दुई वर्ष अगाडि हामी अमेरिकामा बस्ने सबै एनआरएनको अभिभावक बन्छु भनेर चुनावमा होमिदै गर्दा कति धेरैले तपाईंलाई प्रश्न पनि गरेका थिए तपाईं अध्यक्ष भएमा नेपाली कुन पार्टीको वकालत गर्नुहुन्छ? भनेर। विभिन्न ठाउँमा हजुरले चुनावी कार्यक्रम वा अन्तर्वार्तामा भन्नु भएको थियो —‘मेरो आस्था छ तर एनआरएनए अमेरिकाको अध्यक्ष भएमा नेपाली राजनीतिको कुनै पनि क्रियाकलापमा सहभागी हुन्न र एनआरएनको हित हुने मात्र काम गर्ने छु’। ह्युस्टन लगायत सबै स्थानमा भएका तपाईंका चुनावी कार्यक्रम तपाईंको प्रतिबद्धता थियो कि —नेपाली राजनीतिक पार्टीका भातृसंगठनका गतिविधिहरुमा प्रत्यक्ष संलग्न हुने छैन।
तपाईंका विचार र एजेण्डा धेरैले मन पराएकाले तपाईं अध्यक्ष पनि हुनु भयो। तपाईंको कार्यकाल जति विवादास्पद भएपनि तपाईंको मधुर बोलीले मान्छेहरु तपाईंको नेतृत्वप्रति सकारात्मक नै देखिरहेको थिएँ।
तर कार्यकाल सकिने अन्तिम क्षणतिर आइपुग्दा तपाईंका गतिविधि अलि विवादास्पद र अस्वीकार्य हुन खोज्दै हो कि भन्ने लागेकोले तपाईंको ध्यानाकर्षणका लागि यो खुलापत्र लेख्न जरुरी ठानेको छु।
नेपालबाट जुनसुकै परिस्थितिले हामी विदेश आएको भएपनि अहिले हामी करिब चार लाख नेपाली अमेरिकामा रहेको अनुमान छ। यी मध्ये अधिकांश नेपालीलाई नेपाली राजनीतिको प्रत्यक्ष गतिविधि अमेरिकामा गरिरहेको मन पर्दैन। तैपनि केही मान्छेहरु आफ्नो नीजि स्वार्थ र नेपाली नेताहरुसंगको व्यक्तिगत सम्बन्धको रोटी प्रवासमा पनि सेक्न त्यत्तिकै उद्धत छन्। र बेला बेला उनीहरु यहाँको नेपाली समुदायमा विभाजन ल्याउने गतिविधि गर्ने गरेका छन्। राजनीतिक आस्था र संलग्नकाका आधारमा नेपाली समुदायलाई फुटाउने गतिविधिको जति निन्दा गरे पनि कम हुन्छ।
अधिकांशको अपेक्षा हाम्रो समुदायका सबै नेतृत्व गर्ने र गर्छु भन्नेहरुले नेपाली राजनीतिक पार्टीको वकालत गर्दै नहिंडुन् भन्ने छ र त्यो अपेक्षा एनआरएनए अमेरिकाको अध्यक्षसंग नहुने कुरै भएन।
हो, हामी नेपालमा हुर्केका र पढेलेखेका मान्छेहरु कुनै न कुनै पार्टीप्रति आस्था हुनु नराम्रो कुरा होइन। हामी सामाजिक प्राणी हौं र राजनीतिक चेत र झुकाव हुनु अनौठो होइन। तर सात समुन्द्र पार आएर पनि आफ्नो नेपाली राजनीतिक आस्थाका आधारमा अमेरिका प्रवासमा रहेका नेपालीहरुलाई विभाजन गर्नु कुनै पनि हिसाबले जायज होइन। अझ तपाईं जस्तो अमेरिकामा बस्ने नेपालीको साझा संस्था एनआरएनएको नेतृत्वमा हुनु भएकाले तपाईंको लगाव त्यतातिर हुने कुरा हामी कसैले पनि सोच्न पनि सक्दैनौ।
तर अहिले सामाजिक सन्जालमा भाइरल एउटा फ्लायरले मलाई मात्र होइन धेरैलाई आश्चर्य लागेको छ। त्यो फ्लायरमा भएको फोटो र नाम तपाईंकै हो र भन्न मन थियो, तर त्यस्तो हुन् पाएन। तपाईंको अनुमतिले तपाईंको नाम र फोटो राखिएको हो, तपाईं त्यो कार्यक्रमको सहभागी हो भने तपाईंले हाम्रो विश्वास माथि कुठाराघात गर्नु भयो। तपाईंले पदको गरिमा र मर्यादालाई नरम्रोसंग क्षति पुऱ्याउनु भयो भन्न संकोच मान्नु पर्दैन। एनआरएनए कुनै नेपाली पार्टी सङ्ग सम्लग्न छैन त्यसैले एनआरएनएको कुनै पनि नेतृत्व नेपाली राजनीतिक क्रियाकलापमा एनआरएनहरुको प्रतिनिधि भएर सहभागी हुन पाईंदैन। कार्यकाल सकिनु भन्दा केही घन्टा अगाडि किन तपाईं नेपाली राजनीतिक पार्टीको कार्यक्रममा हाम्रो प्रतिनिधि बन्न जाँदै हुनुहुन्छ? केही जवाफ छ अध्यक्षज्यू?
एकदिन धैर्य गरेको भए के हुन्थ्यो अध्यक्षज्यू ? जुलाई ३० मा पद हस्तान्तरण गरेपछि तपाईंलाई कसैले रोक्ने थिएन! अझै समय छ, कम्तिमा आइतवार, जुलाई ३० सम्म यस्ता गुट्-फुट परस्त राजनीतिक गतिविधिहरुमा सहभागी नभइदिनुहोस्। तपाईंलाई मत दिएर नेतृत्वमा पुऱ्याउनेहरुको मतको कदर गरिदिनु हुन हार्दिक अपील गर्न चाहन्छु।
आशा छ तपाई हाम्रो प्रतिनिधि भएर त्यो कार्यक्रममा नजाने सार्वजनिक प्रतिबद्धता गर्नु हुनेछ। जानै पर्छ भनेपनि पद सकिनु एकदिन अघि नै किन नहोस्, आफ्नो पदबाट राजीनामा गरेर मात्र जानु भयो भने हामी सबैको र तपाईं आफ्नै पनि मर्यादा झन् बढ्नेछ।
तपाईंलाई यो खुलापत्र लेखिरहँदा नव निर्वाचित नेतृत्व र पदाधिकारीहरुले पनि यस विषयमा गहन विचार गर्नुहुनेछ र राजनीतिक गतिविधिहरुमा सहभागी हुने र पक्षधरता राख्ने काम गर्नु हुने छैन भन्ने हाम्रो विश्वास रहेको छ।
हार्दिक धन्यवाद र शुभकामना सहित।
द्रोण गौतम
आजिवन सदस्य, एनआरएनए अमेरिका
ह्युस्टन, टेक्सास