हिन्दू दर्शनलाई संसारको सबै भन्दा जेठो दर्शन, धार्मिक दर्शन, सनातन वा आर्य दर्शन आदि भन्ने गरेतापनि यो प्रमुख बैज्ञानिक दर्शन पनि हो । हिन्दू दर्शनको आदिम ग्रन्थ वा संसारको सबैभन्दा पुरानो ग्रन्थ बेद नै हो । सृष्टिसंगै जोडिएकोमात्र नभै यसको बिधा यति विशाल छ कि यसभित्र ध्यान योग कला साहित्य ज्ञान, बिज्ञान, ज्योतिष, गणित, आयुर्वेद आदि सबै पर्छन ।
हिन्दू दर्शन ज्ञानी बिज्ञानी दुबै भएकाले पछिल्लो समयमा पश्चिमा कवि साहित्यकार र बैज्ञानिकहरुले पनि यसको गहिरो अध्ययन र अनुसंधान गर्दै आईरहेका छन ।
यस्तो उच्च धर्म संस्कृति र जीवन पद्धतिकै मार्ग बनेको हिन्दू-बुद्ध दर्शन एवं धार्मिक परंपरालाई कायमै राख्न सकियोस साथै आउदो पुस्ताले पनि जानुन बुझुन र निरन्तरता दिउन भन्ने अभिप्रायबाट अमेरिकामा बसोबास गर्ने नेपालीहरुले मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा ३१ एकड (लगभग २५० रोपनी) ज़मीन सहित विशाल क्षेत्र ओगटेको नेपालको स्वयंभू जस्तै उच्च स्थानमा बिगत ५ बर्ष देखि सनातन बैदिक धर्म अनुसार हिन्दू-बुद्ध मन्दिरको स्थापना गरी दैनिक पुजाआजा गरी संचालनमा ल्याएका छन ।
# दैनिक कार्यक्रमहरुः
यहाँ दैनिक रुपमा बिहान बेलुका मन्दिरकै पण्डित द्वारा नित्य पुजा, आरती, भजन कृतन आदि हुने गर्छ ।यस बाहेक पुजाआजा, बिबाह, ब्रतबन्ध, श्राद्ध, जन्मदिन आदि सबै धार्मिक कार्यहरु जो जसलाई आबश्यक पर्छ बैदिक धर्म परंपरा अनुसार गर्ने गराउने गरिन्छ ।
नेपाली धर्म संस्कृति अनुसार मनाईने बिभिन्न चाढपर्बहरु तीज, पंचमी, दशै, तिहार, माघे सक्रान्ति, फागु पुर्णिमा माहाशिबरात्री, नयाँ बर्ष आदि जस्ता धार्मिक पर्बहरुमा बिशेष सहभागिता हुने गर्छ ।
यसै बर्ष माघ महिनाको सरस्वती पुजाको दिन देखि यहि मन्दिर परिसरमा साना नानिहरुलाई नेपाली भाषा कक्षा संचालनको साथै रमाईलो अतिरिक्त कृयाकलापहरु पनि गराईदै आाईरहेको छ । र उपस्थिति पनि उल्लेख्य रहेको छ । यस बाहेक समय समयमा भलिबल, टेनिसबल आदि जस्ता खेलकुदहरु पनि हुने गर्छन।
मन्दिरकै लागि भनेर यति ठुलो क्षेत्र , उपयुक्त स्थान र उपयुक्त मूल्यमा भवन र केहि पूर्बाधार सहितको ज़मीन प्राप्त हुनुलाई भगवानकै कृपा भन्नु पर्छ । बिशेष चासो दिएर यस्तो स्थान खोज्ज्ने , रोज्ने , जग बसाल्ने र सुरुवात गराउने ब्यक्ति माहान हुन जो सबैको मानसपटलमा ईतिहासमा सधै रहि रहने छन ।
महाभारतको उद्योग पर्वमा भनिएको छ भगवानले भौतिक रुपमा आफै उपस्थित भएर कार्य गर्दैनन बरु उपयुक्त र पात्रता भएको ब्यक्तिलाई बुद्धि दिन्छन, दिशानिर्देश गर्छन र उनैबाट कार्य गराउछन । हो यहाँ पनि यस्तै भएको हुनुपर्छ ।
केहि युवाहरुमा आएको स्वस्फुर्त प्रयासबाट मन्दीरको जग बस्यो । कसैले आफ्नो घरजग्गा बैकमा राखेर सहयोगी बने कसैले आफ्नो पुरै दिल फुकाएर धनराशि मात्रै होईन मृत्यु पर्यन्त आफुसंग भएको सबै संपति मन्दिरकै नाममा दान स्वरूप सुम्पिसकेका छन । यो सत्य होकि समयमा गरेको निर्णयले पछि आउने पुस्ताको लागि अहं भूमिका खेल्ने छ ।
केहि बर्ष अगाडि गरिएको माहायज्ञ पुराणको कार्यक्रमबाट मन्दिरको लागि अझ बढि सहयोगी हातहरु बढेका छन ।सहयोगि बन्ने र रकम दान गर्ने प्रतिबद्धता पनि भएका छन । सो अनरुप उठ्ने क्रम जारी नै हुनुपर्छ ।
यहाँ कतिपयले सदश्य र ट्रष्टि समेत बनेर सहयोग गरेका छन भने कतिपयले आफ्नो क्षमता र गच्छे अनुसारको रकम दानगरेका छन । यस बाहेक मन्दिर र मन्दिर परिसरमा परिआउने सरसफाई लगायत सबै कार्यहरु स्वस्फुर्तरुपमा स्वयंसेवकको रुपमा गरिआएको देखिन्छ । यसरि सबैको सहयोग र सदभाब बाटै मन्दिरले गति लिने अबस्थामा रहेको छ ।
# अबका भाबि सपना/योजनाहरुः-
हिन्दू बुद्ध मन्दिरको बिद्यमान पोटेनसियालिटि हेर्दा यहाँ प्रसस्त मात्रामा सपनाहरु (Dreams) देख्ने ठाँउ छ । भारतका पूर्बराष्ट्रपति एवं बैज्ञानिक अब्दुल कलामले आफ्नो पुस्तक The ignited mind मा भनेका छन Dream ,Dream,Dream !
Dreams transform into thoughts
And thoughts results in actions
हो असल काम गर्न पहिला सपना देख्नै पर्छ त्यसपछि बिचार योजनाहरु देखा पर्छन र काममा परिणत हुन्छन ।
त्यसो हो भने सपनाहरु के कस्ता हुन सक्लान ? मेरो बिचारमा पहिलो र निकट भविष्य मै गर्न सकिने कुराहरुमा मन्दिरलाई आकार प्रकार दिने, बाँकि मुर्तिहरु स्थापना गर्ने, शिव मन्दिर अगाडि बसाहा साँडेको स्थापना, रुख बिरुवा, फलफुल आदिको प्लान्टेसन, योग ध्यान केन्द्रको स्थापना, हिन्दू बुद्ध दर्शनलाई समेटने बैदिक साहित्य, संगित कलासंस्कृति आदि सामाग्रि र बुद्धसंग संबन्धित ग्रन्थहरु र सामाग्रि सहितको पुस्तकालयको ब्यबस्था, साना नानिहरुको लागि नेपाली भाषा पाठशालाको निरन्तरता, शैक्षिक सामाग्रिहरु, अतिरिक्त मनोरंजन एवं ज्ञान दिने खालका स्रोत साधन सहितएउटा बाल मन्दिरको ब्यबस्थापन, बुढाबुढिहरुको लागि समय बिताउन र नाँचगान, भजन कृतन आदि गर्न आबश्यक सामाग्री सहित समय र स्थानको ब्यबस्थापन आदि जस्ता कार्यहरु कति हुदै छन कति गरिने क्रममा छन र कतिपय स्रोतसाधन जुटे पछि भबिष्यमा हुदै जालान ।
दोस्रो अझ ठुलो सपना वा दीर्घकालीन योजना जुन भावि पुस्ताको लागि हुन सक्छ त्यो हो संस्कृत बिश्वबिद्यालय एवं हिन्दू -बुद्ध दर्शन र बैदिक संस्कृतिको अध्ययन अनुसंधान केन्द्र (Research center) को स्थापना । यि कार्यहरुको लागि मार्ग चित्र कोर्दै गर्ने हो भने अमेरिकी सरकारले पनि सहयोगी भुमिका खेल्न सक्छ जस्तो लाग्छ ।
# हिन्दू धर्मलाई हेर्ने दृष्टिकोण:
हिन्दू धर्मलाई समाजका केहि पण्डित हरुले हिन्दु दर्शनको मुल तत्वलाई बंगाएर वा आफैमा भएको अज्ञानताले पनि हुनसक्छ हिन्दू धर्म भनेको पुजा पाठ, यज्ञ हवन, मन्दिर दर्शन, पूर्वजन्म, पुनर्जन्म, पाप धर्म, नर्क स्वर्ग आदिमा मात्रैमा सिमितगराई दिएका छन । जसले गर्दा केहिमा हिन्दू धर्म भनेको यत्ति नै रहेछ भन्ने खालको भ्रम पैदा भएको हुन सक्छ ।
त्यसैले नयाँ पुस्ताका केहि युवाहरुले पनि भन्ने गर्छन अहिलेको २१ सौ शताब्दीमा अमेरिका काँहाबाट काँहा पुगिसक्यो हामी भने मन्दिर पाठ पुजा र शिवलिंग पुजन मै छौ । यो भन्नु संकुचित मानसिकता वा ज्ञान कै अभाव हो । कुनै पनि चिजबस्तुलाई होल टु पार्ट हेर्नु र पार्ट टु होल हेर्नुमा धेरै फरक हुन्छ। एउटा कोणबाट मात्र हेरेर आकार आउदैन ।
हामी अमेरिका भन्छौ तर तिनै अमेरिकी, बेलायती, जर्मनी आदि कवि साहित्यकार र बैज्ञानिकहरुले हिन्दू दर्शनको गहिरो अध्ययन र खोज अनुसंधान गरेका छन ।
# हिन्दू ग्रन्थहरुमा अमेरिकी कबि एवं साहित्यकार हरुको आकर्षण:
बिडम्बना नै भन्नुपर्छ हामी आफैसंग भएको कस्तूरीको चाल नपाएर आधुनिक्ताको नाममा पश्चिमा साहित्य र संस्कृतिको पछि लाग्नुलाई ठुलो ठान्छौ तर पश्चिमा बिद्वान, कवि साहित्यकारहरु हाम्रो बैदिक साहित्यलाई ठुलो मान्छन।
अमेरिकाका सर्ब श्रेष्ठ कवि एवं साहित्यकारहरु ईमर्सन, थरो, वाल्ट विचम्यान र बेलायतका टि.एस ईलियट डब्लु वेट्सजस्ता कबि एवं साहित्यकारहरुले हाम्रा हिन्दू बुद्ध ग्रन्थहरुबाट प्रभावित भएर साहित्यको बिकास गरेका छन । यि विद्वानहरुले सत्यलाई वा स्वयं आफैलाई बुझ्ने संदर्भमा पाश्चात्य दर्शनमा त्यो गणित फेला नपारेपछि बेदान्तको साहारा लिन पुगेका छन ।
टि.एस ईलिएट्सको वेष्टलिन भन्ने कबितामा ॐ शान्ति भनेर सुरु गरिएको छ र ॐशान्ति भनेरै अन्त्य गरिएको छ । यसको अर्थ हो जुनसुकै कार्य गर्दा सुरुमा शान्ती होस र अन्तमा पनि शान्ती नै होस भन्ने हो । यो उपनिषदको प्रभाव हो भन्न सकिन्छ ।
जर्मनीमा दर्जनभन्दा बढि संस्कृत बिश्वबिद्यालयहरु खोलिएका छन । जर्मन बेदका बिद्वान रुडोल्फ रोजले भनेका छन "हामीले हिन्दूहरुको मायाले त्यता आएका होईनौ । हामीले पश्चिमको ग्रन्थ खोज्दै जाँदा होमरको ईलिएट भन्ने महाकाब्यपछि पश्चिमको ईतिहास, धर्म समाज सबै टुंगिन्छ । यसभन्दा पुरानो धर्म समाज खोज्दै जाँदा बेदमा मात्रै पाईन्छ । त्यसैले हिन्दू दर्शनको खोजि गर्नु परेको हो ।
पाईथागोरस थियोरिलाई पाँच सय बर्ष पहिलेको भनिन्थ्यो यो दशहजार बर्ष पहिल्यै बेदको सहायक शुल्भा सूत्रमा उल्लेख छ ।
यसरी हिन्दू दर्शन सबै भन्दा पुरानो मात्र नभै यसमा समाज, कला , साहित्य, ज्योतिष, गणित, ज्ञान बिज्ञान आदि सबै समेटिएको छ ।
# बिज्ञानको आँखामा हिन्दू ग्रन्थहरु :
कवि साहित्यकार मात्रै नभएर बैज्ञानिकहरु पनि बेदान्त एवं गीताको साहारा लिन पुगेका छन । गीतामा ज्ञान र बिज्ञान दुबैको प्रयोग भएको छ।
जेनेभास्थित बैज्ञानिकहरुको सबैभन्दा ठुलो प्रयोगशाला सर्न (CERN) भवनको अगाडि भगवान शिवको नटराजमूर्तिलाई स्थापना गरिएको छ । जसलाई कष्मिक डान्स, गड पार्टिकल, Higgs boson, निर्माण र संहार आदि नामहरुबाट बैज्ञानिकहरुले हेर्ने गर्छन । हिन्दू शास्त्र अनुसारको निर्माण र संहारका कुरा र बिज्ञानले भनेको बिग ब्यांगको सिद्धान्त र ब्ल्याक होलको धारणा पनि लगभग मेल खाए जस्तो लाग्छ ।
नासाका बैज्ञानिकहरुले हबल टेलीस्कोपबाट अन्तरिक्षमा लिईएका जटाधारि शीबका तस्बीर, त्रिसुल, डमरु, हात आदि बिभिन्न प्रकारका तस्बीरहरु र अन्तरिक्षमा क्याप्चर गरिएको ॐको ध्वनि सुन्दा हेर्दा हिन्दू शास्त्रमा बर्णन गरे जस्तै मेल खानुलाई संयोग मात्रै भन्न नसकिएला । यो पनि बैज्ञानिक हिसाबले पनि प्रमाणित हुदै जाला ।
अर्को हिन्दू ग्रन्थमा गर्व गर्ने कुरा अमेरिकाका भौतिक शास्त्री डा रबर्ट ओपनहाईमर
जसलाई एटम बमका पिता (Father of atom bomb) भनिन्छ यिनले एटम बम विस्फोट परिक्षण गर्ने समयमा आफुलेपढेको भागवत गीताको एघारौ अध्यायको बाह्रौ श्लोकलाई पुनः दोहोरायर पढे । जहाँ कृष्णले अर्जुनलाई आफ्नो बिराटस्वरुपमा देखाएको हज्जारौ सुर्यको एकै ठाँउमा देखिएको जाज्वल्लयमान सुर्यको अपार तेजोमय प्रकाश देखा परेको बर्णन गरेका थिए । त्यसलाई आफ्नो एटम बम विस्फोट परिक्षण गर्दाको दृष्यमा पनि अर्जुनले बर्णन गरे जस्तै पाए ।र, निष्कर्ष निकाले भगवान भन्नु र ईनर्जि भन्नु एउटै रहेछन । यि दुबै प्रकाश (Light) र आवाज़ (Sound) को रुपमा देखापर्ने रहेछ ।
अब यि बैज्ञानिकले भागवत गीताको एघारौ अध्यायको बाह्रौ श्लोकमा भनेको “Brighter than a thousand suns“ र यसैको ३२ सौ श्लोकमा कृष्णद्वारा भनिएको “म संसारलाई ध्वस्त पार्ने काल हुँ म अहिले सबैलाई ध्वस्त पार्न यहाँ आएको छु (Now I am become death, the destroyer of the world’s) भनिएको यि दुई वाक्यलाई बारंबार दोहोराई राखे ।
त्यसपछि उनले निष्कर्ष निकाले निर्माण गर्ने र संहार गर्ने एउटै शक्ति ईनर्जि रहेछ र त्यो आफै भित्र पनि हुदो रहेछ । त्यसपछि यसैको आधारमा Brighter than a thousand suns नामको पुस्तक पनि निकालियो ।
यसरी यी बैज्ञानिकले भागवत गीतालाई संस्कृत भाषामै पढ़ने बुझ्ने र प्रयोगमा ल्याउने कार्य मात्रै गरेनन आफुलाई महत्वपूर्ण लागेको यो पुस्तक खरिद गरेर आफ्ना साथीहरुलाई उपहार स्वरूप बितरण पनि गरे ।
यसप्रकार हिन्दू दर्शन समुद्र हो त्यहाँ सामान्य मान्छे पौडी मात्रै खेलेर फर्कन्छन । माँझीहरुले माछा मात्रै देख्छन भने क्षमतावानहरु गहराईमा डुबेर हिरा टिप्छन । यो आ-आफ्नो बुद्धि र क्षमतामा भर पर्ने कुरा हो ।
#मन्दिरप्रति आउने टिका टिप्पणी :
मन्दिर सबै नेपालीहरुको साझा संपत्ति हो । यहाँस्थित हामी सबै नेपालीहरु एकजुट भएर यसलाई सभ्य, भब्य र आकर्षक बनाउनु हामी सबैको कर्तब्य पनि हो ।
मानिस सबै बिधामा पोख्त र सर्बगुण संपन्न हुदैन । काम गर्दा केहि कमिकमजोरीहरु पनि हुन्छन त्यसलाई औल्यएर रायसुझाव सहित संबन्धित पक्षलाई सचेत बनाउनु हामी सबैको कर्तब्य पनि हो । तर ईर्ष्या र पुर्वाग्रहि भएर वास्तविक सत्यतत्थ्य नबुझिकन ठाडो आलोचना र टिका टिप्पणी गर्नु त्यसमा पनि एउटा नेपालीले गरेको सामाजिक काममा अर्को नेपालीले गलत प्रचार र भ्रम छर्नु पटक्कै सुहाउने कुरा होईन ।
हुनत समाजमा धेरै प्रकारका मान्छेहरु हुन्छन राम, कृष्ण, बुद्धलाई पनि आलोचना र गालि गर्ने थिए भने मान्छेको के कुरा। माहाबीर र बुद्धलाई पनि गाँउ गाँउबाट ढुंगा हान्ने र लखट्ने भेटिएका थिए ।तर त्यस्ता मान्छेलाई उनिहरु भन्ने गर्थे , “मेरो कसैसंग कुनै प्रकारको शत्रुता छैन उनिहरुको म संग होला तर उनको हिसाब उनैले जानुन ।" हो त्यस्ता मान्छेलाई यो भन्दाबढि भन्नु जरुरत पनि छैन ।
हार्दिक अन्तमा, प्रचुर मात्रामा बहुआयामिक क्षमता बोकेको तर भर्खर मात्रै बामे सर्न लागेको बाल्टिमोरस्थित यसहिन्दू-बुद्ध मन्दिरलाई यहाँ बस्ने हामी सबै नेपालीहरुले एउटै मन,वचन र कर्मले सहयोग गरौ । संसार मै यति उच्च धर्मसंस्कृति भएको र बहुआयामिक क्षेत्र ओगटेको हिन्दू दर्शनको क्षमतालाई हाम्रा सन्ततिहरुमा बुझाउन हर संभव प्रयास गरौ। हामीले समयमा बनाईदिएको सही मार्गचित्र र लिएको सही निर्णयले सन्ततिहरुलाई अघि बढ्न मार्ग प्रसस्त हुने छ र दिशानिर्देश गर्ने छ । अन्यथा, यो अर्को पुस्तामा हराएरै जानेछ।
बिदेशमा हामी सबै एउटै पार्टी नेपाली पार्टी बनौ । यो समुह, त्यो समुह, यो पार्टी त्यो पार्टी र म ठुलो सानो आदि कामकुराहरुले तल मात्रै ओराल्नेछ । हामी कहि पुग्दैनौ ।त्यसैले “म” बाट “हामी “ र हामीबाट “हामीसबै” (Everybody) बनौ ।
यहाँ डा मार्टिन लुथर किंगले भनेको कुरा सम्झना गराउन चाहान्छु बुद्धले पनि यहि भन्थे - “ Hate can’t drive out hate : only love can do that, Darkness can’t drive out darkness: only light can do that.”
हिन्दू दर्शनको सार पनि प्रेम,शान्ती,दया,करुणा र आपसि सहयोग नै हो ।
हाल बाल्टिमोर यू एस ए