनु, नातिनातीना हुनु वा नहुनु, बावुआमाको पाइलो पच्छाउँदै सम्धीसम्धिनी बन्नु वा नबन्नु, उमेर ढल्कदै जानु, विभिन्न रोगब्याधीको प्यारो बन्दै जानु र अन्त्यमा यावत कुराहरुलाई आगतको बिरासतलाई सुम्पिएर स्वयम् मिस हुनु जीवनको भौतिकी अथवा परंपरागत कुरो गर्ने हो भने पञ्चतत्वमा विलिन हुनु हो ।
जीवनका अनेक आयम अथवा श्रृङ्खलाहरु हुने गर्दछन् । यी आयमहरुको मापनको दौरानमा नै मानिसले यावत कुराहरु मिस गर्नु पर्दो रहेछ । त्यो आयम भनेकै जीवन धान्ने मेसो हो भन्दा फरक नपर्ला । गाउँमै स्कुल खुलेको भए, हाम्रो उमेरका सबै साथीहरु गाउँकै स्कुलमा पढ्ने थियौं । महाविद्यालय वा क्याम्पस कलेजहरु खुलेको भए, सक्नेजति सबैले गाउँमै उच्चशिक्षाको ढोका चहार्ने थियौं । गाउँमै रोजगारीका अवसरहरु जुटेको भए युवाहरु गाउँमै रहनेबस्ने थिए । सबैको गाउँ बसाइले गाउँनै रमणीय हुने थियो । दुर्गे, छत्रे, काले, गोरे, बीरे, नन्दे, फर्से, रामे, श्यामे सबका सब मित्रभाइबन्धुहरु भागुन महिनामा ढाँडा, रोलखोलाको वारीपारी भएर आमा चकारेर सुमुधुर फागु खेल्ने थिए, चैतेदशैमा कोट मन्दिरमा भाकलस्वरुप कुखुरा, राँगापाडा र कालो बोकाको बली चढाउँथे । तीजमा माइत आउने चेलीलेमात्र रोटे, लाठोपिङ खेल्ने थिएनन्, चर्खेपिङ, लाठेपिङलाई हुत्याउन युवाहरु तछाँडमछाड गर्ने थिए ।
धेरै कुरा मिस ग¥यो गाउँले । जहाँ हामी चङ्गा उडाएर दशैको स्वागत गर्ने गथ्र्यो, त्यो ठाउँमा आज मन्दिर बनेको छ । जहाँ बसेर दिदीबहिनी मनैछुने भाकामा भंगेरी चरीका गीत गाउँदै तीजको रौनकतामा चारचाँद लगाउँथे, ती चौर, चौपारीहरु भताभुङ्ग हुँदै जानअन्जानमा अतिक्रमित भएका छन् । विकासको भारी बोकेर डोजर गाउँमा के पसेको थियो, एकाध घण्टाको बाटो, पसिना काढ्ने मेसो, उकाली ओराली गरेर ज्यानलाई तन्दुरस्त राख्ने उत्तम उपायको थेरापी समेत मिस हुन गएको छ आजकाल ।
आजभन्दा २५ वर्षपहिले बालाई मिस गरे मैले । बालाई के मिस गरेको थिएँ, मेरा पुर्खाले आर्जन गरेर बालाई सुम्पिएको कलाकौशल, सिप, जोश, जाँगर सबका सब मिस हुँदै गए । अरु धेरै कुराको लागि होइन, जब एकाबिहानै ठेला वा साइकलमा बोकिएर हरियो मकै घर अगाडि आइपुग्छ, म बाले एकाबिहानै पुगेर आगो सल्काउने आरनको आगो संझिन्छु । गाईभैसीको निख्खर मलमा उमारिएको खाँटी मकैलाई आरनको भर्भराउँदो आगोमा पोलिएको एकहाते मकैको पुठोमा काठको झिर रोपेर हातमा थमाइदिएको संझनाले बेस्सरी मन पोल्छ र औडाहा हुन्छ । बा बाँचेकोभए नब्बेको हाराहारीमा पुग्नेथिए यतिबेला । आमा बिदा गरेको पनि भयो लगभग पाँच बर्ष । यी पाँच वर्षको दौरानमा होनीअनहोनी सब कुराहरु भए । छुट्टिभिन्नको नाउमा बाआमाको छालालाई चिराचिरा पारियो । मैले तराई सोमरे । दुःखको कुरो बाले पुर्खाबाट पाएको, उनको कमाईले जोरिएको एकबित्ता माटो पाउन सकिन मैले । आखिरमा सबैकुरालाई मिस गर्दै जाने हो जीवनमा । तर पनि बाआमाको ससनो चिनो मेरो भागमा परेको भए, त्यही चिनोको निहुमा बेलाबखत गाउँ भेट्ने जाँगर चल्दो हो ।
पाँच वर्ष पहिले आमा गुमाएँ मैले । त्योभन्दा पहिले भाइबहिनी गुमाएँ । बा त पहिल्यै गए । तर, आमा जीवित छँदै भाइबहिनी गए, आमाको लागि यो मुटुको ब्यथा बन्यो । भाइभन्दा बहिनी गएको पिरलोमा आमा भक्कानिन्थिन् । कलकत्ताबाट पानीजहाजको सफर नै दुईचार दिनको बाटो काटेर जानु पर्ने कालापानी नजिक होइन । त्यतिटाढाबाट बहिनीको असमय मृत्युको खबरले हामीसबै मर्माहत भएका थियौ । आफ्ना पोकापन्तुरामा कालापानीबाट बहिनीले पठाएका फोटाहरु संजेर राखेकी थिइन उनले । बेलाबखत तिनै फोटाहरु नियालेर उदास हुन्थिन् र भक्कानिन्थिन् । मृत्यु कसैको बसमा हुँदैन । तर पनि आफुभन्दा पहिले सन्तानको अवसान हुनुभनेको बहुत पीडादायी हुँदो रहेछ ।
पर्देश लाग्नु रहर मात्र होइन, बाध्यता पनि हो । कुनै जमानामा यो सानसौकतको विषय पनि हुने गर्दथ्यो । यद्यपि यो बाध्यता कहिलेकाँही मानिसको आदत बन्दोरहेछ । दिल्ली आसाम हुँदै अरुणाचल प्रदेशमा केही वर्ष बस्दा पनि प्रदेशिनुको प्यास मेटाउन सकेन साइलो भाइले । हातमा मनग्ये सीप हुँदाहँदै पनि सउदी पुग्यो र पुगेको दुईचार वर्षमै पारिवारीक मोह त्यागेर अनन्तयात्रामा निस्कियो । दुईदुई जना सन्तान लगुमाउनुको गहन पीडा भोगिन् आमाले र आफै पनि अनन्तयात्रामा निस्किइन् ।
जन्मेको घर तबसम्म रमाइलो लाग्दोरहेछ, जबसम्म बाआमा जीवित हुन्छन् । एउटा बहाना बन्दोरहेछ, वर्षदिनमा भएपनि घरआगनमा टुप्लुकिने । जस्तो छ, जुन हालतमा छ, घर घर नै हो । उध्रिएको आगन, चुहिने छानो, ढल्न थालेको ओसारी, खाल्डाखुल्डी परेको पिँडी जस्तोसुकै पो किन नहोस् बाआमाले मझेरीबाटै “आइस् ठुला” आवाजको आनन्द मैलेमात्र होइन, सबैले अनुभूत गरेको हुनु पर्दछ । यी सबैकुरा पनि समयक्रममा मिस हुँदा रहेछन् । सायद जीवनको प्रवाह भनेको नै यही होला ।
कतिपय कुराहरु जीवनप्रयन्त नासोकोरुपमा रहँदा रहेछन् । दुईहातको करेसोमा सातआठ फुटिया लौरो आँखाले भेउ पाउनै नसकिने रफ्तारमा घुमाउन सक्ने मठारेदाइलाई बहुत पहिले मिस ग¥यो हाम्रो टोलले । कानपुरमा बास थियो उनको । देख्दै खाइलाग्दी पञ्जावन भाउजुलाई बिहे गरेर गाउँ ल्याएका थिए उनले । एउटै खलक भएको नाताले उनको बास बुढाघरमा हुने गर्दथ्यो । उनलाई हेर्न, उनीसँग बातमार्न मान्छेको भिड लाग्दथ्यो । मठारे दाइ जेठा थिए । भारतीय सरकारी कर्मचारी माइलादाइलाई गाउँले मिस गरेको पनि दशक पुग्यो ।
“नाम्रा लुगा लगार गतिलो फुटो आउन्न माइल्बा । जस्तो लुगा लाछौ, त्यस्तै उभिउ” भन्दै हामीसबैलाई पहिलोपटक क्यामरामा कैद गर्ने साइलादाइलाई त्यस पछि देखिएन । सबैको जायजन्म भएकै थिएन, दिदी म र माहिलीसाहिली बहिनी सहित खिचेको त्यो ऐतिहासिक फोटो दाइका सन्तानहरुसँग आज पनि सुरक्षित होला ।
गाउँटोलका धेरै युवाहरु भारतीय पल्टनमा भर्ति भएका थिए । हाम्रा कान्छाबा नै पल्टनीया हुन् । तर हामी सानै हुँदा उनी भर्ती भएको हुँदा उनको चमकको सम्झना भएन । तर गाउँको सिरानका गिरिप्रसाद बुढाथोकी र मोतिदाइ, प्रेमबहादुरदाइको बेग्लै सान थियो । जव पल्टिनीया कम्मरबन्दी बाँधेर दशैको सराँय खेल्न जान्थे, त्यो सानको बखान गर्ने शब्दनै फेलापार्न सकिदैन । मनोरञ्जनका सिमित तौरतरिकाहरु थिए त्यो बेला । प्रायः गरेर सराँय बेलुकी रातपरेपछि शुरु हुन्थ्यो । सरायँको समाप्ति पछि खुकुरी नाच हुन्थ्यो । खुकुरी नाच नाच्न पल्टनीयहरु बाहेक अरुले सक्ने कुरै भएन । हो, त्यही खुकुरी नाचको अनमोल सिप भाडगाउँहरुले देख्न पाउने छैनन् अब । किनकि सबैका प्यारा मते अथवा मोतिबहादुर विश्वकर्मा दाइलाई मिस गर्न पुगियो यसपाली ।
जीवनी, बृतान्त, इतिहास लेखिने भनेकै शक्ति र सामथ्र्यवानको मात्र हो । भाडगाउँले केही अनमोल मोतिरन्तहरु पाएको छ । डाक्टर टिकाराम पन्थी भाडगाउँका सान हुन् । उनको इतिहास लेखिएला । तर गाउँका मुखिया गणेशबहादुर बस्नेतका छोरा, कुनै जमानाका जिल्लाकै होनहार फुटवल खेलाडी ठगबहादुर बस्नेत दाजुको इतिहास कस्ले लेख्ला ? सन्देह लाग्दछ ।
सानैमा बाआमा गुमाएता पनि कान्छाबुढाबाको पालनपोषमा हुर्किएका मोतिदाइ उमेर पुगेपछि पल्टनीया भए । हामी सानो छँदै भुजेलखर्क चुदाँरा खलककी छोरी तीलकुमारी चुदारासँग घरजम जोडेका दाइका घरआगन ढाक्ने सन्तान भए । जेठो छोरा शारीरिकरुपमा अपाङ्ग थिए । उनलाई हुर्काउन दाइभाउजुलाई पक्कै साह्रो भयो होला । तर अरु छोराछोरीहरुलाई हुर्काउन बढाउन उहाँहरुलाई मेरी बाबै गर्नु परेन । छोराछोरीले पनि बाउआमाको इज्जत राखे । छोराहरु जगत, विनोद, दीपक एवम् छोरीहरु मिना, शान्ति र नानातिनाको मुख हेरेर भाउजुले दिन काट्नु पर्ने छ अब ।
दाइ, अब हामीले तपाईंको खुकुरी नाच सधैको लागि मिस गर्नेछौं । हार्दिक श्रद्धाञ्जली।
२०७९ भाद्र ३१
बुटवल ।