बसपार्क नजिकै सडकको छेउमा एउटा जुत्ता पोलिस गर्दै गरेको लामु दारी पालेको अधेड् आयुको व्यक्तिलाई चिनेको झैँ लाग्यो ।
तर कहाँ देंख्यो त्यो सम्झिन सकिनँ । सेते अलि बेर ठिङ्ग उभियो र दिमाखमा जोड दिएर नियाली रह्यो ।
दाङतर्फ जाने बस रात्रीको थियो टिकट काउन्टरमा गयो । टिकट बुक गरायो ।
एक टक आफ्ना जुत्तालाई हेर्यो । पोलिस गराउने बहानामा त्यो व्यक्तिको नजिकै पुग्यो ।
जुत्ता खोल्यो, उस्ले राखेको पिर्कामा बस्यो । ऊ धमाधम जुत्ता पोलिस गर्न थाल्यो ।
हजूरलाई कतै देखेको झैँ लाग्यो । घर कहाँ हो हजूरको ?-सेतेले मोचीको अनुहारमा हेर्दै सोध्यो ।'
म फिलहाल राजधानीमै बसेको छु ! -उसले सटिक उत्तर दियो ।
" अनि हजूरले राजधानीमै घर बनाउनु भएको छ ? " -सेते केही सोंचेको जस्तैगरी फेरी प्रश्न गर्छ ।
उसले पुराना अखबार दियो र भन्यो, " अखबार पढ्नोहोस् !-हामीले समानताको सपना र वर्गीय माया बोकेर आन्दोलन गर्यौँ । आफ्नो शरिरका केही अङ्गहरू र आफ्न्ती सबै गुमायौँ दुःख लाग्यो; घरिघरी आँसु पनि बगायौँ । तर हरेस खाएनौँ बरू गर्व गर्यौँ किनकी हामी सैद्धान्तिक् रूपमा चुकेका थिएनौँ ।
हामीले सबै गुमाए पनि गर्वका साथ भन्थ्यौँ हाम्रो जीत भएको छ । " ऊ बोल्दा बोल्दै रोकियो । उस्तै सेतेका आँखा पुरानो तस्विर जो उसैसँग राजधानीको एउटा आन्दोलनमा स्वयंसेवकको पोशाकमा सजिएको फोटा देख्यो र उसैले लेखेको एउटा लेखमा पुगेर रोकिए ।
जस्को शीर्षक थियो, " सबैलाई घर हुनेछ जब नौलो जनवाद आउने छ ।"
" हो यही मेरो घर हो कागजको घर ! " - उसले अखबार पटाउँदै बैसाखीलाई भित्तोमा ठड्याउँदै कुराको बिट मार्यो । त्यसपछि शायद सेतेसँग कुनै शब्द नै नभएर होला मौन थियो ।
- घोराही १८-दाङ ।