Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कहाँ सक्छु रमाउन? -डिल्लीराज अर्याल

कहाँ सक्छु रमाउन? -डिल्लीराज अर्याल

नेप्लिज डायस्पोरा

१६, चैत्र २०७९
images
कहाँ सक्छु रमाउन? -डिल्लीराज अर्याल


पिञ्जडामा छु पाउन्न घुम्न बाहिर निस्कन
घुम्छु, हेर्छु त्यहीँबाट टाढाटाढा म देख्दिन
हल्ला वसन्तको गर्छन् खुशी देखिन्छ बाहिर
मलाई लाग्छ के निम्ति गरूँ म पनि फुर्फुर?

जाडो याम बितेकाले वसन्त सक्छ आउन
पिपिरा वनमा सक्छन् नयाँ नयाँ पलाउन
वनमा कोइली सक्छ कुहू कुहू कराउन
पिञ्जडामा बसी मैले पर्छ आँसु खसाउन

सधै हुनुपर्‍यो बन्दी बन्यो रौरव जिन्दगी
कहाँ वसन्तको रुप देखी बन्न सकें खुशी
न भेटें फूलका बोट न भेटें पात, पालुवा
न भेटें उर्वरा माटो, भेटें मात्र म बालुवा !

लगाएँ जिन्दगी सारा मरुभूमि सजाउन
गुमाएँ थुनिई काल कहाँ पाएँ रमाउन !
जिन्दगीभर आएन बहार खै कतै किन?
सधै शीत तुषारोको भोगें ठिही प्रकम्पन

स्वाधीनता मिलेकामा होला वसन्त चिन्तन
म पराधीनको चिन्ता- मुक्ति, तोडेर बन्धन !
यो मेरो पिञ्जडा भित्र कहाँ वसन्त आउँछ?
घेरो टुट्छ कहाँ, अर्कै कहाँ पात पलाउँछ?

म चाहन्छु स्वयं यौटा राम्रो वसन्त ल्याउन
म चाहन्छु स्वयं तोडी पिञ्जडा मुस्कुराउन
म चाहन्छु स्वयं खुल्ला आकाशमा रमाउन
उम्की यो पिञ्जडाबाट डुल्न उद्यान,कानन

सकिंदैन भने त्यस्तो राम्रो वसन्त ल्याउन
सकिंदैन भने खोली पिञ्जडा, मुस्कुराउन
मैले शिशिरमै पर्छ भने दिन बिताउन
रित्तो वसन्तमा यस्तो कहाँ सक्छु रमाउन?.

images
प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - ०८:५२:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend