Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बिग्रेपछि बनेको सम्बन्ध (लघुकथा) -सपना रिजाल

बिग्रेपछि बनेको सम्बन्ध (लघुकथा) -सपना रिजाल

नेप्लिज डायस्पोरा

२४, फाल्गुण २०७९
images
बिग्रेपछि बनेको सम्बन्ध (लघुकथा) -सपना रिजाल


जय शर्मा लामो समयको सरकारी सेवाबाट अवकाश प्राप्त कर्मचारी हुन्। घरमा श्रीमती छोराछोरी, ज्वाइंचेला, बुहारी , नातिनातिना, भान्जभान्जी, आफन्ती सबैको मार्गदर्शक थिए उनी। समाजमा एक प्रकारको छवि बनाएका जय शर्मा सबैको एउटा विश्वसनीय पात्र मात्र नभएर कतिपयको त सहाराको रुपमा खडा छन अझै ।


पैत्रिक सम्पतिलाई गाउँबाट बजारमा सारेर नघटाइकन राखेका जयले आफू सरकारी सेवामा हुंदा भने एक इन्च केही जोड्न सकेनन्, न त काठमाडौं, पोखरामा घर नै जोड्न सके। उनलाइ लाग्थ्यो कि तलब भत्ता बाहेक ठगेर, भ्रष्टाचार गरेर आएको रकमले दुर्भावनाको जन्म हुन्छ, नकारात्मक प्रवृतिको विकास हुन्छ अनि परिवार लाई सुख दिन सकिंदैन। बुढेसकालमा दुख पाइन्छ। आफू सँगै काम गर्ने साथीले विभिन्न बजारमा घर ठड्याए। छोराछोरी बिदेश पढ्न पठाए। तर जयलाई लाग्थ्यो कि बिदेश जानू र उतै बसोबास गर्नु भनेको मातृभुमिको अपमान गर्नु हो।

त्यसैले आफ्नो छोरा छोरीलाई त्यही पाठ सिकाए। फलस्वरूप छोराछोरी पनि नेपालमै सगर्व आ आफ्नो रुचि र क्षमता अनुसारको काममा रहेका छन् ।


आनन्दको जीवन चल्दै थियो जयको एकदिन घरमा एकाएक कान्छो छोरा बुहारीले छुट्टै पकाएर खाने निर्णय गरेछन्। सबैजना मिलेर बसेको परिवार भित्र भित्रै टुटिसकेको रहेछ।

जयले बल्ल पत्तो पाउंदै थिए। सबै छोराछोरीको व्यबस्था मिलाइदिएर समाजमा सम्मानित जीवन बांँच्छु र शेष जीवन समाजसेवा गरेर बिताउंछु भनेर लागेका जय घरको यस्तो माहोलले गर्दा एकाएक झस्किन्छन्। बिस्तारै श्रीमतीबाट पनि अपहेलित महशुस गर्न थाल्छन् । 

बजारको घर, जग्गा आदि संपत्ती श्रीमतिको नाममा राखिदिएका जयलाई आफ्नो पैताला मुनिको जमिन भासिए झैं लाग्न थाल्यो । उनीले ठूलो डाँको लगाएर श्रीमती वा घरका कसैलाई हप्काउन चाहेनन्, सडकमा सुनाएर दुनियाँ हँसाउन जानेनन् ।

अहिलेसम्म सबैको समस्या समाधान गर्दै आएको ठूलो मान्छेले आफ्नो ब्यथा कसलाई भन्नू ? भने पनि बुझ्छ कसले? सबै टुलुटुलु हेरेर बसुन् भने सम्मान नै नभएको ठाउंमा कसरी बस्नू ? यावत् कुराहरुले उनीलाइ धेरै अन्तर्मुखी बनायो। आफ्नो मन मिल्ने, मनको कुरा बोल्न भन्दा अगाडि बुझिदिने साथीसंग पनि आजभोली सम्पर्क पातलो छ उनको।


जीवनमा कसैको भर पर्न नहुने रहेछ, आफैं दह्रो हुनुपर्ने रहेछ भन्ने कुरा राम्रोसंग अहिले आएर महशुस भएको छ जयलाई।

उनी घर छानोमा लगाएको टीनको पातोसंग आफ्नो तुलना गर्छन् । छानोको टीनले जाडो छेक्छ, चिसो छेक्दैन । घाम छेक्छ तर गर्मी छेक्दैन । पानी छेक्छ तर आवाज निकाल्छ । कुनै पनि मौसममा घरभित्र बस्नेहरुले टीनप्रती आक्रोश निकाल्छन् ।

ओत बनेका उनीलाई परिवारका केहीबाट यो बुढेसकालमा, पैसा

भन्दा पनि आफ्नोपनको जरुरी हुनेबेलामा थोत्रो टीन जस्तै बनाएकाले धेरै तनावमा दिनहरु धकेलिरहेका छन् । जयले अबको जीवन कसरी कटाउने भनेर ठ्याक्कै निर्णय लिन भने सकेका छैनन् ।


घरको पैत्रिक सम्पती पनि आफुले नलिने गरि छोराहरुलाई बांडिदिएका र आफुले सेवा निवृत्त हुंदा पाएको रकम पनि केही छोराको व्यापार बढाउनका लागि त केही समाजसेवामा खर्च गरिसकेका जय, अपनत्व नपाएपछि विवेकशुन्य अवस्थामा छन् ।

कसैको दुख देख्न नसक्ने उनलाइ आजभोली परेको पिडाको आंकलन गर्न बाहिरी सतहबाट हेर्ने मान्छेले सक्दैनन् ।


उनको मन यसरी अस्थीर छ हिजो आज । देवघाट गएर शेष जीवन बिताइदिने कि ? कतै मन्दिरमा पुजारी बनेर बसेर उतै हराइदिउं कि? कतै कसैले माया गरेर बाबाको दर्जा दिएर राख्ने परिवार पाए पनि उतै गएर बस्ने थिएं। आफुसंग बचेको अलिअली रकम उतै खर्च गर्ने थिएं बरु।


आफ्नै घरमा नअटाएका उनी अरुको घरमा अटाउंछु भनेर धेरै विस्वास गर्नपनि डराउंछन् ।

तर संयोग भगवानले सुने भनौं कि इच्छा पूरा हुने भो भनौं, कोहि छोरा जस्तै माया गर्ने भेटिएको छ भर्खरै । बुहारी, नातिनातिनाले पनि आदर गर्छ्न्, गएको बेलामा सम्मान गर्छन्, चाडबाड हजुर संगै मनाउने हो बाबा भन्छन्। माया कतैबाट महशुस गर्न नपाएको जयलाई पराइका यी शब्दले पनि भावविभोर बनाएकोछ। उनीहरुले शहरमा घर बनाउंदै रहेछन्, केहि रकम जयले त्यहाँ लगानी पनि गरे।

'डुबते हुए को तिनकेका सहारा' भनेजस्तो अब पारिवारिक अपमानित जीवन जिउन पर्दैन कि भनेर आशा गरेका उनी यो कुरा भए देखि पूर्ण विस्वस्त हुन भने सकेका छैनन ।

मनमा अनेकन सवालहरु दौडिरहेका छन्। कहिं न कहिं दुख पो पाइने होकि? धोका पो हुन्छ कि भन्ने मानसिक त्रासले सताइरहेछ।अन्तिम समयमा मान्छेको सहारा को भैदिन्छ भन्ने थाहा नै नहुने रहेछ। उनलाई ससम्मान अपनाउन चाहनेहरु को हुन्? कस्तो संस्कारबाट आएका आएका होलान्? के गर्छन्,? बच्चाको स्वभाव कस्तो होला? निस्वार्थ सेवा होला यो कलियुगमा ? कुन खालको स्वार्थले संगै बस्न खोजेको होला? अभिभावक मात्र मानेर, सम्मान सहितको सम्बन्ध निभाइदिए त हुन्थ्यो। नत्र कसो होला?

यस्तै यस्तै अनगिन्ती सवालहरुले आजभोली जय निकै तनावग्रस्त जीवन जिउन बाध्य छन्। मानिस बूढो हुनु अघि नै घर परिवेशले बूढो भन्दो रहेछ सायद ।


यो बुढेसकाल सार्है डर लाग्दो हुने रहेछ।

 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - ०९:२८:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend