Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खुशीका खुड्किलाहरु -दीपक विश्वकर्मा

खुशीका खुड्किलाहरु -दीपक विश्वकर्मा

नेप्लिज डायस्पोरा

७, आश्विन २०७९
images
खुशीका खुड्किलाहरु -दीपक विश्वकर्मा

नेपाल कहाँ छैन ? संसारको हरकुनामा नेपाल छ, किनकि त्यहाँ नेपाली छन् । जहाँ नेपाली छन् त्यहाँ डोको छ । नाम्लो छ, पटुका र मजेत्रो छ । फुली छ, मुन्द्री छ र बुलाकी छ । हुक्काको टरटर, भुरुवा चिलिमको सर्को, अगेनो, अगेनाको डिल र मझेरी एवं चुलोचौक छ । सबभन्दा ठुलोकुरो सरसापटी ऋणधनको महाजंजाल छ । कमाउनेले ब्याजमा सापटी चलाउने परिपाटी छ । बेसरी चिनेका र एकै गाउँठाउँकालाई “यहाँ सकिनभने नेपालाँ भएको सुर्को बेचेर तिरम्ला कान्छा” भन्ने सर्तमा सरसापटी चलाउने परिपाटी छ ।


नेपालीहरु ऋणसँग कहिले डराएका छन् र ?


अन्नतः नङ्पोस्थित भारतीय स्टेट बैंकमा रविन्द्र विश्वकर्माको नाममा मेरो खाता खोलियो । बैंकबाट ऋण प्राप्त गर्ने यो पहिलो खुड्किलो थियो । बैंक मेनेजरले मलाई दिएको सुझाव अनुसार प्रथमतः बैंक एकाण्ट खोल्ने, दोस्रोमा गाउँबुढाबाट बसोबासको सिफारिस बनाउने र तेस्रो थियो नङ्पो इलाका प्रशासनबाट उद्योग स्थापनाको लाइसेन्स बनाउनु पर्ने । त्यो सबै गर्नुभन्दा पहिले उद्योग स्थापनाको उद्देश्यलाई स्पष्ट खुल्नेगरी ऋण मागको बेहोरा सहित निवेदन दिनु पर्ने ।


उपरोक्त कुराहरु यहाँ भन्दालेख्दा निकै सहजजस्तो भान हुन्छ । मेरो लागि सबभन्दा गहन कुरो त निवेदनको लेखनको कुरो नै थियो । खास भन्ने हो भने कुनै सरकारी निकायलाई सुविधा माग गरेर निवेदन लेख्न मलाई कहिल्यै परेन । साधारण एसएलसीसम्म पढेको म मनुवाले बास्तवमा भन्ने हो भने निवेदनको ढाचा नै खुट्याउन सक्ने खुबी राख्दिनथे । नेपालीमा लेख्न परेकोभए त तै विशेष, जनतन लेख्दो हुँ । यहाँ त भाषा अंग्रेजी प¥यो, जहाँ मेरो बसको कुरो थिएन । यद्यपि रणबहादुर दाइको सहयोग लिन नसकिने होइन । उहाँसँग सहयोग लिन मनले मान्दै मानेन । किनकि अंग्रेजी माध्यम नभएपनि बोर्डिङ्ग स्कूलबाट एसएलसी गरेको ध्वाँस कुरैकुरोमा मैले अनेकपटक देखाइसकेको थिएँ ।


अंग्रेजीमा निवेदन लेख्नु मेरोलागि गाह्रो अवश्य थियो । तर त्योभन्दा मुस्किलको कुरो त गाउँबुढाबाट बसोवासको सिफारिस र ईलाका प्रशासनबाट उद्योग स्थापनाको सरकारी लाइसेन्स प्राप्त गर्नुथियो । लाइसेन्सको कुरोलाई थातिराखेर थोरै कुरो गाउँबुढाको सम्बन्धमा गरौं ।


मेघालय राज्य उत्तरपूर्वी भारतको एक स्वशासित राज्य हो । अंग्रेजीमा यसलाई अटोनोमस स्टेट भनिन्छ । मेधालय बन्नुभन्दा पहिले यो राज्य आसाम राज्यअन्तर्गतको एकभाग थियो । सन् १९७२ सालमा केही जिल्लाहरुलाई अलग गरेर यसको गठन गरिएको हो । भारतीय संवैधानीक सीमाभित्र रहेर मेघालय राज्यका आफ्नै कानुनहरु रहेका छन् । शासकीय स्वरुप भने अन्य प्रान्तको जस्तै हो । लोकसभा, विधानसभाको चुनावको प्रक्रिया अन्य प्रान्तको जस्तै हुन्छ ।

विशेषगरी जमीनको स्वामित्व सम्बन्मा संघीय कानुभन्दा मेघालय राज्यको कानुन लागुहुन्छ । गारो, जयन्तीया र खासी हिल्स गरी तीन जिल्लामा यस राज्यलाई विभाजन गरिएको छ र सिलाङ यसको राजधानी हो ।


गाउँबुढाको निकै ठूलो अधिकार हुन्छ मेघालयका गाउबस्तीहरुमा । उनको निर्णय र आदेशलाई सरकारले पनि काट्न सक्दैन । कुनै जमानाका हाम्रै देशका मुखियाको हैसियत भन्दाबढी हैसियत राख्ने गर्दछन् मेघालयका गाउँबुढाहरु । खरिया फाँडेर किसानी गर्न, गाईगोठ राख्न, जग्गा आवादी गर्न गाउँबुढाले इजाजत दिएपछि गाउँसमाज कसैको विरोध रहँदैन ।

चिनेजानेको भरमा, जानपहिचान र विश्वासिलो मान्छेको सिफारिसमा निश्चित दस्तुर लिएर उनीहरु जोकोहीलाई पनि स्थानीयताको प्रमाणपत्र दिने हैसियत राख्दछन् । मेरो स्थानीयताको प्रमाणपत्र पनि बहुतै सजिलो तरिकाले बन्यो।

एक बिहान दाजु रणबहादुर क्षेत्रीले मलाई साथमा लगेर जानुभयो गाउँबुढाको घरमा र खसिया भाषामा मेरो बखान सहित बसोबासको कागज पनि बनाइदिनु भयो । गाउँबुढाले रणबहादुर दाइजस्ता मान्छेको कुरो नमान्नेभन्ने कुरै थिएन । साधारण २०÷२५ रुपैयाँ दस्तुरमा मैले लामो समयदेखि मेघालयमा बसोबास गरिरहेको प्रमाणपत्र प्राप्त गरेँ । बैंक मेनेजरले सुझाएका कागजपत्र मध्यको पहिलो कागत दाइको सहयोगमा जोगाड भयो ।


भनिन्छ, मान्छेलाई खुशी हुन ठुलो कुरो प्राप्ति हुनु पर्छ भन्ने नै हुँदैन । यद्यपि कृषि औजार स्थापनाको लागि मेरो अगाडि बहुतै बलिया तगराहरु तेर्सिएका थिए । ती सबै बाधाहरुलाई एकएक गरेर खोल्दै जानुपर्ने थियो । म त्यसमध्येको पहिलो तगारो खोल्न सफल भएँ र त्यत्ति सफलताले पनि मलाई अपार खुशी दियो । त्यो खुशीलाई सेयर गर्न मैले गणेश विश्वकर्मा दाइको नाममा एक लम्बेतान चिठी लेखेर त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा ठेगाना दर्ज गरेर रजिस्ट्रर गरेर पठाएँ । सो बेला उहाँले पाल्पामै बसेर उच्चशिक्षा हाँसिल गरिरहनुभएको थियो ।


गणेश विश्वकर्मा र म उमेरका हिसावले धेरैले जेठाकानछा छैनौ । उहाँका हजुरबुबा दिवंगत छविलाल विश्वकर्मा एक सचेत ब्यक्ति हुनुहुन्थ्यो । आफुले पढ्नु भएको थिएन । तर छोरा नातिहरुले पढ्नुपर्छ भन्ने उहाँको महान विचार थियो । स्कुल जाने उमेर पुगेपछि सातआठ वर्षको भएपछि हामी दुईलाई डोराउँदै महेन्द्र हाइस्कुल पुर्‍याउनु भएको आजपनि संझना छ ।

भाडगाउँबाट तम्घास पैदल हिँडेर आइजाइ गर्नु हामी दुईलाई महाभारत थियो । तर पनि कसै न कसैको साथ लागेर हामी सकुल आउँथ्यौं । हामीभन्दा पहिले भाडगाउँबाट तम्घास आएर पढ्नेभनेको दाजु ठगबहादुर बस्नेत हुनुहुन्थ्यो जो नामी फुडबलर बन्नुभयो । भारतीय सेनामा भर्ती हुनुभयो र असमय महायात्रामा पनि निस्कनु भयो । कांग्रेश नेता चन्द्रबहादुर केसी, शेरजंगबहादुर बस्नेत र डा. बाबुराम मरासिनीजस्ता अग्रजहरुको अर्को ब्याज थियो ।

बर्तमान समयका तम्घासका नामी ब्यापारी नन्दराम भुसाल पँदेलपोखरास्थित नाताका मामा नन्दराम पाण्डेको घरमा बसेर तम्घास पढ्न आउनुहुन्थ्यो । अरु दुईजना दाजुहरु मध्ये एक होमबहादुर टण्डन, जो पछि हेमन्त टण्डनमा रुपान्तरण हुनुभयो र नवलपरासी तिर बसाइ सर्नुभयो र अर्का दाजु फर्सबहादुर रेश्मीले स्कुले पढाइ सक्नु भएन र लाहुरे बन्नु भयो । हाम्रै कान्छाबुढाका जेठी छोरीका छोरा गोरख दाइले मामाघर बसेर पढ्नु भयो र बीचैमा पढाइ छोडेर सुनचाँदीको कारोबार गर्नतिर लाग्नु भयो ।


संगै हुर्कियौ गणेश दाइ र म । तीन कक्षासम्म सँगै पढ्यौं । तर तीन कक्षा पढ्दापढ्दै ममा गोठालो बन्ने र रनवन चहार्ने भुत सवार भयो । पढ्दै गरेको स्कुल च्यात्त छोडेर म गोठालो बने र एक थान गाईको पुच्छर निमोठ्दै ढाँडा, रोलखोलाको कुनाकाप्चामा जिब्रेसाग, गोब्रो च्याउ खोज्न थाले । यो गोठालो बनेर “गाईचराउनिम” भन्ने महाभुल नै मेरो जीवनको पहिलो भुल थियो ।

पढ्दै गरेको क्लास नहापेको भए, आठ कक्षा पढ्दै गर्दा मिसनको छात्रवृत्तिमा सामेल हुन सक्ने थिइन । किनकि मेरो कक्षा नौ हुनेथियो र गणेश दाइसँगै एसएलसी दिने थिएँ । सके कलेज पढ्दो हुँ, नसके कतै मास्टरी गर्दो हुँ ।

निःशन्देह कलेज पढ्दै गरेका होनकार विद्यार्थीहरुलाई वुर्जवाशिक्षा केही पनि होइन, यो त पुँजीपति र सामन्तहरुलेमात्र पढ्ने विद्या हो भनेर कलिला विद्यार्थीहरुको बुद्धी भुट्ने अधम नेताहरुको संगत पनि जुर्ने थिएन र मलाई यसरी भौतारिनु पर्ने पनि थिएन ।


मैले कृषि औजार स्थापना गर्न लागेको विवरण सहित गाउँबुढाबाट स्थानीय बसोबासको प्रमाणपत्र प्राप्त गरेको बेहोरा सहित लम्बेतान चिठी लेखेर पोष्ट गरेँ । प्रवेसिकातहको पढाइ भएतापनि समकक्षी साथीहरुको दाँजोमा नेपाली भाषामा मेरो राम्रो पकड थियो सो बेला पनि ।

एकपटक स्कुलबाट गाउँकै मित्र बाबुराम मरासिनीलाई स्कुलबाट चौधपन्द्र पेजको चिठी लेखेर पठाएको थिएँ । गणेशदाइलाई पनि अनेक कहानी जोरेर चिठी लेखेँ । बासँगको बसाइ, उद्योग स्थापनाको परिकल्पना, स्टेट बैंकमा ऋण प्राप्तिको लागि चालेको कदम आदि यावत कुराको बेलिवस्तार सहित ।


चिठी पोस्ट गरें नङ्पो इलाका पोस्ट अफिसमा गएर । म सयमा सय प्रतिशत ढुक्क थिएँ बैंकले ॠण दिने सम्बन्धमा । त्यसपछि म लागें इलाका प्रशासनबाट लाइसेन्स प्राप्तिको चक्रब्युहमा ।


असोज ६,२०७९
बुटवल ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - २०:२२:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend