रमेशले साथीको विवाहमा जानको लागि एउटा नयाँ कोट किन्न भनेर मनोज (गाउँले) लाई लिएर तानसेन बजार पुग्यो । मनोज गरिब थियो । उमेर भने मिल्दोजुल्दो थियो । दुबै जना साथी थिए ।
तानसेन टक्सार टोलमा अवस्थित रेग्मी फेन्सी पसलमा गएर कोट हेरे । रमेशले कालो कोट मन परायो ।
आफुले लगाएको रातो कोट खोलेर नयाँ लगाउँदै दुकानदारसँग भन्यो, " यो मेरो पुरानो कोट प्याक गरिदिनू । "
दुकानदारले भन्यो, " सर ! अब यो पुरानो कोटलाई किन प्याक गर्ने ? बाहिर कतै फ्याकिदिन्छु । "
रमेशले " हुन्छ । " के भन्न लागेको थियो, मनोजले आफुतिर हेरेर टाउको हल्लाएकोदेखि चुप लाग्यो ।
मनोजले दुकानदारको हातबाट पुरानो कोट टप्प खोसेर झटपट लगाउँदै भन्यो, " यो सालको जाडो यहीँ कोटले बोक्ने छ । "
- पोखराथोक, पाल्पा ।