म एक चमत्कारी जादु हुँ
वंशाणुगत रूप्मा सर्न सक्छु
तिम्रो आमाको दूधबाट सर्न सक्छु
तिमिले फेर्ने श्वास
तिमीले पिउने जल
तिमीले टेक्ने माटो
अनि
सर्न सक्छु तिमी बाँच्ने परिवेशबाट पनि
तिम्रो संस्कारबाट त सर्छु नै
सक्तैन रोक्न कसैले पनि
भगवान र राक्षस
पुण्य र पाप
स्वर्ग र नर्क
पुनर्जन्म र पूर्व जन्म
कर्म र अकर्म
तिम्रा सारा सीमाहरू
निर्धारण गर्छु मै
रोक्न सक्तैन क्वै
तिमीलाई सम्मोहित गराएर
तिम्रो अवचेतनमा बस्छु
तिम्रो जिन्दगीमा सफ्टवेयर बनेर
तिम्रो व्यवहारमा खस्छु
तिम्रो आँखामा दृष्टि बनेर बस्छु
मोक्ष प्राप्तिको लालसा देखाई
प्रेमले तिमीलाई झन्झन कस्छु
तिम्रो स्वत्व मेटेर
तिम्रो प्रकृति मेटेर
तिम्रै मस्तिष्क -सिंहासनमा बसी शासन गर्छु
म त केवल व्यापार हुँ
फैलिन पाए बाँच्छु
नत्र ता मर्छु
म तिमीलाई फुलाउन सक्छु
वा, फुल्न भुलाई कुहाउन सक्छु
तर तिमीलाई फुलाउने कि कुहाउने भन्ने कुरो
मेरो परिकल्पना गरी जन्माउने
मालिकको आदेशमा भर पर्छ
नत्र ता मेरो आफ्नै "धर्म " मर्छ
***
मैले गर्दा यदि तिमी फुल्नै सक्तैनौ भने
"सफ्टवेयर" परिवर्तन गर्नुपर्छ अब,
फुल्न- फकृन नै जन्मेको हो जीवन
किन एक्लै बाँच्छौ बनी जिउँदो शव ?
२०७९/८/२०