दर्पण तिमिल्सिना
ओस्लो, नर्वे
हेल्पिङ्ग ह्याण्ड्स फर नेपाल, नर्वेको बार्षिक साधारण सभा तथा चौंथो अधिबेसन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिनोद बस्यालको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गोरख चन्द प्रमुख अतिथी तथा प्राध्यापक डा बिशाल सिटौला बिशिष्ठ अतिथि रहनु भएको थियो। कार्यक्रममा नर्वे स्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
हेल्पिङ्ग ह्याण्ड्स फर नेपाल, नर्वेले नेपालका सामुदायीक विद्यालयमा अध्यनरत न्युन आय भएका बिध्यार्थिहरुलाई बार्षिक रुपमा सहयोग गर्दै आएको छ। कार्यक्रममा महासचिब सरला कट्टेलले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अहिलेसम्म नेपालका विभिन्न जिल्लाका सामुदायिक बिद्यालयमा अध्यनरत २४० बढी बिध्यार्थिहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराएको जानकारी दिनुभएको थियो। संस्थाका सदस्यहरुले दिनको कम्तिमा १ क्रोनर (बार्षिक ३६५ क्रोनर) संस्थाको कोषमा जम्मा गर्दै आएका छन्। साथै नर्वेमा रहेका विभिन्न सहयोगीहरुले स्वतस्फुर्त रुपमा संस्थालाई निरन्तर आर्थिक सहयोग गर्दै आएका छन्। कोषाध्यक्ष राजु धितालले आयव्यय प्रस्तुत गर्नुभएको थियो।
संस्थापक अध्यक्ष गोरख चन्द ले संस्थाका सम्पूर्ण सदस्यहरुले निस्वार्थ रुपमा निरन्तर सहयोगको भावनाले लागिरहेको भन्दै कृतज्ञता व्यक्त गर्नुभएको थियो। साथै, उहाँले आर्थिक अभाव झेलिरहेका बालबालिकाको शैक्षिक क्षेत्रमा सानो भएपनि हालेमालो गर्न पाउँदा संस्थाको स्थापनाको उद्देश्य पुरा भएको भन्दै खुसि व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि बिशाल सिटौलाले सामाजिक सेवा भाव राखेर सहयोग गर्नेहरुको हात कहिले नि खालि नहुने भन्दै हेल्पिङ्ग ह्याण्डस फर नेपाल, नर्वेका सम्पूर्ण क्रियाशील सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

साथै कार्यक्रममा एन आर एन ए का उपाध्यक्ष राजन अधिकारी, प्रबासी नेपाली मंच नर्वेका अध्यक्ष मनोज अधिकारी, नेपाली पोर्चुगिज समाज नर्वे का महासचिब इश्वरी प्रसाद खनाल लगायतले नेपालका दुर्गम तथा पिछडिएका क्षेत्रमा रहेका सामुदायीक विद्यालयमा अध्यनरत गरिब तथा विपन्न बालबालिकाहरुलाई निस्वार्थ रुपमा सहयोग गर्दै आएकोमा संस्थाको उच्च प्रशंशा गर्दै आगामी दिनको शुभकामना व्यक्त गर्नु भएको थियो।
अधिबेशनले आगामी २ बर्षको लागि बिनोद बस्यालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा सरला कट्टेल, महासचिबमा तारणी पोखरेल, सचिबमा दर्पण तिमिल्सिना, कोषाध्यक्षहरु राजु धिताल र लोकेन्द्र कार्की, सदस्यहरुमा यम कटुवाल, दिपेन बिष्ट, एन पी तिमल्सिना, ज्ञानेन्द्र ढकाल, नारायण तिमिल्सिना, प्रतीक्षा खनाल, सबिना थापा, खेम भट्टराई, सुभेच्छा भण्डारी, बम कडायत र राजु राई चयन गरेको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिनोद बस्यालले यो बर्ष देखि एउटा नर्वेजियन संस्थाले नयाँ सम्झौता गरेको जसले केही विद्यार्थीको शिक्षामा कम्तिमा १० बर्ष शैक्षिक सहयोग पुग्ने बताउनुभएको थियो। सभालाई दर्पण तिमिल्सिनाले स्वागत मन्तब्य दिनुभएको थियो भने संस्थाका महासचिब सरल कट्टेलले कार्यक्रम संचालन गर्नुभएको थियो।
हेल्पिङ्ग ह्याण्ड्स फर नेपाल, नर्वे नेपालका बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्यले सन् २०१३ मा नर्वेमा रहेका नेपालीहरुले स्थापना गरेका थिए । नर्वेबासी नेपाली समुदायमा गैरराजनितिक रुपमा राम्रो प्रभाव पारेको यो संस्था गैरनाफामूलक सामाजिक संस्थाको रुपमा सन् २०१६ बाट नर्वेमा विधिवत रुपमा दर्ता समेत भएको छ। यस संस्थाले विभिन्न नेपाली चलचित्रहरुको प्रदर्शन र सदस्यता सहयोग शुल्क मार्फत उठेको रकमलाई नेपालमा पठाउने गरेको छ। साथै यस संस्थाले नेपालमा विभिन्न समयमा भएका प्राकृतिक एवं दैवि विपत्तिहरुमा समेत सहयोग गर्दै आएको छ।