"स्त्रिया चरित्रं, पुरुषस्य भाग्यम्ः दैवो न जानाति कुतो मनुष्यः"
महाभारतको यो श्लोकको अन्तिम वाक्यको अर्थ हो पुरुषको भाग्य देवताहरुले त बताउन सक्दैनन् भने मान्छेले त के बताउन सक्ला र ?
भाग्यको यो लीला गरिमामय राष्ट्रपति पदमा विजयी हुनुभएका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलको हकमा ठ्याक्कै लागू भएको छ ।
जीवनको करिब ८० वर्ष पुग्न लाग्नुभएका पौडेल बिहीवार सम्पन्न निर्वाचनमा अत्यधिक मतले राष्ट्रपतिमा विजयी हुनुभयो ।
विसं २०७४ सालको संसदीय निर्वाचनमा बूढा भनेर पराजय भोग्नुभएका पौडेलले आफ्नै पार्टीका समकालीन राजनीतिज्ञ शेरबहादुर देउवाले दुइपटक पार्टी सभापति र पाँचपाँचपटक देशको कार्यकारी प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गर्नुभयो तर पौडेल यी दुवै पदको उच्चासनमा बस्न कहिल्यै योग्य हुनुभएन वा उहाँलाई त्यो पदमा जान रोक लगाइयो ।
हो, उहाँले सभामुखको भूमिका पनि राम्रोसँग निर्वाह गर्नुभएको हो र उपप्रधानमन्त्री पदमा रहँदा पनि खासै विवादमा आउनु भएन । ती पदमा पुगेर पनि कलंकको टीका नबोकीकन बाहिर निस्कनसक्नु चानचुने कुरा हैन । तर अहिले जीवनको उत्तारार्धमा राजनीतिले कोल्टे फेर्यो र उहाँको भाग्य बल्झियो र राष्ट्रपति पदमा निर्वाचित हुनुभयो ।
अब केही दिनमा नै उहाँ बृद्ध काया बोकेर शीतल निवास छिर्नुहुनेछ ।
गणतान्त्रिक नेपालको लागि सर्वाधिक गरिमामय पद हो -राष्ट्रपति । भलै यो कार्यकारी पद होइन, तथापि राष्ट्रका पतिका रुपमा भएको यो निर्वाचनले उहाँलाई पुरस्कार दिएको छ, त्यो पनि छप्पर फाडके !
पौडेल नेपालको प्रजातान्त्रिक आन्दोलका एक योद्धा हुनुहुन्छ । विपी कोइरालाको प्रजातान्त्रिक आदर्शलाई मूलमन्त्रका रुपमा बोकेर करिब साँढे छ दशक लामो राजनीतिक यात्रा पार गरिसक्नुभएका पौडेल सादा जीवन र उच्च विचारका धनी एवं प्रजातान्त्रिक निष्ठा, त्याग र यसका मूल्य मान्यतामा सदैव अडिग रहनुभएको थियो । उहाँ स्पष्ट विचारका वाहक पनि मानिनुहुन्छ ।
पौडेल नेपालका समकालीन राजनीतिज्ञहरुमध्ये सर्वाधिक उँचो स्थानमा रहनुभएको कुरा सर्वविदित हो ।
२००७ सालदेखि प्रजातन्त्र, प्रजातन्त्र भनेर नथाकेका विपी, किसुनजी, गणेशमान, गिरिजा र मनमोहनले देशको कार्यकारी वा विशिष्ट पदमा पुग्ने अहोभाग्य प्राप्त गर्नुभएको थियो । सबैलाई उहाँहरुको योगदान कारण त्यो पदमा पुग्नुभएको हो ।
पौडेलले राजा महेन्द्रको १७ सालको कदमविरुद्ध करिब १५ वर्षको उमेरदेखि नै राजनीतिमा लागेर १४ वर्ष जेल जीवन बिताउनुभएको हो । पार्टीभित्र यदाकदा मर्यादापुरुषोत्तम रामको १२ वर्षे वनवाससँग पनि यसलाई हेर्ने गरिन्छ ।
अघिल्लो पुस्ताजस्तै पौडेललाई त्यसैको कारण जीवनको उत्तरार्धमा आएर यो एक उच्च पद प्राप्त भएको हो । यसमा हामी तनहुँबासी अझ बढी प्रफुल्लित छौँ । बृद्ध उमेरमा पनि तनहुँले उहांलाई ठूलो गुन लगाएकोछ । राष्ट्रपति वा प्रधानमन्त्री हुनसक्छन् है भनेर यस पटक तनहुँले यथेष्ट मत दिएको कुरा सोरै आना सत्य हो । र, त्यसको भर्पाइ कुनै हिसाबले चुक्ता गर्नुहुनेछ भन्ने विश्वास पनि छ ।
पौडेलबाट नेपाल र नेपालीले धेरै आशा गरेका छैनन् । नेपालको राष्ट्रिय एकताको प्रवर्धन, अन्तर्राष्ट्रिय सम्बन्ध, संविधानको पालन र संरक्षण उहांको प्रमुख काम हो । तथापि जनताले उहांबाट केही आशा भने गरेका छन् र ती जनताको आशालाई निराशामा परिणत नगराउनुहोला भन्ने अनुरोध छ ।
राष्ट्रपतिको त्यो गरिमा र इज्जत जोगाएर इमान्दारिपूर्वक अभिभावकीय भूमिका निर्वाह गरी किसुनजी जस्तै छाता, सुराही र ट्यांका लिएर निवृत्त हुनसक्नुभयो भने जुग जुगान्तरसम्म पौडेलको नाम नेपालीले भजिरहनेछन् ।
पौडेलप्रति जनताको मुख्य चाहना भनेको विद्यादेवी केपीको औँठाछाप नबन्नुहोस भन्ने नै हो । शेरबहादुर, प्रचण्ड वा केपीको प्यादा वा अनुचर हुनबाट जोगिए हुन्थो भन्ने नै हो ।
अनि अर्को चाहना राष्ट्रपतिका कारण जनतालाई दु:ख नहोस भन्ने हो । कतै जादा राजा महाराजा वा विद्यादेवीको जस्तो सवारी पौडेलले चलाउनु हुदैन । सवारीका नाममा आआफ्ना गन्तव्यमा हिँडेका जनतालाई सास्ती नदिनु पनि भावी राष्ट्रपति पौडेलको एउटा काम हुनेछ ।
जनताको ताली नपाएपनि गाली र श्राप मात्र नखानेगरी काम गर्नु राष्ट्रपतिका रुपमा पौडेलको अर्को महत्वपूर्ण काम हुने ।
विजयी भएपछि पौडेल पक्कै पनि सुन्दरीजल जानुहुनेछ, त्यहाँबाट फर्केर आउँदा विपीका विचार र उहाँका सिद्धान्तलाई अवलम्वन गर्नसक्ने गरी कार्य गर्नुपर्नेछ ।
जसरी पार्टी र देशको प्रमुख कार्यभार प्राप्त नहुने हो की भन्ने सन्त्रासका बीचमा देशको राष्ट्रपति बन्ने सौभाग्य पौडेललाई मिलेको छ त्यसरी नै पौडेलको अभिभावकत्वमा नेपाली जनताको भविष्य पनि बदलियोस । राष्ट्रपति पौडेलका लागि सफलतम् कार्यकालको शुभकामना ! भवतु सव्व मंगलम् !