"यसैपटकमा नाम निकाल्नु पर्छ नि। नत्र त मसँग हिंड्न पनि लाज हुन्छ। बेलैमा बुद्धि पुर्याउनू ।नत्र गाह्रो पर्ला।" दिपुले आफ्नी श्रीमतीलाई एक किसिमले धम्क्याउंदै थियो।
"मैले जागिर खान नसके हजुरले मलाई छोडिदिनुहुन्छ त?"
"हो।"
"उसोभए हजुरले जागिर खानेबेला मैले हजुरलाई गरेजति सपोर्ट गर्नू नि त मलाइ पनि। म पनि सकि पो हाल्छु कि ? यी दुईवटा बच्चासंग घर व्यवस्थापन, व्यवहार,इष्टमित्र सबैतिर सकेर अनि पढाइ पनि कसरी सक्नु के मैले ?"
" के रे के रे?मैले सपोर्ट गरिन रे?" यत्तिका पुस्तकहरु किनेर ल्याइदिएकै छु त,अब बसेर पढ्दा भै गयो त। के छ र ठूलो कुरा?"
"अनि सुन्नु न ! मैले नाम निकाल्न सकिन भने साँच्चै हजुरले मलाइ छोडिदिनुहुन्छ र?"
"लाटी! यत्ति पनि बुझ्दिन। मैले गाली गरेको शब्दले तिमीले ईख लिएर पढ्छ्यौ कि ? भनेर पो भनेको हो त! यही कुराले मन दुख्छ भने भन्दिन नि मेरी प्यारी।"
"अनि नाम?"
"निस्केन भने पनि तिमीमा भएको यो सबै खुबी र मलाई माया गर्ने त्यो मन कहिल्यै नबदलियोस्, लोकसेवामा नाम ननिस्के पनि मेरो जीवनको अन्तर्वार्तामा नाम निकालेकी छौ। म तिम्रो हरेक पाइलामा सँगै छु। ढुक्क हुनु ल सानी।"
"हजुरको यही माया, हौसला र उत्प्रेरणाले त आजसम्म म हरेक क्षेत्रमा सफल हुँदै आएकी छु। सायद यही हौसलाले यो क्षेत्रमा पनि म सफल हुन सकुँला कि ? हजुरजस्तो सहयात्री सबै महिलाले पाउन्।"
चापाकोट-८,स्याङ्जा