सुत्केरी व्यथाले आमा र भाईको ज्यान गएपछि लगभग म अनाथ भैसकेको थिएँ । सानीआमा ल्याएपछि न उनको ममता पाएँ न बाबाको सहारा नै । स-साना कुरामा पनि निर्ममतापूर्वक कुटिन, पिटिन र हकारिनु दैनिकी भयो । त्यही ईखले "बरू मर्छु तर फर्किन्नँ ।" भनेर ७ बर्षमै अचानक घर छाडी काठमाण्डौ आउने गाडीमा घुसेर बिरानो शहरमा आइपुगेँ । त्यहाँ तिनै बा-आमा र आफन्त पनि थिएनन् । कति दिन भोकै, रूँदै र अनिदै बिते । सडक बालबालिकाहरूसित मिसिएर फोहरमा प्लाष्टिक जम्मा गर्ने, फिरन्ते पाराले हिँड्ने, जेजे पाइयो खाने गर्न थालेँ । बेलाबखत पुलिस, पसलेहरूले लेखेटेर हैरान पार्थे । रछ्यानमा, पाटीमा अनि कति चोटी कुकुरसित गुँडुल्किएर रात कटाएँ । बा-आमा, आश्रय, समाजको अभाव खड्किरहन्थे । ती सारा समस्या, पीडा र संघर्षका कुराहरूले निदाउँदैनथेँ । बोरामा प्लाष्टिक बटुल्दै गर्दा एक दिन गाडीमा आएकी एउटी सुकिली महिलाले सोधिन् -
" ए बाबू ! तिम्रो नाम के हो ?"
" 'कैले' भन्छन् सबैले ।"
" कहाँ बस्छौ ?"
" जहाँ पुगिन्छ त्यहीं । घर भए पो ?"
" बा-अामा ?"
" छैनन् ।"
" तिमी मसित जान्छौ ?"
" जान्छु ।"
" यही फुच्चेलाई लान्छु हजुर । मेरो बाबुको तिर्सना पनि मेटिन्छ कोख पनि रित्तो हुँदैन । मेरा आँखा पनि रूझ्ने छैनन् । बेकार आई. भि.एफ.तिर नलागूँ अब । के भनिसिन्छ हजुरले ? "
"तिम्रो ममतालाई कसरी छेक्न सक्छु र ? हिँडाल उसोभए ।"
संयोगको त्यही भेटले मेरो जीवनकै कोल्टो फेरियो । नयाँ आमाको गाडीमा म धेरै ठाउँ घुमेँ । बिस्तारै स्कुल, कलेज सकाएँ, संस्कृति, ममता बुझ्दै गएँ । समयले नैतिकता, मानवीयता, करूणा इत्यादिका पाठहरू पढाउँदै लग्यो । त्यसपछि म शहरमा स्थापित भई सकेको थिएँ । आफूले भोगेका दु:खकष्टहरू सम्झिएर पनि सडक बालबालिकाहरू बटुलेँ र अनाथालय चलाउन थालेँ । बाबुआमाले छोडेका, द्वन्द्वपिडित, भुकम्पपिडित, कोही केही नभएकाहरूलाई साथ दिन थालेँ । एक दिन अनाथालयमै आएर पत्रकारले सोध्दै थिए - " तपाईलाई फलानो पार्टीको फलानो मन्त्रीको मद्दतले यहाँसम्म आएको भन्छन् नि ?"
लडुञ्जेल कसैले उठाउन्न उठेपछि जस लिन राजनीति जोड्नेहरू कहाँ हुँदैनन् र ? सोच्दै थिएँ भनेँ - " म मेरै दु:ख, समस्या र संघर्षले उठेको मान्छे हुँ ।"
" आफूलाई जन्माउने आमालाई कसरी सम्झिनु हुन्छ ?"
" मेरी आमाको मृत्युपछि सानी आमाले पनि त्यसरी नत्यागेका भए त्यतिका सास्ती नभोगेका भए पछि 'ममता' आमाको साथ नपाएका भए म यस अवस्थामा कसरी पुग्थेँ होला र ? वहाँहरूलाई सदैव प्रणाम गर्छु । मलाई जस्तो समस्या कसैले भोग्न नपरोस भनेर तिनै आमाको सम्मानमा अनाथालय खोलेर बिस्तार गर्दैछु । मेरा बा र सानीआमा पनि अब यही बस्ने कुरो भैसक्याछ । "
- कल्लाबारी, पाल्पा ।