Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सुनको चुरा बेचेर किताब छापें : वेदकुमारी

सुनको चुरा बेचेर किताब छापें : वेदकुमारी

नेप्लिज डायस्पोरा

११, बैशाख २०८०
images
सुनको चुरा बेचेर किताब छापें : वेदकुमारी

पाल्पा, १० बैशाख २०८० ।

चर्चित साहित्यकार वेदकुमारी न्यौपानेद्वारा लिखित नौ पुस्तक नौ वैशाख २०८० मा नौ जना महिलाहरूबाट एकसाथ विमोचन गरिएको थियो । विमोचनका लागि तयार पारिएको पुस्तक परम्परागत आमाहरूले बोक्ने गरेको जस्तै मौलिकता झल्कने थैलीमा सजाइएको थियो । नयाँ प्रविधि र नयाँ ढङ्गबाट सुरु गरिएको कार्यक्रमको मञ्चमा बस्ने सभाध्यक्ष, प्रमुख अतिथि र कृतिकारलाई नेपालमै फल्ने रुद्राक्षको मालाद्वारा सत्कार गरिएको थियो ।

साहित्यकार वेदकुमारी न्यौपानेद्वारा लिखित नौ वटा पुस्तक शनिवार एकैसाथ बनेपास्थित शब्द यात्रा प्रकाशनको सभाकक्षमा सार्वजनिक गरिएको थियो ।
उक्त कार्यक्रममा ४० वर्षपछि कखरा सिक्नुभएकी खुमादेबी पाण्डेले सुनाउनुभएको शिक्षा वर्धक कविताको सार: ‘छोराछोरी पढाउनलाई बाह्रखरी किने, बाह्रखरी किताब हेर्दै मैले अक्षर चिने । छोरा जति घर छोडेर टाढा पढ्न जान्थे, छोरीले त घर छोडेर जानै हुन्न भन्थे । सातबर्ष पुग्न नपाई वर्ष गन्न थाल्थे, सातवर्षको कन्यादानमा पुण्य मिल्छ भन्थे । पढ्नेलेख्ने बेला कठै पराइको घरमा, छोरीपरि विपत्तिमा बा आमालाई धर्म । ढिकी,जाँतो, दैलो कसिगर भ्याउने अधेरीमा, गाग्री बोकी पानी लिन जान्थ्यौ पँधेरीमा । बिहान भयो दाउराघाँस, दिउँसो भयो मेला, कलम लिने हातथे मेरा खन्दा पर्‍यो ठेला । यस्ता दिदी बैनी अरुपनि होलान्, पढ्न लेख्न नपाएर दुःख मानी रोलान् । हामीले पढ्न नपाएनी अब सबैले पढुन, नानीबाबु समान रुपले पढ्दै अघि बढुन् ।’

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा समाजसेवी सावित्री जंगम थापाले २०८० सालको पहिलो महिनाको ९ गते ९ वटा पुस्तक ९ जना महिलाहरूबाट विमोचन हुनु धेरै खुशीको कुरा हो । किताब भनेको एउटा दस्ताबेज हो । किताबमा त्यति बेलाको परिस्थिति, समाज सबैलाई झल्काउँछ । किताबले दिने ज्ञान अरुबाट प्राप्त गर्न सकिन्न । किताब लेख्ने व्यक्तिहरूलाई म धेरै सम्मान गर्छु भन्नुभयो ।


कृतिकार वेदकुमारी न्यौपानेले आफू निजामती कर्मचारी भएको बताउँदै साहित्य लेखन भनेको कसैले पहल गरेर लेखिने विषय होइन आफैबाट आउनुपर्छ । लेखनमा समय पुगेन भन्ने मान्छेहरूलाई समय पुग्ने हैन समय निकाल्ने हो भन्न चाहन्छु । यसअघि ७ वर्ष विदेशमा थिए कोरोना, डेंगु लगायतका समस्याको सिकार म पनि भए । म कोरोना लागेर धेरै गम्भीर अवस्थामा पुगे त्यतिबेला मलाई छोरा, छोरी, नाती, नातिनाको भन्दा पनि मेरो दिमागमा किताब छाप्नु थियो नसक्ने भए भन्ने त्रास पैदा भयो । त्यसैले मेरो यी ९ वटा किताब निकाल्न एकैपटक साहित्य जुर्‍यो भन्नुभयो ।

उहाँले किताब लेख्ने र छाप्ने काम त्यति सजिलो छैन । २०५२ सालमा 'अर्को एउटा विद्रोह' कथा संग्रह किताब छाप्न मैलै हातमा लगाएको बाला बेचेको थिएँ । त्यति बेला मलाई छिन्नलताले भन्नुभएको थियो, ' तपाईँको गहना भनेको त्यो सुनको चुरा होइन यो किताब हो । तपाईँको यो किताब डाइमण्ड भन्दा पनि बहुमुल्यछ चिन्ता नगर्नुस् । 'भन्नुभएको कुरा मेरो मनमा गढेर बसेको थियो र म अहिले सक्षम भइसकेपछि किन नछाप्ने भनेर एकै पटक ९ वटा किताब छापे । मैले ७ वर्षमा नेपाल फर्किएर पेन्सन निकालेर किताब छाप्ने र घर मर्मत गर्ने काम गरे भन्नुभयो ।

पुस्तकको विमोचन लक्ष्मी पोखरेल, गीता अधिकारी, सरस्वती सापकोटा, अम्बिका धिताल, डा.मिना सिंह, भगवती तिमल्सिना, सुचित्रा श्रेष्ठ, डा.सीता सुवेदी र सीमन बस्नेतले गर्नुभएको थियो । सार्वजनिक गरिएका पुस्तकहरू १. हराएको किनारा (गीतसङ्ग्रह), २. प्लास्टिक सर्जरी (लघुएकाङ्कीसङ्ग्रह), ३. शब्द (कवितासङ्ग्रह), ४. कुल्चिएका फूलहरू (एकाङ्कीसङ्ग्रह), ५. कहिले घाम कहिले छायाँ (मुक्तकसङ्ग्रह), ६. प्रायोजित (रेडियो–नाटकसङ्ग्रह), ७. एक दिन (बालगीतिनाटक), ८. साथीको माया (बालएकाङ्कीसङ्ग्रह) र ९. पूर्णिमाको जून (कवितासङ्ग्रह) रहेका छन् ।

कार्यक्रममा कृष्णमणि कुँइकेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सार्वजनिक गरिएका पुस्तकका बारेमा मीरा चपागाई, भवानी पाण्डे र शारदा घिमिरे भैलले बोल्नुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व लीला श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन साहित्यकार तथा शब्द यात्रा प्रकाशनका संस्थापक हरिमञ्जुश्रीले गर्नुभएको थियो । कृतिकारको चिनारी कालिका त्रिपाठी पन्तले दिनुभएको थियो ।

कार्यक्रममा १०८ शिवलिंग निर्माणका लागि कोमलवर्दन मल्लले १५ हजार र डा.छत्रपति दाहालले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको थियो ।

images
प्रकाशित मिति :बैशाख ११, २०८० सोमवार - १६:०४:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend