टाढा कतै धर्ती र आकाश जोडिईरहदा
तिमीले त्यसलाई क्षितिज भन्यौ
मैले हो भनें
नजिक कतै तिमी र म जोडिईरहदा
तिमीले त्यसलाई प्रेम भन्यौ
मैले हो भने
नदीलाई देखाउँदै सम्झायौ
जीवन यस्तै हो फर्किन्न भन्दै
बादललाई औलाउँदै बुझायौ
केहीको अस्तित्व रहन्न भन्दै
तिमी संगै हुँदा सबै बुझेझैं लाग्थ्यो
नबुझे केही बुझुँला कुनै दिन लाग्थ्यो
त्यसै पनि तिमी जत्तिको ज्ञानी म कहिले नै हो र
नबुझ्दा केही के नै भो र
यस्तै भन्ने लाग्दा लाग्दै
खै के के संग को को संग भाग्दा भाग्दै
धेरै भयो केही बुझ्ने हुन लागिपरेको
तर तिमीले छोडेर गएको यतिका वर्ष पछि पनि
तिम्रो उस्तैखाले वास्ना बोकेर कसरी बहन सक्छ हावा
कहिले बुझ्न सकिन
माथि आकाशमा ताराहरुले टिलपिल गर्दा
तिम्रा ऑखाहरुमा मैले आफैंलाई देखें
म दंग परें
तल तलाउमा तिम्रो र मेरो छॉया नियाल्दा
तिमी र मलाई संगै देखें
म मख्ख परें
त्यही बेला तिमीले मलाई अंगाल्दा
पानीमा एउटै चित्र बनेथ्यो
न तिमी जस्तो तिमी, न म जस्तो म
समागम कस्तो बिचित्र बनेथ्यो
मेरो समर्पण, स्नेह, चाहाना, डर
सबै बुझेरै त होला तिमीले
उदाउँदो सुर्य देखाउदै बुझायौ
प्रेम र प्रकाश छेकिन्न भन्दै
अस्ताउदो घाम औलाउँदै सम्झायौ
अन्त्य पनि सुन्दर हुन्छ भन्दै
तिमी संगै हुदा सुरु होस् वा अन्त्य
सबै सबै भव्य लाग्थ्यो
हरेक प्रेमिल कथाहरु
एउटा पवित्र काव्य लाग्थ्यो
सबैचिज राम्रो लाग्दा लाग्दै
त्यो यात्रामा एक चिम्टी नथाक्दै
तिमीले साथ छोडेको
यतिका वर्ष पछि पनि
अझै उस्तै उदाउँछ घाम
तर उज्यालो किन छैन जीवन
कहिले बुझ्न सकिन
एक दिन दुई दिन गर्दै गर्दै
महिना बित्यो वर्ष बित्यो
जीवन भ्रम यो, सत्य मृत्यु
तिमीलाई त्यै सत्यले जित्यो
तिमीलाई हारेर पनि नहारेकी म
आज एक्लै बसेर नियालीरहें त्यही बिन्दु
जहॉ उस्तै गरि धर्ति र आकाश जोडिईरहेको थियो
र बुझाएँ आफैलाई त्यो क्षितिज हो भन्दै
मनले हो भन्यो
म मुस्कुराएँ
हेर्दा हेर्दै घाम अस्तायो
क्षितिज बिलायो
फेरि अचानक कतै उज्यालो आयो
अचानक केही बुझे झैं लायो
र अचानक सुरु भो यात्रा जीवनको
जसको गन्तव्य त्यही सत्य हो ।