नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका कुरा सुन्न देशकी विभिन्न ठांउमा पुग्ने जानकारी गराएका छन्। उनले यसलाई ‘जनसंवाद यात्रा' भनेका छन् ।
थापाले दुई चरणमा गरेर देशभरी ‘जनसंवाद यात्रा' गर्ने बताएका छन् ।
पहिलो चरणमा भदौ दोस्रो सातादेखि महामन्त्री थापा लगातार ३३ दिनसम्म काठमाडौंबाहिर हुनेछन्। त्यसपछि दोस्रोचरणमा दसैं-तिहारपछि गाउँ-गाउँ पुग्ने उनको योजना छ।
पार्टीका तल्ला तहमा रहेर काम गरिरहेका कार्यकर्ता र आम नागरिकसँग भलाकुसारी गर्न थापाले गर्न लागेका हुन्।
थापाले भदौमा गर्न लागेको जनसंवाद यात्रामा जनताका कुरा सुन्न चाहेको बताए।
‘अहिले काठमाडौंबाहिर जाँदा हामीले आफ्ना कुरा राख्ने गरेका छौं, जनतासँग कुराकानी नै हुन पाउँदैन,’ थापाले भने, ‘काठमाडौंबाट गएका हामीहरूलाई सबै कुरा थाहा छ भनेजस्तो गरी मञ्चबाट भाषण गर्छौं, फर्किन्छौं। जनतासँग कुराकानी नभएपछि उनीहरूका समस्या हामीलाई जानकारी नै हुन्न, यो प्रवृत्तिले धेरै कुरा छुटिरहेको छ जस्तो लाग्छ।’
मुख्य २ प्रश्नको जवाफ खोज्न आफू काठमाडौंबाहिरका जिल्ला र गाउँ जान लागेको उनले बताए।
पहिलो, पार्टी भित्रकै नेताहरू नै अलिकति अत्तालिएको, छटपटाएको र निराश भएको देखिन्छ।
दोस्रो, आम नागरिकमा पनि ठ्याक्कै त्यस्तै आक्रोश र नैराश्यता झल्किएको छ।
थापाले पहिलो चरणमा हिमाल, पहाड र तराई/मधेशका विभिन्न ३५ जिल्लाका गाउँमा गएर जनतासँग कुराकानी गर्नेतयारी गरेका छन्।
थापाले जनसंवाद यात्रामा भाषण गर्ने छैनन्। पार्टीका कुनै पनि तहका समितिले औपचारिक कार्यक्रम राख्ने छैनन्।
स्रोत: सेतोपाटी