Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लघुकथा- पर्दा पछाडि -सपना पौडेल रिजाल

लघुकथा- पर्दा पछाडि -सपना पौडेल रिजाल

नेप्लिज डायस्पोरा

११, बैशाख २०८०
images
लघुकथा- पर्दा पछाडि  -सपना पौडेल रिजाल

 

" थाहा पाउनु भयो दिदी? आज गाउँपालिकाको सभाकक्षमा लोकतन्त्रको सुगन्ध फैलाउने नेताजीले अमृतवाणी दिने कार्यक्रम रहेछ।हामीले पुरै सुनेर फाइदा लिनुपर्छ है।"
शान्तिको कुराले बिट् मार्न नपाउँदै बिन्दुको भनाइ रह्यो " ए हो र! उसोभए अरु काम थाँती राखेर समयमै पुग्नुपर्छ ।मलाई बोलाउन नबिर्सनु नि।"

आमासमुहका अरुको साथ हँसिलो अनुहार बनाउँदै दुवै कार्यक्रम स्थलमा पुगे।
सञ्चालकले नेताको परिचय दिलाउँदै भने" सौभाग्यको कुरा आज हाम्रो अगाडि मनमा ममताको महासागर भएका र विचारमा मिर्मिरे रहेका विकासप्रेमी नेताजी पाल्नुभएको छ।उहाँका विचार हामीबाट कार्यान्वयन भएमा देश अँध्यारोबाट उज्यालो तर्फ जाने निश्चित छ।"
प्रमुख अतिथिको रुपमा दस किलोको माला पहिरिएका नेताले भने-" हामीले अनेकतामा एकताको सूत्रमा आवद्ध भई नशानशामा गण्डकी,कोशी र कर्णाली बगाउनु पर्नेछ ।मनमा विश्वासको सगरमाथा उठाउनै पर्छ।मैले भन्न खोजेको सङ्केत बुझ्नु भयो नि? जनताले,जनताद्वारा जनताकै लागि गरिने शासन नै लोकतन्त्र हो ।अब त्यसको दियो बाल्नैपर्छ।"
सबैले भावुक हुँदै जोडले निकैबेर सम्म ताली ठोके।आपसमा कुरा गरे
"आहा!! नेता भनेको यस्तो पो।"
कार्यक्रममा एउटा कुनामा रहेर यी सव दृश्य सुन्दै हेरिरहेकी बिन्दुले शान्तिको कानमा सुटुक्क भनिन् " धेरै दङ्ग परेर अनुहार उज्यालो बनाउनु पर्दैन ।उनी मेरै माइतीगाउं तिरका नामुद फटाहा हुन्।धेरैलाई रुवाएर गाउँतिर मुख देखाउन नसकेर फरार भएका थिए।के यस्ताको भाषणबाट लोकतन्त्रको सुगन्ध फैलन सक्ला त??"

images
प्रकाशित मिति :बैशाख ११, २०८० सोमवार - १८:२७:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend