एक आधुनिक दास
आफूलाई आँफै बजार लगेर बेच्छ
र ल्याप्चे लगाउँछ आधुनिक दासहरुको
अघोषित घोषणा पत्रमा
उसले ठानेको छ
ऊ मन वचन र कर्मले हुनेछ
असल र इमान्दार दास
उसले रिझाउनेछ आफ्नो मालिकलाई
ऊ जोतिने छ गोरू बनेर
ऊ बोक्नेछ भारी गधा बनेर
ऊ दौडनेछ बेतोडले युद्धको घोडा बनेर
ऊ हरपल गर्नेछ मालिकको सेवा
र आँफै मख्ख र छक्क पर्नेछ
यो सोचेर की
ऊ यो युगको आधुनिक दास हो ।
छक्क त उसलाई देख्नेहरु पनि परेकै छन्
मख्ख त उसलाई पछ्याउनेहरु पनि परेकै छन्
उसले पाएको छ सुनौलो रंगको दासताको पगरी
जो उसले बाहेक कसैले महशुस गर्न सक्दैन
वास्तवमै त्यो कति गह्रुङ्गो छ।
ऊ हरदिनको लम्बाइ इन्चमा नाप्छ
ऊ हरपलको हिसाब पेन्नीमा राख्छ
अहँ उसलाई पटक्कै फुर्सद छैन गन्न
आफ्नै जीन्दगीको आयु
ऊ राम्रोसँग जान्दछ
ऊ घडीले बताउने सेकेण्डसँगै निदाउनेछ
ऊ घडीले बताउने मिनेटसँगै ब्युझनेछ
ऊ घडी हेरेरै भोकाउनेछ
ऊ घडीकै आदेशमा अघाउनेछ
यसो भनौं घण्टाघरमा घण्टा चलेकै भरमा
उसको जीन्दगी चलेको छ ।
ऊ एक आधुनिक दास
उसले बाँचेको छ
इन्द्रेणी जस्तै देखिने
एउटा शानदार दासताको जीन्दगी ।