अमेरिकाको कोलोराडोमा पाँचौं गजल उत्सव भव्यताका साथ सम्पन्न भएको आयोजकले बताएका छन् । गजल यात्रा र अनेसास कोलोराडोद्वारा संयुक्त रुपमा गजल उत्सव ५ आयोजित गरेको बताईएको छ ।
एएनए डेनभर सम्मेलन २०२३ कै अवसर पारेर कार्यक्रम आयोजना भएको पांचौ गजल यात्राका संयोजक पवन लामिछानेले बताए । "कार्यक्रममा गजल वाचन र गायनको अनुपम संगम रह्यो" संयोजक लामिछानेले भने ।
जुलाई २ तारिख आइतवार दिन दिउँसो २ बजेबाट शुरु गरिएको कार्यक्रम करिब ४ घण्टासम्म चलेको थियो । कार्यक्रमको सुरुवात मै गजल गायनबाट भएको थियो । समारोहमा मनोजराज सिवाकोटी, महेश्वर पन्त र अंकित न्यौपानेले गजल गाएका थिए ।
गजल गायनको निमित्त वाद्यवादन गर्नुहुनेहरूमा हार्मोनियममा मनोजराज शिवाकोटी, तवलामा सुरेन्द्र महर्जन, गितारमा मनोज तुलाधर, र म्यान्डलिनमा सुरेश प्रधान हुनुहुन्थ्यो ।
कार्यक्रमको दोस्रो चरणमा अमेरिकाको विभिन्न राज्यहरूबाट आएका २२ जना गजलकारहरूले गजल वाचन गरेका थिए। गजल वाचन गर्ने गजलकारहरूमा क्यालिफोर्नियाबाट खिम केसी र प्रमोद अमात्य, कोलोराडोबाट पदम विश्वकर्मा, भुपेन्द्र महत, डा. खगेन्द्रप्रसाद दाहाल, केशव आचार्य, आचार्य प्रभा, मिलन कोइराला, मनोजराज शिवाकोटी, सन्तोष पाण्डे हिलियम, र पार्वती शर्मा रहेका थिए ।
त्यस्तैगरी मेरिल्याण्डबाट रोहित राना, म्यासाचुसेटबाट गोवर्द्धन पूजा, नेब्रास्काबाट डा. खगेन्द्र दाहाल, न्युयोर्कबाट बिष्णुहरी भण्डारी, पेन्सेलभिनियाबाट सुशील ताम्राकार, टेक्सासबाट सतीश त्रिपाठी, बासु पौडेल, बासु पुष्पा अधिकारी, पवन लामिछाने, रोशन श्रेष्ठ, भर्जिनियाबाट राज क्षेत्री ‘राहुल’ र प्रकाश आचार्यले गजल वाचन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा एएनएका अध्यक्ष विजयराज भट्टराई, गजल यात्राका संयोजक पवन लामिछाने तथा अनेसास कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले उत्सवमा भाग लिने गायक र वाद्यवादक, गजलकार, पत्रकार र स्वयमंसेवकहरूलाई प्रसंशापत्र प्रदान गरेका थिए ।
२०१८ बाट शुरु गरिएको गजल उत्सवको पहिलो र दोश्रो कार्यक्रम टेक्सासको डालसमा सम्पन्न भएको थियो । गजलउत्सव ३ ओहायोको सिनसिनाटीमा २०१९ मा र गजल उत्सव ४ टेक्सासको ह्युस्टनमा २०२१ मा सम्पन्न भएको थियो ।
कोलोराडोमा सम्पन्न यो गजल उत्सवले बोस्टनको म्यासाचुसेटमा गजल उत्सव ६ गर्ने घोषणा गरेको संयोजक पवन लामिछानेले जानकारी दिए ।