Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्राण प्रतिष्ठा (लघु कथा) - राम लामा अविनाशी

प्राण प्रतिष्ठा (लघु कथा) - राम लामा अविनाशी

नेप्लिज डायस्पोरा

३, कार्तिक २०७९
images
प्राण प्रतिष्ठा (लघु कथा) - राम लामा अविनाशी
 

 

गाउँलेहरू सबैले आ आफ्नो गक्ष अनुसार चन्दा दिए । कृष्णले सबै पैसाको हिसाब किताव राखे । मुर्तिकारले मागेको रकम तिरेर पनि १० हजार उब्रीने भयो । पैसाको अभावमा जीवन र मृत्युको दोसाँधमा छट्पटाईरहेका आफन्तलाई सहयोग गर्न नमानेका नारायण प्रसादले पनि मुर्ति किन्नका लागि भने पैसा निकालेका थिए ।

 

सार्वजनिक डाँडोको टुप्पोमा कालिकाको मन्दिर बनाउँने भनेर वडाध्यक्ष धनराजले अनुमति दिए पछि पगोडा शैलीको मन्दिर पनि बनि सकेको थियो । मुर्तिकारले समय भित्रै मुर्ति तयार गरिदिए । सबै गाउँले उत्साहित हुँदै मुर्ति लिन गए । बाजागाजा सहित जय जयकार गर्दै मुर्ति ल्याएर मन्दिर भित्र प्रबेश गराईयो । गुरू महेश्वर पण्डित पुस्तक सहित सेतो गन्जी र धोतीमा त्यहाँ पुगि सकेका थिए । पण्डितको ५ वर्षीय छोरा पनि सँगै गएका थिए । महिलाहरू फूल, प्रसाद र नैबेध्य लिएर उपस्थित भएका थिए । प्राण प्रतिष्ठाको बिधि सुरू भयो ।

सँख घण्ट बज्दै थिए ।एकातिर नौमति बाजा बज्दै थिए भने अर्को तिर खैजडी मुजुरामा भजन घन्किरहेको थियो । त्यत्रो ठुलो भिड्भाडमा आफ्नो बुबालाई सबैले मान मर्यादा गरिरहेको देख्दा पण्डितका छोरालाई गर्व लागि रहेको थियो । पछि पूजा सिद्धिए पछि पनि पण्डितको हातले टिका चन्दन र चारू लगाउंन हातमा दक्षिणा निकाल्दै अघि सरि रहेका थिए । त्यो देखेर त झन म त ठुलो मान्छेको छोरो पो रहेछु भन्दै मनमनै प्रसन्न भए ।

पूजाको सबै काम सिद्द्गिए पछि सबै दुना टपरा खाली गर्दै पैसा खल्तीमा र दाल चामल छुट्टाछुट्टै झोलामा हालेर पण्डितले लिएर घर गए । घर पुगे पछि सुत्ने बेलामा छोराले सोध्यो “त्यो मुर्ति के को हो बुबा “? पण्डितले भने ” ढुङ्गाको ” । “ढुङ्गाहरू मुर्ति बनाउने चिज हुन्” भनी छोराले सोध्यो ? “सबै खाले चाहिँ होइनन् “भने पण्डितले ? “ए त्यस्तो कालो रङ्ग्को हुनु पर्छ हो मुर्ति बनाउनको लागि”?भनी जिज्ञासा राख्यो फुच्चेले । “होइन” भने पण्डितले । “आज के गर्नु भएको त्यो मुर्तिलाई” भनि फेरि जिज्ञासा राख्यो फुच्चेले ? पण्डितले भने “प्राण प्रतिष्ठा गरेको बाबु” भने ।” त्यो भनेको के हो बुबा ?”भन्यो फुच्चेले । “ढुङ्गाको मुर्तिमा प्राण हालेको” भने पण्डितले । “आजदेखि त्यो मुर्तिमा शक्ति पलायो । अब देखि मान्छेले मागेको बरदान दिन सक्छन् “भने पण्डितले । “मैले मागे पनि दिनु हुन्छ मुर्तिले” भनि प्रश्न गर्यो फुच्चेले ? “हो दिनु हुन्छ” भने पण्डितले ।

उसको मनमा दिनानुदिन जिज्ञासाहरू थपिँदै गैरहेका थिए । मेरो बुबामा कति ठुलो खुबी ! निर्जिव ढुङ्गाको मुर्तिमा पनि प्राण हालिदिन सक्ने । मक्ख पर्छ । आफूलाई अतिनै मायागर्ने आफ्नो रेखदेख गर्ने हजुर बुबाको एक दिन अचानक निधन भयो । गाउँका मान्छेहरू जम्मा भए । बिचराको प्राण गयो भन्दै रुने कराउंने गर्न थाले । ऊ दौडिँदै बैठककोठा भित्र गयो र बिजुलि अड्डामा कार्यरत आफ्ना बुबालाई फोन गर्यो र भन्यो । “बुबा छिटो आउनुस घरमा । हजुरको सख्त जरुरत पर्यो” । “किन बाबु ?”भनि पण्डितले सोधे । “हजुरबुबाको प्राण गयो भन्छन् सबैजना । हजुर छिटो आएर पूजा पाठ गरेर त्यो ढुङ्गाको मुर्तिमा प्राण प्रतिष्ठा गरे झै हजुर बुबाको शरीरमा पनि फेरि प्राण प्रतिष्ठा गर्नु पर्ने बेला भयो । त्यसैले कत्ति पनि ढिला नगरी आइहाल्नुस है बुबा ।” 

-अमेरिका

images
प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - ०७:१७:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend