रबी लामिछानेको नागरिकताको मुद्दा हामी सबै बिदेशिएकाहरुको मुद्दा हो । यसको निरुपण सकारात्मक ढंगले गराउन सके हामी सबैको अधिकार र प्रतिष्ठा सँगै नेपालको भविश्य समेत सुनिश्चित हुनेछ । किनकी बिदेशिएका नेपालीसँग देश बनाउने तागत छ, यसलाई चानचुने नसोचौं ।
यस केशमा रबीले कहीं पनि त्रुटी गरेका छैनन् भनेर ठोकुवासाथ भन्न सकिन्छ बरु उनी धेरै धन्यवादका पात्र र प्रेरणाका श्रोत बनेका छन् । उनी अमेरिका आउनु गल्ती या अपराध थिएन । यहाँको बसाईलाई सहज बनाउन नागरिकता लिनु पनि स्वभाविक भो । उनी नेपाल फर्के पछि अमेरिकाको नागरिकता फिर्ता गरि दिएपछि नेपालकै र अन्तराष्ट्रीय कानुन अनुसार पनि स्वत नेपाली नागरिक भए । कुनैं पनि नागरिकलाई सेकेण्डभर पनि अनागरिक बनाउन पाईदैन ।
रबी हिजो भखर नेपाल गएर सांसद लडेका हैनन् र उनका यस्ता नागरिकता जस्ता षडयन्त्रकारी मुद्दा पनि कुनैं नौला हैनन । यो नागरिकता मुद्दा रबीको खुट्टा तान्ने षड्यन्त्र बाहेक केही पनि हैन । उनीबाट आज जनतामा जुन आशा पलाएको छ, यसलाई छेक्ने षडयन्त्र यिनकै लागी प्रत्युत्पादक हुने कुरामा कुनैं संका छैन । यो डर्टी गेममा यिनीहरु जति अघि बढ्छन् त्यति तिनले आफ्नैं सर्बनास निम्त्याउने छन् किनकी अब जनता सचेत भैसकेका छन् । सचेत मात्र हैन जागरुक पनि भैसकेका छन् ।
अमेरिकाको नागरिकता लिन नेपालको फिर्ता गर्न पर्दैन । नेपालको नागरिकता ऐनमा फिर्ता गर्न सकिने कुरा छ तर गर्नैं पर्ने भनेको पनि छैन र ब्यबहारमा कसैले फिर्ता गरेका पनि छैनन् । तर दोहोरो नागरिकताको ब्यबस्था नगरेको हुँदा अरु देशको नागरिकता लिएकाहरुले नेपाली नागरिकता र पासपोर्ट प्रयोग गर्नु गैर कानुनी हुन्छ । तर रबीले त अमेरिकाको फिर्ता गरिसकेका छन् । अब जबाफ दिनु पर्यो अमेरिकाको त्यागिसकेका रबी कुन देशका नागरिक हुन्?
एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको मुल नारालाई कार्यान्वयन गर्ने बेला आएको छ । यो रबीको मात्र ब्यक्तिगत बिषय नभएर यो सबै एनआरएनहरुको मुद्दा भएको छ । अब हाम्रो माँग हुनु पर्योः संबिधानले नैं स्पष्ट गरिसकेको राजनीतिक अधिकार बाहेकको दोहरो नागरिकताको सहज कार्यान्वयनको लागी कानुन बनोस् । रबी जसरी कोही आफ्नो मातृभूमिको सेवा गर्न फर्कन चाहन्छ भने अनेकखाले उल्झन हैन सहज ढोका खोलि दिनुपर्यो ।
बिदेशी नागरिकता नलिएका लाखौं नेपालीहरुलाई मताधिकारबाट बंचित गरिएको छ । उनीहरुको अधिकार स्थापित होस् र संबिधान संशोधन गरेर “राजनीतिकअधिकार बाहेकको” भन्ने बुदा फुँदा नजोडी बिदेशमा बस्ने नेपालीलाई पूर्ण रुपमा समान नागरिक ब्यबहार गरियोस् । हैन भने बिदेशमा बस्ने बितिक्कै नेपाल प्रतिको मायाँ कम हुन्छ र नेपाल बस्ने बितिक्कै उ देशभक्त हुन्छ भन्ने सिद्धान्तलाई प्रमाणित गर्नु पर्यो ।
युबाहरुको बिदेश पलायन नेपालको सबभन्दा ठुलो दुर्भाग्य हो । यसलाई हर हालतले रोक्नु पर्नेछ । रबी लामिछाने यो बिषयमा संबेदनशिल देखिन्छन् । उनले नेपाल गएर एउटा पत्रकारकै रुपमा पनि यस्ता धेरै कामहरु गरे, आवाजबिहिनहरुको आवाज बने । तर राजनीतिक फोहरबाट सिर्जित यो समस्या राजनीतिमैं प्रबेश गरेर मात्र गर्न सकिन्छ भनेर उनी अगाडी बढेको देखिन्छ । उनका कामहरुबाट उनले जन बिश्वाश जित्न थालेका छन् ।
अब उनलाई षड्यन्त्रबाट रोक्ने प्रयास हैन स्वस्थ प्रतिस्पर्धा गर्न तयार भए हुन्छ । भ्रष्टाचार मुक्त शुसासनका लागी यही संबिधान भित्र रहेर लडिरहेका रबी लामिछानेहरु नेपालका शत्रु हैनन् । बरु यस्ता धेरै रबीहरुलाई नेपाल फर्काउने र बिदेशिने क्रम रोक्ने बाटोमा लाग्नु नितान्त जरुरी छ । घृणित राजनीतिक स्वार्थ भन्दा माथि उठेर सत्य, न्याय र देशका लागी सोचौं ।
हामी एनआरएनहरुको आधिकारिक संस्था एनआरएनएले पनि आधिकारिक रुपमा बोल्ने र यो उठेको ज्वलन्त बिषयलाई निर्क्यौल तर्फ धकेल्न प्रभावकारी भुमिकामा अग्रसरता देखाओस् ।