Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

भन ! ए नायक ! (कविता) -सतीश चापागाई

भन ! ए नायक ! (कविता) -सतीश चापागाई

नेप्लिज डायस्पोरा

२९, पौष २०७९
images
भन ! ए नायक ! (कविता) -सतीश चापागाई

एक हुल मानिसहरुका बीचमा

तिमी थियौ

हुलका हुल मानिसहरुका बीचमा

म थिएं

तिमी भन्न आएका थियौ

म सुन्न आएको थिएं

तिमी बुझाउन आएका थियौ

म बुझ्न आएको थिएं

 

अचानक हामी

मुखामुख भयौं

तिम्ले मेरो परिचय माग्यौ

मैले तिम्लाई चिनिसकेको थिएं

आवश्यकताको सिद्धान्त

हाम्रो स्वार्थ मिलेर होला

तिम्ले मेरो हात माग्यौ

मैले तिम्रो साथ मागें

तिम्ले विचार दियौ

र, वन्दुक दियौ

मैले विश्वास दिएं

र, वन्दुक लिएं

 

म मेरो हुलमा गएं

र, तिम्रो लागि लडें

तिमी तिम्रो हुलमा गयौ

र, मेरो लागि लड्यौ

त्यसपछिका धेरै दिनहरुमा

हामी अनेक उतारचढावबाट गुज्रियौं

तिम्रा राम्रा नराम्रा खबरहरु

संचार माध्यमहरुबाट पाईरहेको हुन्थें

तर,

शरीरमा लागेका गोली र

छर्रा निकाल्न नपाएर

भौतारिईरहेको मेरो खबर

तिम्ले पायौ की पाएनौ

सोध्नै बांकी छ

 

अहिले त तिमी

देशको प्रथम व्यक्ति भएका छौ

मेरा निम्ति लड्दै गर्दा

आफै पो ठुला भएछौ

म त जहांको त्यहिं छु

तिम्रो सातपुस्ता पछिसम्मलाई

दिन फेरियो रे

मेरो सातपुस्ता अघिदेखिको

रिन बांकी नै छ

 

गास बास र कपास

तिम्रो सुरक्षित भो

कर्म, कर्म र आश

मेरो उस्तै छ

 

अब त तिमीले मलाई

भुलिसक्यौ होला

त्यतिबेला,

तिमीसंगै खिचेको

हाम्रो तस्विर

मैले मेरो घरको भित्तामा

झुण्ड्याउं की नझुण्ड्याउं ?

भन ! ए नायक !

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - ००:२६:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend