Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कृषिप्रधान शरिर (व्यङ्ग्य कविता) - अर्जुनराज पन्त

कृषिप्रधान शरिर (व्यङ्ग्य कविता) - अर्जुनराज पन्त

नेप्लिज डायस्पोरा

१८, आषाढ २०८०
images
कृषिप्रधान शरिर (व्यङ्ग्य कविता)  - अर्जुनराज पन्त


फुकालेर हरका लुगा धानका बिउले छाेपी
कोहीले ला 'छन शिरै माथि बनाएरै टोपी !

सम्मान हो कि अपमान, बिचित्रै छ आज
हरको वस्त्र हटाएर बिउले छोप्छन् लाज !

फाँटै भरि राेपिने बिउ होटलभित्र गा 'छ
मनि प्लान्टको हाँगो सरि गमलामा ला ' छ !

गमलामै फुलोस् फलोस् त्यही झुलोस् बाला
जस्ले रोप्छ गमलामा त्यसले त्यही खाला !

नभरिएमा उसको भुँडी त्यो धानका भातले
गमलाकै माटो खाओस उभाएर हातले ।

कसैको छ शिरै माथि कपाल जस्तै गरी
देखिएको टाउको पनि खेतका गरा सरी

उखरभूमी त्यो टाउकोमा क्यारि बिउ उम्रयो?
थोपरो कि हिलो कतै मार्छु भनि जुम्रो !

घाँटी निरै‌ रोपेको धान क्यारि झाँट्लान काटी
पाकेको धान काट्न खोज्दा काटिएला घाँटी ।

लडीबुडी खेल्ने ठाउँमा छाड्देऊ बरु खाली
मलिलामा मात्रै रोप बाक्लै गाभा हाली ।

ढाक्नु पर्ने तिम्रा अङ्ग धानका बिउले छेक्दा
लत्रिएर तन्द्रयाङतुन्द्रुङ लटा सरि देख्दा ।

तर्सिएलान बच्चा-बच्ची वनमान्छेमा गनी
साताे जाला तर्सिएर छल्छ कि हँ भनी !

लाेभिएर बाख्रा बाेका आउलान् त्यतै चर्न
तिम्रा हरको धानको बिउले भोको भुँडी भर्न !

पात्तिएको मार्चे बोको प्यासको सँधै भोको
लम्किएर आउला त्यतै पूरा गर्न धोको !

धर्ती स्वरुप नारी शरिर वस्त्र लगाइ छोप
दुईटै मात्रै किन नहोस् गाभा खेतमै रोप ।

हरमा हैन खेतमा रोपे बल्ल धान फल्ला
सके सघाउ ती किसानलाई व्यर्थै किन हल्ला ?

बाँझै छाडि खेत सबै रोपाइँ शरिरभरी
वस्त्र सरि धानको बिउ कम्मर वरिपरि !

कृषि प्रधान देशमा आज कठै यस्तो चाला !!
धानका बिउका भित्रि वस्त्र अनि गलामाला ।

खेतैभरी वनमारा त घाँटीभरी धान छ
विदेशी त्याे रड्डी चामल मिठो मानी खान्छ ।

धानकै बिउकाे माला वस्त्र अनि माथि केश
कृषि प्रधान शरिर भयो भएन नि देश ।

- बाग्लुङ मुलपानी ।

images
प्रकाशित मिति :आषाढ १८, २०८० सोमवार - २२:४४:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend